Logo

सभामुखको चुनावअघि उपसभामुखको राजीनामा



काठमाडौं, कात्तिक २३ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सङ्घीय संसद् अधिवेशन आह्वानसँगै उपसभामुखलाई राजीनामा गराउने तयारी थालेको छ । अधिवेशन आह्वान भएपछि सभामुखको निर्वाचनअघि नै राजीनामा गराउने नेकपाले तयारी गरेको हो ।
उपसभामुखको राजीनामा नगराएमा नेकपाले सभामुखमा उम्मेदवारी दिन पाउँदैन । सभामुख पद आफैँसँग राख्न नेकपाले उपसभामुखको राजीनामा गराउन लागेको हो । यद्यपि अधिवेशन र सभामुखको उम्मेदवार दुवै अहिले निश्चित छैन ।
संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुख फरक फरक दलको हुनुपर्ने व्यवस्था छ । सभामुख र उपसभामुखमध्ये एक जना महिला हुनुपर्ने संविधानमा उल्लेख छ । यसअघि पनि तत्कालीन एमाले र माओवादी केन्द्रले उक्त पद बाँडफाँट गरेका थिए । पार्टी एकीकरणपछि प्रमुख विपक्षी दल नेपाली काँग्रेसले दुईमध्ये एक पद छाड्नुपर्ने माग गरेको थियो । अदालतमा मुद्दा विचाराधीन भएपछि उक्त विवाद तत्कालका लागि सेलाएको थियो ।
तत्कालीन सभामुख कृष्णबहादुर महराले जबर्जस्ती करणी प्रयासको आरोप लागेपछि पदबाट राजीनामा दिनुभयो । राजीनामासँगै सभामुख पद नेकपाले आफैँसँग राख्न उपसभामुखको राजीनामा अनिवार्य छ ।
नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ संवैधानिक परिकल्पनाअनुसार सभामुख÷उपसभामुखको मनोनयनअघि पार्टीले उपयुक्त निर्णय लिने बताउँछन् । नेम्वाङ भन्छन्–संविधानले सभामुख र उपसभामुख फरक दलबाट हुनुपर्ने व्यवस्था गरेको छ । त्यो विषय हाम्रो जानकारीमा छ । सभामुख चयनको निर्वाचनअघि पार्टीले यस विषयमा उपयुक्त निर्णय लिन्छ ।’
कतिपयले भने उपसभामुखले राजीनामा दिने अवस्था नरहेको समेत बताउने गरेका छन् । सभामुखको पद रिक्त रहेको अवस्थामा उपसभामुखले राजीनामा दिन नमिल्ने तर्क उनीहरूको छ । प्रतिनिधि सभा नियमावलीले उपसभामुखले सभामुखलाई सम्बोधन गरी राजीनामा दिन सक्ने व्यवस्था छ ।
आजको गोरखापत्र राष्ट्रिय दैनिकमा नारायण काफ्लेको समाचार छ ।



प्रतिक्रिया दिनुहोस्