Logo

अतिक्रमित भूमिबारे प्रधानमन्त्री ओलीले मोदीसँग संवाद गर्ने



काठमाडौं २४ कार्तिक । अतिक्रमित भूमिबारे प्रधानमन्त्री केपी शर्मा ओलीले ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग संवाद गर्ने तयारी गरेका छन् । उनले आज आन्तरिक छलफल गरेर भारतमा सन्देश पठाउने बुझिएको छ । हिजो नै दलहरुको बैठकमा उनले मोदीसँग सम्वाद गर्ने बताइसकेका छन् ।

भारत सरकारले पछिल्लोपटक सार्वजनिक गरेको नक्सामा लिपुलेक, कालापानी, लिम्पियाधुरालगायतको नेपाली भू–भाग पारेको विषयमा सरकारले प्रभावकारी कूटनीतिक पहल थाल्ने भएको छ । बालुवाटारमा आयोजना गरेको सर्वपक्षीय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक परे यो विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि वार्ता गर्ने बताएका छन् ।

सबै राजनीतिक दलबाट प्राप्त आड र भरोसालाई लिएर सरकार अगाडि बढ्ने प्रतिबद्धता प्रधानमन्त्री ओलीले गरेका छन् । ‘राष्ट्रिय हितका लागि चाहिने दुई महत्वपूर्ण पूर्वाधार हुन् । यस विषयमा चाहिने सहमति प्राप्त भएको छ । र, त्यो सहमतिलाई आधार बनाएर प्रभावकारी वार्ता गर्न सक्ने बलियो सरकार पनि छ । यो राष्ट्रिय सहमतिलाई आधार मानेर वार्तालाई अगाडि बढाउँछौँ, पहल गर्छौँ ।’

बैठकमा प्रधानमन्त्री ओलीले राखेको धारणा सुनाउँदै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने, ‘हामी स–साना कुरामा अल्झिन चाहदैनौँ । हाम्रो भारतसँग सुदृढ मित्रता होस् भन्ने चाहना छ । त्यसकारण कूटनीतिक ढंगबाट यो समस्या समाधान गर्न सकिन्छ भन्ने सरकार विश्वस्त छ ।’

नेपाल भारतवीच अहिले नै केही संयन्त्र रहेको भन्दै सरकारले आवश्यक परे त्यस भन्दा माथि उठेर प्रधानमन्त्री तहमा वार्ता गर्ने पनि मन्त्री ज्ञवालीले जानकारी दिए । ‘अब हामी आन्तरिक छलफल गर्छौँ । यसका लागि हामीसँग अहिले तीन वटा संयन्त्र छन् । एउटा नेपाल भारत संयुक्त सीमा कार्यदल छ, जसले चार वटा टोली भएर काम गरेको छ । तर, त्यो कार्यदलाई कालपानी र सुस्तामा काम गर्ने म्यान्डेड छैन् । हामी परराष्ट्र सचिव स्तरीय संयन्त्रलाई पनि अगाडि बढाउँछौँ । परराष्ट्र मन्त्रीस्तरमा संयुक्त आयोग छ ।



प्रतिक्रिया दिनुहोस्