Logo

३ नं. प्रदेशको विकास आवधिक योजनाबारे छलफल



प्रदेश नं. ३ ले प्रदेशको विकास लागि पहिलो आवधिक योजनामा समेटिएका विषयमाथि छलफल गरेको छ । प्रदेश नीति तथा योजना आयोगले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा प्रदेश नं ३ ले योजनामा समेटिएका विषयलाई कसरी लागू गर्ने विषयमा छलफल गरेको हो ।

कार्यक्रममा प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले विज्ञको सल्लाहमा नै प्रदेशमा योजना कार्यन्वयन गर्ने बताए । “हामीले प्रदेशको विकासका लागि पाँच वर्षे आवधिक योजना सार्वजनिक गरेका छौँ,” उनले भने , “ती योजनामा समेटिएका विषयवस्तुलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर विज्ञको सुझावको आधारमा योजना कार्यन्वयन गर्दछौ ।” पूर्वाधार, कृषि, विशिष्टीकृत सेवा, उद्योग, सम्पदामैत्री पर्यटन पाँच विकासका चालकलाई समेटेर आवधिक योजना ल्याएको छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेलले सातवटै प्रदेशले एकै किसिमको योजना नबनाएर फरकफरक बनाएको भन्दै एकरुपता हुनुपर्ने बताए । “हामीले नबनाएका योजना पनि कतिपय प्रदेशले बनाएका पाइयो”, उनले भने , “हामी र प्रदेश योजनाबीच समन्वय गरेर प्रदेशले योजना बनाउने भएको छ ।” उनले सरकारको १५औँं योजनाबाट मुलुकलाई ‘समृद्ध नेपाल र सुखी नेपाली’ अभियानलाई प्रदेश सरकारले सहयोग गर्ने गरी योजना बनाउनुपर्ने बताए ।

कार्यक्रममा पूर्वाधारका विषयमा पूर्व सचिव किशोर थापा र ईश्वर जोशी, शिक्षामा प्रा डा मनप्रसाद वाग्ले र डा केदारभक्त माथेमा, कृषिमा डा रामप्रसाद अधिकारी, सूर्य राई र मीनबहादुर बस्नेत, पर्यटनमा दिपेन्द्रपुरुष ढकालले सुझाव दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्