Logo

सेफ्स एशोसियसनको अध्यक्ष पदमा खड्गविक्रम लामा



काठमाडौँ, २३ कात्तिक : नेपालको मौलिक खानालाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउँदै मुलुकको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको सेफ्स एशोसियसन अफ नेपालको अध्यक्षमा खड्गविक्रम लामा निर्वाचित भएका छन् ।

एशोसियसनको २५औँ साधारणसभाबाट आगामी दुई वर्षका लागि लामाको अध्यक्षतामा शुक्रबार साँझ १५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरिएको हो । एशोसियसनको प्रथम उपाध्यक्षमा ठाकुरप्रसाद पौडेल, उपाध्यक्षमा शिवहरि घिमिरे, महासचिवमा पदमबहादुर आलेमगर, सचिवमा श्रीकृष्ण गजुरेल, कोषाध्यक्षमा श्यामबहादुर तामाङ चयन भयेक्ला छन् ।

यस्तै सदस्यमा रेशमकुमार लामा, सुनिल लामा, गङ्गाबहादुर खत्री, सुवर्णमान कर्माचार्य, दीपक ढुङ्गाना, हेमराज पौडेल, रामचन्द्र धरेल, राजकुमार लामा र रामकृष्ण थापा चयन भएका छन् । नवनिर्वाचित अध्यक्ष लामाले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउन र नेपाली मौलिक खानालाई विश्व बजारसम्म लैजानका लागि एशोसियसनले काम गर्ने बताए ।

एशोसियसनले नेपालका २६ प्रकारका खानालाई विश्वमा चिनाउन लागिपरेको उनको भनाइ छ । सन् २०२० मा २० लाख पर्यटक भित्र्याउन सरकारले राखेको लक्ष्य पूरा गर्न एशोसियसनले टर्की, अष्ट्रेलिया, भारत, जापान, चीनलगायतका मुलुकमा नेपाली खानाको प्रचार गर्न लागेको छ । “नेपाल घुम्न आउने विदेशीले विदेशी खाना आफ्नै देशमा खाने हुँदा नेपाली खानालाई प्रोत्साहन गर्न सक्नुपर्छ, यसका लागि सेफ्स एशोसियन लाग्नेछ”, उनले भने ।

सन् १९९६ मा स्थापना भएको एशोसियसनमा हाल दुई हजारभन्दा बढी सदस्य छन् । सोमा पाँचतारे होटलदेखि सामान्य होटलमा काम गर्ने सेफ आबद्ध छन् । एशोसियसनले विदेशी खाना बनाउने सम्बन्धमा विदेशी सेफसँग तालीम लिनुका साथै नेपाली सेफ हुन चाहने व्यक्तिलाई तालीम प्रदान गर्दै आइरहेको एशोसियसनका सदस्य रेशमकुमार लामाले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्