Logo

चितुवा नियन्त्रण गर्न जङ्गलमा विज्ञ टोली



जिल्लाको भानु नगरपालिकाका विभिन्न वडामा बालबालिकामाथि आक्रमण गर्ने चितुवा नियन्त्रणका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषका विज्ञ टोली जङ्गलमा परिचालित भएका छन् । भानु नगरपालिका–१, २, ३ र ४ मा चितुवाको आक्रमणबाट डेढवर्षको अवधिमा ६ जना बालबालिकाको मृत्यु भएपछि चितुवा नियन्त्रणका लागि कोषका विज्ञ टोली जङ्गलमा परिचालित भएका हुन् ।

चितुवा नियन्त्रणका लागि कोषका ६ जना विज्ञ टोली परिचालित भएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिए । “स्थानीयस्तरबाट चितुवा नियन्त्रणका लागि भएको प्रयास असफल भएपछि विज्ञ टोलीको सहयोगमा चितुवा नियन्त्रणमा लिन खोजिएको हो,” बरालले भने , “उक्त टोलीले नतिजा निकाल्नेमा विश्वस्त छौं ।” विज्ञ टोलीका साथमा स्थानीय शिकारीलाई पनि परिचालन गरिएको छ ।

कोषका वरिष्ठ विज्ञ डा सुवेदीले दुई महिनाभित्रै परिणाममुखी काम देखाउने गरी टोलीले काम शुरु गरेको जानकारी दिए। उनका अनुसार चितुवा प्रभावित वडाबाट दुई-दुईजना स्थानीयवासीलाई टिममा सहभागी गराइएको छ । “यस ठाउँको यथार्थ जानकारी भएका स्थानीयवासीलाई टिममा समावेश गरेपछि हामीहरुलाई काम गर्न सहज हुन्छ,” डा सुवेदीले भने , “जङ्गलको सबै ज्ञान उनिहरुलाई हुने हुँदा उनिहरुकै सहयोगमा चितुवा नियन्त्रणमा लिनेछौं ।”

डा सुवेदीका अनुसार चितुवा नियन्त्रणका लागि चितुवा हिँड्ने बाटो पहिचान गरिनेछ । उनका अनुसार चितुवा प्रभावित वडामा क्यामरा जडान गरेर चितुवा पहिचान गरिनेछ । चितुवा नियन्त्रणका लागि एशियाका विभिन्न देशमा प्रयोग गरिएका प्रविधि परिचालन गरिनेछ ।

देशका ७७ वटै जिल्लामा चितुवा पाइन्छ । पछिल्लो समय बैतडी, अर्घाखाँची र तनहुँमा चितुवाको बढी समस्या रहेको छ । उनका अनुसार बुढो र घाइते भएको खण्डमा चितुवा आक्रामक हुन्छ । जङ्गलमा आहाराको अभाव हुँदै गएपछि वैकल्पिक आहाराको खोजीमा चितुवाले मान्छेमाथि आक्रमण गर्ने गरेको अध्ययनबाट पुष्टि भएको सुवेदीको भनाइ छ ।

“जङ्गलमा पाइने जनावर चोरी शिकारीले नष्ट हुँदै गएपछि चितुवा आहारा खोज्दै बस्ती नजिक आउने गरेको पाइएको छ,” डा सुवेदीले भने, “बस्ती नजिक आएको चितुवाले आहाराकै लागि मान्छेमाथि आक्रमण गर्ने गरेको छ ।” चितुवालाई प्रतिदिन चार किलो मासु आवश्यक पर्दछ ।

चितुवा नियन्त्रणका लागि नगरपालिकाको सामुदायिक वनमा परम्परागत खोर राखिएको छ । चितुवा प्रभावित वडाका सामुदायिक वनमा ९ वटा परम्परागत खोर राखिएको छ । भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले चितुवा नियन्त्रणका लागि संरक्षण कोषका विज्ञलाई नगरपालिकाको तर्फबाट पूर्ण सहयोग रहने बताए ।

चितुवाको आक्रमणबाट विसं २०७४ फागुन १ गते भानु नगरपालिका–३ दोरदोरका ६ वर्षीय विशाल श्रेष्ठ, विसं २०७५ कात्तिक २९ गते भानु नगरपालिका–४ जोखानेका ४ वर्षीया रञ्जिता लम्साल, मङ्सिर १५ गते भानु नगरपालिका–२ ढल्केवरका १० वर्षीय अमृत गुरुङ, जेठ २४ गते भानु नगरपालिका–२ भकुण्डथोक निवासी ९ वर्षीया पुष्पा अधिकारी, असोज २१ गते भानु नगरपालिका–१ जामुनेगैह्राका ४ वर्षीय आशिष बानियाँ र भानु नगरपालिका–२ फुस्रेटारमा ७ वर्षीय ऋतिक रोकाको मृत्यु भएको छ ।



प्रतिक्रिया दिनुहोस्