Logo

नेपाली सेलिब्रेटीमा गोविन्दाको क्रेज



बलिउड सुपरस्टार गोविन्द अहुजा यतिबेला नेपालमा छन् । उनी चलचित्र निर्माता संघको आयोजनामा रगञ्जमा सुरु भएको ‘नेपाल स्वर्णिम चलचित्र महोत्सव’ मा सहभागी हुन नेपाल आएका हुन् । नेपाली चेली सुनिता अहुजासँग विवाह गरेपछि गोविन्दा वर्षैपच्छे नेपाल आउने गरेका छन् । उनी आफ्नो श्रीमतीसँग हरेक वर्ष पशुपतिनाथको पूजा गर्नेगर्छन् ।

महोत्सवको लागि गोविन्द पनि वीरगञ्ज पुगेका छन् । नेपाली चलचित्रसँग जोडिएका सम्पूर्ण चलचित्रकर्मी, कलाकार, निर्देशक, निर्माताहरु त्यहाँ पुगेका छन् । डेढ सयभन्दा बढीको संख्यामा महोत्सवमा सहभागी हुन काठमाडौंबाट वीरगञ्ज पुगेका नेपाली कलाकारहरुमा गोविन्दको क्रेज देखियो । सबैजनाले उनीसँग तस्विर खिचाएका छन् । उनीहरुले खिचेको तस्विर अहिले सामाजिक सञ्जाल जताततै छाएको छ ।

भुवन केसी, सन्दिप क्षेत्री, दीपाश्री निरौला, विराज भट्ट, साम्राज्ञी आरएल शाह, दीपकराज गिरीलगायत थुप्रै नाम चलेका नेपाली कलाकारले उनीसँग खिचाएको तस्विर सामाजिक सञ्जालमा साझेदार गरेका छन् । नेपाली कलाकारसँगै फोटो खिचाएर नभ्याएका गोविन्दाले आफ्ना फ्यानसँग त हात मिलाउनै नपाएको जनाइएको छ ।

वीरगञ्जमा गोविन्दाले आफू अभिनीत केही चलचित्रका चर्चित केही गीतमा नृत्य गरे । उनलाई नेपाली अभिनेत्रीहरु दीपाश्री निरौला, वर्षा सिवाकोटी, श्वेता खड्का र निरुता सिंहले साथ दिएका थिए । उनले आफू पुनः ससुराली देश आउन पाउँदा खुसी लागेको जनाएका छन् । गोेविन्दा गत वर्ष “एलजी फिल्म अवार्ड” मा सहभागी हुन नेपाल आएका थिए । ‘नेपाल स्वर्णिम चलचित्र महोत्सव’ मा उनलाई विशेष अतिथीको रुपमा निमन्त्रणा गरिएको छ । तीन दिनसम्म यो महोत्सव वीरगञ्जमा हुनेछ ।



प्रतिक्रिया दिनुहोस्