Logo

रेशमखेतीप्रति किसानलाई आकर्षित गर्न प्रोत्साहन कार्यक्रम



तनहुँ, २३ कात्तिक : तनहुँको बन्दिपुर गाउँपालिकास्थित प्रजनन पिँढी बिजकोया स्रोत केन्द्रले रेशमखेतीप्रति किसानलाई आकर्षित गर्न प्रोत्साहन कार्यक्रम ल्याएको छ ।

सो कार्यालयले रेशमखेतीबाट राम्रो आम्दानी हुने भए पनि प्राविधिक ज्ञानको अभावले किसान आकर्षित हुन छाडेपछि प्रोत्साहन कार्यक्रम ल्याएको हो । रेशमखेतीको विकास तथा विस्तार गरी किसानलाई आर्कर्षित गर्न किम्बुको बिरुवामा ५० प्रतिशत अनुदान, ढुवानी र प्राविधिक सेवामा १०० प्रतिशत नै अनुदानको व्यवस्था गरिएको केन्द्रका कार्यालय प्रमुख शङ्करप्रसाद न्यौपानेले बताए । उनका अनुसार तनहुँ, लमजुङ, गोरखा र पूर्वी नवलपरासीका किसानले अनुदानको सुविधा पाउने छन् । उक्त कार्यक्रमको लागि रु पाँच लाख बजेट विनियोजन भएको सो कार्यालयले जनाएको छ ।

सय रोपनी जमीनमा खेती गर्न चाहने किसान, किसान समूह, सहकारी, गैरसरकारी संस्थाको लागि उक्त बजेट छुट्याइएको हो । पचास किसानको लागि सय प्रतिशत अनुदानमा किम्बु तथा रेशमखेती तथा रेशम किरापालनको लागि स्थलगत तालीमको समेत व्यवस्था गरिएको छ ।

गण्डकी प्रदेशमा पहिलो पटक च्याउखेती तथा मौरीपालनको लागि विशेषज्ञ सेवा दिन बन्दीपुरमा कार्यालय स्थापना गरिएको छ । च्याउ तथा मौरीको लागि विशेषज्ञ सेवा दिन लागिएको छ । रेशमखेती कार्यक्रमलाई स्तरोन्नति गर्दै प्रजनन पिँढी बिजकोया स्रोत केन्द्र स्थापना गरिएको हो ।

रेशम खेतीका साथसाथै मौरी र च्याउ सम्बन्धी पनि विशेषज्ञ सेवा दिन स्तरोन्नति गरिएको केन्द्रका कार्यालय प्रमुख न्यौपानेले जानकारी दिनुभयो । गतवर्षसम्म तीन जिल्लाकार्य क्षेत्रमा काम गर्दै आएको सो कार्यालयले यस वर्षदेखि चार जिल्लाको जिम्मेवारी पाएको छ ।

गण्डकी प्रदेशमा मौरीपालन र च्याउखेतीको विशेषज्ञ सेवा अन्य निकायमा नरहेकोले यसै वर्षदेखि काम गर्ने गरी बन्दिपुरमा कार्यालय स्थापना गरिएको छ । कार्यालय प्रमुख न्यौपानेले तनहुँ, लमजुङ, गोरखा र पूर्वी नवलपरासी जिल्ला हेर्ने गरी कार्यालय स्थापना गरिएको हो । कार्यालयभित्र रहेको करीब सात हेक्टर जमीनमा नमूनाफार्म निर्माण गरिएको छ भने करीब चार हेक्टर क्षेत्रफलमा किम्बुखेती गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्