Logo

अयोध्याको विवादास्पद जमिन हिन्दुलाई



भारतको सर्वोच्च अदालतले अयोध्याको हिन्दु र मुसलमानबीचको विवादास्पद जमिन हिन्दुको पक्षमा हुने फैसला सुनाएको छ । शनिबार विहान सुनाइएको फैसला अनुसार मुसलमानको मस्जिदका लागि वैकल्पिक जमिन उपलब्ध गराउन आदेश दिइएको छ ।

भारतको प्रधानन्यायाधीश रञ्जन गोगोईसहित न्यायाधीशहरु एस ए बोब्डे, डी वाई चन्द्रचुण, अशोक भुषण र एस अब्दुल नजिरको संवैधानिक इजलाशले हिन्दु सम्वद्ध रामजन्मभूमि ट्रष्टलाई जमिन रहने गरी फैसला गरेको हो । फैसलामा मुसलमानहरुको बाबरी मस्जिदमा पुगेको क्षतिका कारण त्यसको पुननिर्माणका लागि वैकल्पिक जमिन दिनुपर्ने आदेश दिइएको छ ।

६ डिसेम्बर सन् १९९२ मा कट्टरपन्थी हिन्दुहरुले राम मन्दिर भएको स्थानमा बाबरी मस्जिद निर्माण गरिएको भन्दै चार सय वर्ष पुरानो मस्जिद भत्काएपछि जमिनका बारे अदालतमा मुद्दा दायर भएको थियो । यसअघि सन् २०१० मा अलाहावाद उच्च अदालतले २.७७ एकर्ड जमिन सुन्नी वाक्फ बोर्ड, निर्मोही अखरा र राम लल्ला गरी तीन समूहलाई बाँड्ने फैसला गरेको थियो । त्यसविरुद्ध विभिन्न समूह त्यहाँको सर्वोच्च अदालत पुगेका थिए ।

अदालतले ऐतिहासिक फैसला सुनाउँदै मुसलमानको मस्जिदका लागि वैकल्पिक जमिन उपलब्ध गराउन आदेश दिएको हो ।
फैसला पछि हिंसा भड्कनसक्ने खतरालाई दृष्टिगत गरी उत्तर प्रदेशमा सुरक्षा कडाई गरिएको छ । सोमबारसम्म विद्यालय र सरकारी कार्यालय बन्द गरिएको छ ।-एजेन्सी File Photo Source: Agency



प्रतिक्रिया दिनुहोस्