Logo

अयोध्या फेसला हुँदै गर्दा भारतसँग सीमा जोडिएका क्षेत्रमा सुरक्षा सतर्कता



काठमाडौं, २३ कात्तिक । भारतको सर्वोच्च अदाललते अबको डेढ घन्टापछि ऐतिहासिक फैसला गर्दैछ । राम जन्मभूमि बाबरी मस्जिद जमिन विवादको फैसला हुँदै गर्दा उत्तर प्रदेशसँग सीमा जोडिएको नेपाली भूभागमा सुरक्षा सतर्कता अपनाइएको छ ।

असोध्यासँग नजिक पर्ने नेपालगञ्ज, कपिलवस्तुलगायतका सीमा जोडिएका क्षेत्रमा सुरक्षा सतर्कता अपनाइएको सुरक्षा स्रोतले जानकारी दियो । भारतले रुपेडिया नाका बन्द गरेको छ । नेपालले पनि आफ्नो क्षेत्रमा सुरक्षा कडा पारेको छ । एक सुरक्षा अधिकारीका अनुसार अनौपचारिक रुपमा उत्तर प्रदेशसँग सीमा जोडिएको क्षेत्रमा सतर्कता अपनाउन भारतीय पक्षबाट सुझाव आएको जानकारी गराए । उनले भने, ‘हामीलाई अनौपचारिक रुपमा सुरक्षा सतर्कताबारे जानकारी आएको छ ।’

फैसलापछि सम्भावित हिंसाको खतरालाई निकै ध्यान पुर्याइएको छ । भारतका प्रधानन्यायाधीश रञ्जन गोगोईले शुक्रबार साँझ उत्तर प्रदेशका सुरक्षा प्रमुखहरुसँग भेटेर सुरक्षा अवस्थाको जानकारी लिएका थिए । यो आफैमा गम्भीर विषय हो ।

भारतीय पक्षले जिल्ला र केन्द्र तहसम्म नेपाली पक्षलाई सम्भावित सुरक्षा खतराप्रति सतर्क हुन भनेपछि सीमा सुरक्षामा कडाई गरिएको छ । सीमा क्षेत्रमा सुरक्षा गस्ती बढाइएको छ । गृह मन्त्रालयले पश्चिम तराईका जिल्लाहरुका सीमा क्षेत्रमा सतर्कता अपनाउन भनेको बुझिएको छ । गृह स्रोतका अनुसार त्यस क्षेत्रमा निगरानी र सुरक्षा गस्ती बढाइएको छ । सशस्त्र प्रहरीले सीमा नाकामा सक्रियता बढाएको छ ।

यसैगरी, भारतको सर्वोच्च अदालतले आज भारतीय समय अनुसार १०ः३० मा राम जन्मभूमि र बाबरी मस्जिदको जमिन सम्बन्धित विवादमा त्यहाँको सर्वोच्च अदालतले फैसला दिने भएको हो । फैसलाबारे शुक्रबार भारतको सर्वोच्च अदालतले सूचना गरिसकेको छ । फैसला भारतको प्रधानन्यायाधीश रञ्जन गोगोईसहित न्यायाधीशहरु एस ए बोब्डे, डी वाई चन्द्रचुण, अशोक भुषण र एस अब्दुल नजिरको संवैधानिक इजलाशले गर्ने भएको छ । रोचक यो छ कि इजलाशका एक न्यायाधीश मुसलमान समुदायका हुन् ।

सन् २०१० मा अलाहावाद उच्च अदालतले २.७७ एकर्ड जमिन सुन्नी वाक्फ बोर्ड, निर्मोही अखरा र राम लल्ला गरी तीन समूहलाई बाँड्ने फैसला गरेको थियो । त्यसविरुद्ध विभिन्न समूह त्यहाँको सर्वोच्च अदालत पुगेका थिए ।

६ डिसेम्बर सन् १९९२ मा बाबरी मस्जिद कट्टरपन्थी हिन्दुहरुले भत्काएका थिए । उक्त स्थानमा विगतमा श्री राम मन्दिर रहेको दाबी गर्दै मस्जिदमाथि आक्रमण गरिएको थियो । अयोध्याको मुद्दा भारतको राजनीतिमा महत्वमा रहने गरेको छ । File Photo



प्रतिक्रिया दिनुहोस्