Logo

उपनिर्वाचनका लागि राजनीतिक मुद्दा बन्यो भारतको नयाँ नक्शा



काठमाडौं, २२ कार्तिक । भारतले सार्वजनिक गरेको नयाँ नक्शामा कालापानी क्षेत्र उसको भूभागभित्र राखेपछि यसप्रति देशभर विरोध भएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी र प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले नक्शालाई अमान्य भनिसकेका छन् ।

सरकारले आधिकारिक रुपमा नक्शालाई नमान्ने भनिसकेको छ । यो घटना त्यतिबेला चर्चामा आएको छ जतिबेला देश उपनिर्वाचनको नजिक छ । १४ मंसिरमा हुनगइरहेको उपनिर्वाचनमा अपराधको अभियोगमा हाइप्रोफाइल पक्राउ परेको विषय मुख्य मुद्दा हुने अनुमान भइरहँदा त्यो ओझेलमा परेको छ । अबको मुख्य मुद्दा भारतले सार्वजनिक गरेको नयाँ नक्शा नै हुने भएको छ ।

सत्तापक्ष र विपक्ष दुवै भारतले सार्वजनिक गरेको नयाँ नक्शाको विरोध गर्ने प्रतिष्पर्धामा देखिएका छन् । शिर्ष नेताहरुले यसबारे बोलिसके । नेकपा अध्यक्ष प्रचण्डले नक्शा अमान्य भने । उनले चुनावी कार्यक्रममा भारतको आलोचना गरे । काँग्रेस सभापति शेरबहादुर देउवाले यसबारे भारतीय राजदूत मंजिव सिंह पुरीसँग असन्तुष्टि व्यक्त गरिसकेको विज्ञप्तिमै उल्लेख गरिएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले भारतको आलोचना गरे । साना दलका नेताहरुले पनि भारतको नयाँ नक्शाको विरोध गर्दै सरकारले ठोस कदम चाल्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

घटनाक्रमले अहिले भारतको नक्शा राजनीतिक मुद्दा बनेको छ । यसले उपनिर्वाचनमा मतदाताको मनस्थितिलाई समेत प्रभावित बनाउन सक्छ । नेपालमा चुनावका बखत सबैभन्दा बढी भारतविरोधी भाषण र नारा सुनिनथाल्छ । भारतले विगतमा जसरी नै नयाँ नक्शामा पनि कालापानीलाई आफ्नो राजनीतिक नक्शामा समेटेको विषय उठ्नुमा राजनीतिक स्वार्थ पनि मिसिएको विश्लेषणहरु भइरहेको छ । सीमा समस्याको राजनीतिक र कुटनीतिक तवरले समाधान नखोज्ने दलका नेताहरु समेत चर्को विरोधमा देखिएका छन् । कुटनीतिक तवरले समस्याको समाधानको पहल नगर्ने तर राजनीतिक लाभ लिन भारतको विरोध गर्ने प्रवृत्ति बढेको कतिपय विश्लेषकहरुको तर्क रहेको छ ।



प्रतिक्रिया दिनुहोस्