Logo

अर्जुनधारा जलेश्वरधाममा कृत्रिम अङ्ग वितरण गरिने



भद्रपुर, २३ कात्तिक : पूर्वको पशुपतिनाथको रुपमा सुप्रसिद्ध झापाको अर्जुनधारा जलेश्वरधाममा बालाचतुर्दशीको अवसर पारेर ३७ औँ वार्षिक अनुष्ठान हुने भएको छ । अनुष्ठानको उद्घाटन किराँत धर्मगुरु आत्मानन्द लिङ्देनले गर्ने भएको छ ।

मङ्सिर २ देखि ९ गतेसम्म हुने धार्मिक अनुष्ठानमा यसपटक बामन पुराण, रुद्राभिषेक महायज्ञ, सद्विजारोपण, कृत्रिम अङ्ग प्रत्यारोपण, आँखा शिविरलगायतका कार्यक्रम गरिने भएको छ ।

हरेक वर्ष धाममा वार्षिक अनुष्ठान हुने गर्दछ । पहिलोपटक किराँत धर्मका गुरु लिङ्देनलाई अनुष्ठानको प्रमुख अतिथि बनाउने निर्णय गरिएको अर्जुनधारा जलेश्वरधाम समितिका अध्यक्ष नवीन गट्टानीले जानकारी दिए ।

किराँत धर्म तथा साहित्य उत्थान सङ्घका अध्यक्ष डकेन्द्र सुब्बाले विश्वशान्ति र मानव जातिबीचको एकताका लागि अर्जुनधारा जलेश्वरधामले आयोजना गर्दै आएको धार्मिक अनुष्ठानमा किराँत धर्मका गुरु आत्मानन्द लिङ्देनलाई निमन्त्रणा गरेकोमा समस्त किराँत धर्मावलम्बी हर्षित भएको बताए ।

“यसबाट नेपालीमा कायम रहेको धार्मिक सद्भाव र सहिष्णुतालाई अझ बलियो बनाउँछ”, किराँतधर्म तथा साहित्य उत्थान सङ्घका अध्यक्ष सुब्बाले भने । “जगद्गुरु शङ्कराचार्य हेमानन्द गिरी र जगद्गुरु मुमुक्षानन्द महाराजजी मङ्सिर ५ गते आउने भएको छ । भारतको कोलकातास्थित महावीर सेवा सदनको सहयोगमा मङ्सिर ५ देखि ७ गतेसम्म निःशुल्क आँखा शिविर र मङ्सिर १३ देखि २० गतेसम्म निःशुल्क कृत्रिम अङ्ग प्रत्यारोपण कार्यक्रम सञ्चालन गरिने धाम समितिका कोषाध्यक्ष मनोज जोशीले बताए ।”



प्रतिक्रिया दिनुहोस्