Logo

एकताको तागतले गुमेको भूमि फिर्ता हुन्छ- रमेश लेखक, नेता, नेपाली कांग्रेस



काठमाडौं, २२ कात्तिक । नेपाली काँग्रेसका नेता रमेश लेखकसँग लामो राजनीतिक अनुभव छ । सुदुरपश्चिम गृहजिल्ला भएका उनी नेपाल भारत सीमा समस्याबारे राम्रो जानकार छन् । उनीसँग कालापानीको सवालमा पछिल्लो समय उठेको विषयमा एनआरएन रेडियोको नेपाली बहसका लागि ऋषि धमलाले गरेको कुराकानीः
कालापानी फर्काउन भारतसँग कसरी डिल गर्दैहुनुहुन्छ ?
पहिला कुरा यो कालापानी, लिम्पियाधूरा र लिपुलेकलगायतको भू–भाग नेपाल हो । पहिलादेखि थियो र अहिले पनि नेपालकै हो । दोस्रो भारत सरकारले जुन नयाँ नक्सा जारी गरेर लिम्पियाधुरा, कालापानी, लिपुलेकलगायतका भूभाग भारतभित्र देखिने गरी राखेको छ । त्यसको राष्ट्रिय एकताको रुपमा विरोध हुनुपर्छ । तेस्रो यो कुनै एउटा पार्टी, सरकार, कुनै समुदाय, वर्ग, वर्ण, क्षेत्रको मात्रै मुद्दा होइन । त्यसकारण यसलाई कुनै सरकार, दलगत वा विपक्षको रुपमा हेर्ने पनि होइन । यो सम्पूर्ण नेपालीको राष्ट्रियतासँग जोडिएको मुद्दा हो । त्यसकारण यसमा एकले अर्कोलाई आरोपप्रत्यारोप गर्ने विषय नै छैन । हामी सबै एक ठाउँमा उभिनुपर्छ ।
कालापानी पञ्चायतदेखिको समस्या हो, अहिलेसम्म कुनै पनि प्रधानमन्त्रीले भारतीय पक्षलाई सम्झाउन सकेन नि ?
यस विषयमा पटक–पटक कुरा उठेको हो । सरकारले पनि यस विषयमा प्रष्ट रुपमा आफ्नो दृष्टिकोण राखेको छ । सरकारको पछिल्लो भइनाइलाइ पनि सकारात्मक रुपमा लिनुपर्छ । सरकारको प्रवक्ताले पनि यो विषयमा प्रस्ट भन्नुभएको छ ।
सञ्चारमन्त्री कुनै हालतमा नेपाली भूमि फिर्ता ल्याउँछौं भन्नुभयो तर कसरी ल्याउने ?
यसलाई राजनीतिक र कुटनीतिक तरिकाबाट समाधान खोज्नुपर्छ । यसको समाधान भनेको नेपालले आफ्नो भू–भाग फिर्ता लिनुपर्छ ।
अहिलेसम्म लिनसक्नुभएको छैन, कसरी लिने ?
यस विषयमा हामी सबै एक ठाउँमा उभिएका छौं । त्यो एउटा सकारात्मक कुरा हो । त्यो नेपालको भू–भाग हो ।
यस विषयमा नेपालका प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्रीसँग कुराकानी गर्नुभएको छैन हो ?
उच्च राजनीतिक र कुटनीतिक तहबाट मात्रै समस्याको समाधान हुन्छ । यो नेपालबाट सिर्जित नभई भारतबाट सिर्जित समस्या हो । यसलाई समस्या होइन कि हाम्रो भू–भाग हामीलाई चाहियो भनेर हामीले प्रष्ट कुरा राख्नुपर्छ । यो १८१६ को सुगौली सन्धिले प्रष्ट गरिसकेको विषय हो । त्यो सुगौलीसन्धीको दफा ५ मा काली नदीको सीमा रहने भनेको त्यो भनेको लिम्पियाधूरा जनिक पर्ने नदी हो । यसमा काली नदी लिम्पियाधूरा नजिकबाट आउने कृतिम खोलालाई काली नदी भनिएको छ । यो सरासर गलत कुरा हो, अहिले पनि त्यसका नक्साहरु छन् । बृटिस सरकारबाट स्वतन्त्र भइसकेपछिका भारत र नेपालबीचका नक्साहरु छन् । त्यो ठाउँमा नेपालले जनगणना गरेको छ, राजश्व असुली गरेको छ । यी सबै प्रमाणहरु हुँदाहुँदै राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमा त्यो भू–भाग नेपालको हो भन्न कुनै देविधै छैन ।
भारतले नयाँ नक्सामा नेपालसँग सीमा फेरेको छैन भनेको छ नि ?
वास्तवमा भारतले राजनीतिक तहबाट, त्यहाँको व्यवसायिक तहबाट, त्यहाँका सीमासँग जोडिएका निकायहरुको तहबाट नेपालको सन्दर्भमा पटक–पटक यस्ता गतिविधिहरु गरिएको छ । यसले नेपालमा जहिले पनि भारतविरोधी गतिविधि बनाएर गएको छ । त्यो उसका लागि पनि राम्रो हुँदैन । कहिले नाकाबन्दी, कहिले सीमामिच्ने कुरा, कहिले सुस्ताको समस्या त्यस्तै छ ।
जमीन सुस्तामा जीवन खोसियो भनिएको छ नि ?
पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्म सीमाको समस्या छ । सीमाकै विषयमा कञ्चनपुरका एकजना युवा सहिद हुनुभएको छ । उहाँ आफ्नो भूभागमा भारतीय अतिक्रमण भयो भनेर प्रदर्शन गर्ने क्रममा उहाँले साहदत प्राप्त गर्नुभएको हो । त्यस्तासम्म घटनाहरु भएका छन्, सीमाको विषयमा नेपाली नागरिकले आफ्नो ज्यानको आहुती दिएका छन् । यसले भारत विरोधी जनमत तयार भइरहेको छ । यो त भारतलाई पनि घाटाको विषय हो । यसले छिमेकमा आपूmविरुद्ध जनमत तयारहुनु राम्रो कुरा होइन ।
यो विषयमा सुु्दूरपश्चिमका जनताले के भनेका छन् ?
सीमाको विषयमा सुदूरपश्चिमको कुरा पनि त्यही हो, कञ्चनपुरको कुरा पनि त्यही हो । त्यो भनेको अहिले जसरी लिम्पियाधूरा, लिपुलेक र कालापानीको जुन कुरा उठोको यो भू–भाग नेपालको हो । त्यो नेपालले फिर्ता पाउनुपर्छ ।
चिनीयाँ राष्ट्रपति नेपाल आउँदा त तपार्इंंहरु लुकेर बस्नुभयो नि ?
जुनबेला भारत र चीनको यो विषयलाई लिएर छलफल भएर केही सहमति भएका थिए । त्यसबेला नेपालमा स्व. सुशील कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो । यो कुरा थाहा पाउनेबित्तिकै उहाँले तत्काल यो विषयमा आफ्नो दृष्टिकोण पनि राख्नुभएको छ । त्यसमा भनिएको थियो, ‘नेपालको स्वामित्व रहेको भू–भागमा दुई देशबीच जसरी छलफल भएर सम्झौता भएको छ, त्यसमा हाम्रो आपत्ति छ’ त्यो भू–भागको बारेमा विदेशमा छलफल हुनुहुँदैनथ्यो भनेर प्रस्ट धारणा राख्नुभएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुरले पनि उहिल्यै यो कुरा राखिसक्नुभएको छ ।
विद्यार्थी संघलाई सडकमा पठाएर कालापानी फर्किन्छ ?
सक्नुपर्छ, हामी सक्छौं । किन भने त्यो हाम्रो भू–भाग हो, आफ्नो भू–भाग फिर्ता नहुने कुरै हुँदैन । फेरि यो साझा राष्ट्रिय मुद्दा हो, मैले सुरुमै भनिसकेको छु । यसमा एकलेअर्कोलाई दोषारोपण गर्दै गयौं भने यो मुद्दा कमजोर हुन्छ । त्यसैले राष्ट्रिय एकताकासाथ अगाडि जानुपर्छ ।
सीमासम्बन्धमा भारतसँग डील गर्ने क्षमता तपाईंहरुसँग छ ?
हामीसँग जति छ किन नहुनु ।
यो विषयमा भारतीय प्रधानमन्त्रीसँग बोल्न सक्नुहुन्छ ?
यस विषयमा सबै पार्टीका प्रधानमन्त्रीहरुले आफ्ना दृष्टिकोणहरु स्पष्ट राखेका छन् । यो विषयमा आज नेपाल एकमत छ । हामी सबै एकमत भएर उभिएका छौं । यो मुद्दाका बारेमा नेपालभित्र प्रश्नै उठ्दैन । यो एकताको तागतले नै हाम्रो गुमेको भूमि फिर्ता हुन्छ ।
भाषण गरेर मात्रै भएन, भारतलाई भन्न सक्नुपर्यो नि ?
सबै पार्टी र जनता एकजुट भएइसकेको छ । अब सरकारले उहिल्यै सुगौली सन्धिका प्रमाणसहित र त्यसपछिका पनि सबै प्रमाणसहित ती प्रमाणहरुलाई एकीकृत गरेर भारतसँग खास खास कुरा गर्नुपर्छ । त्यहाँ प्रमाण नं. १,२,३,४ यो यो कारणले यो भू–भाग हाम्रो हो । त्यसकारण तपाईंले छोडिदिनुप¥यो भनेर सरकार अगाडि बढ्न्ुपर्छ । त्यसमा सरकारलाई सहयोग गर्न हामी तयार छौं । सबै नेपाली एकठाउँमा उभिएको बेला सरकारले खुट्टा नकमाइकन आफ्नो भू–भाग फिर्ता लिनखोज्नुपर्छ, लिन सकिन्छ । त्यो भू–भाग हाम्रो हो, त्यसका हामीसँग अकाट्य प्रमाणहरु छन् ।
नेपालले भारतसँग के गर्ने ?
भारतसँग नेपालले आफ्ना सम्पूर्ण प्रमाणहरु राखेर उच्चकुटनीतिक र राजनीतिक तहबाट परराष्ट्र मन्त्रालयले पहलमा सरकारले विधिवत् क्याविनेटबाट निर्णय गरी ती प्रमाणहरु प्रस्तुत गर्नुपर्छ । प्रमाणको लागि धेरै टाढा जानैपर्दैन सुगौली सन्धिमा पश्चिममा काली नदी सिमानामा हो भनेको छ । त्यो भनेको लिम्पियाधूराको सीमाबाट बग्ने काली नदी हो । File Photo



प्रतिक्रिया दिनुहोस्