Logo

खेलकुद मार्फत पर्यटन प्रवद्र्धन हुने



गलेश्वर, २४ कात्तिक । समुद्री सतहदेखि दुई हजार ४३० मिटरको उचाइमा अवस्थित म्याग्दीको पर्यटकीय क्षेत्र टोड्केका व्यवसायीले खेल क्षेत्रलाई उपयोग गरेर पर्यटन प्रवद्र्धन गर्न खोजेका छन् । विभिन्न विधाका राष्ट्रिय स्तरका खेलाडीहरुलाई टोड्केमा बोलाई हाइअल्टिच्यूड तालीमसमेत दिएर यहाँका व्यवसायीहरुले पर्यटक आकर्षण गर्ने नयाँ उपाय अपनाएका छन् ।

हालैमात्र राष्ट्रिय स्तरका ह्याण्डबलका खेलाडी र अफिसियल गरी करीब ५० जना खेलक्षेत्रका व्यक्तित्वहरुलाई यहाँ बोलाएर ह्याण्डबलको हाइअल्टिच्यूड तालीम सम्पन्न गरेका यहाँका व्यवसायीहरु टोड्केमा हाइअल्टिच्यूड तालीम केन्द्र र खेल मैदान बनाउने अभियानमा लागेको टोड्के हिल रिसोर्ट प्रालिका अध्यक्ष मीनबहादुर पाइजाले बताए।

पर्यटन क्षेत्रमा अलग पहिचान कायम गर्ने कोशिशमा रहेको टोड्केमा राष्ट्रिय खेलकूद परिषद्का उपाध्यक्ष पीताम्बर तिम्सिना, नेपाल ह्याण्डबल सङ्घका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेजबहादुर गुरुङलगायत राष्ट्रिय खेलकूदसँग सरोकार राख्ने, जिल्ला स्तरका सरकारी अधिकारी र जनप्रतिनिधिहरुको उपस्थितिमा हाइअल्टिच्यूड ह्याण्डबल तालीम आयोजना गरिएको थियो । यसका साथै म्याग्दी जिल्लामा जन्मेर राष्ट्रिय एवं अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागी भएका ५० वर्ष उमेर पार गरेका पाँच खेलाडीलाई सम्मानसमेत गरिएको थियो । यो सबै कुराको चाँजोपाँजो टोड्केमा सञ्चालित टोड्के रिसोर्ट प्रालिले गरेको हो ।

म्याग्दीको रघुगंगा, मंगला गाउँपालिका र बेनी नगरपालिका गरी तीन वटा स्थानीय तहको सीमामा रहेको पर्यटकीय स्थान टोड्केबाट धौलागिरि, नीलगिरि, अन्नपूर्ण, गुर्जा, मानापाथी लगायतका नौ वटा हिमाल हेर्न सकिने पहिलो पटक टोड्केमा पुगेर एक रात टोड्के रिसोर्टमा बास बस्नुभएका पोखरावासी श्याम बाँस्तोलाले बताए ।

तेर्हौ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)मा भाग लिने ह्याण्डबलका खेलाडीहरुलाई टोड्केमा बोलाएर हाइअल्टिच्यूड तालीमको समेत आयोजना गरेर रिसोर्टले पर्यटकको ध्यानाकर्षण गराएको राष्ट्रिय खेलकूद परिषद्का उपाध्यक्ष तिम्सिनाले बताए । उनले भने – “टोड्केका व्यवसायीले आफ्नो व्यवसाय वृद्धिका लागि मात्रै होइन खेल क्षेत्रको विकासका लागि पनि काम गर्नुभएको छ । खेल क्षेत्र पर्यटन विकासका लागि कोशेढुङ्गा सावित हुनेमा म आशावादी छु ।”

सदरमुकाम बेनीदेखि सवारीसाधनमार्फत दुई घण्टाको यात्रापछि पुग्न सकिने टोड्के शीतोष्ण हावापानी भएको लेकाली ठाउँ हो । टोड्केबाट बागलुङ र पर्वत जिल्लाको डाँडाकाँडाहरु समेत देखिन्छन् । टोड्केमा माघ–फागुनमा ढकमक्क फुल्ने लालीगुँरासले पर्यटकलाई लोभ्याउने गर्दछ । आलु, फापर र मूलाका लागि प्रख्यात ठाउँ हो टोड्के ।

यहाँबाट धौलागिरि, अन्नपूर्ण, नीलगिरी, माछापुच्छ्रे , मानापाथीलगायत दर्जनौं हिमश्रृङ्खला विस्ताराबाटै अवलोकन गरेर पहिलो पटक टोड्के रिसोर्ट आउनुभएकी ह्याण्डबल खेलाडी सरिता थापाले अनौठो अनुभूति दिए । “यहाँको प्राकृतिक सुन्दरता र भूगोल देखेर म छक्क परें,” थापाले भने – ‘विस्तारामा सुती सुती बिहान अघाउञ्जेल हिमाल हेरें ।”

आँखै अगाडि चाँदी झै टल्केका हिमशृङ्खला, चैत–वैशाखमा राताम्यै फुल्ने लालीगुराँस, अग्र्यानिक खाना, सुविधायुक्त बसाइ, पारिवारिक वातावरण, जङ्गली जनावरको अवलोकन यहाँका विशेषता रहेका रिसोर्टका अध्यक्ष मीनबहादुर पाइजाले बताए।

“एकान्त वातावरणमा प्राकृतिक सौन्दर्यमा रमाउन चाहनेहरुका लागि टोड्केको विकल्प छैन तर, यसको महत्व र यहाँ यस्तो ठाउँ पनि छ है भनेर दुनियाँलाई जानकारी गराउन आवश्यक छ,” पाइजाले भने – “त्यसैले हामीले यस ठाउँको प्रचारप्रसारका लागि खेल क्षेत्रलाई रोजेका हौं ।”

“टोड्के प्रचुर पर्यटकीय सम्भावना भएको ठाउँ रहेछ,” राष्टिय खेलकूद परिषद्का उपाध्यक्ष पीताम्बर तिम्सिनाले भने – “यसको प्रचारप्रसार गर्ने हो भने यो ठाउँमा धेरै पर्यटकहरु ओइरिन्छन् ।”

नेपाल ह्याण्डबल सङ्घका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष गुरुङले स्वर्गीय आनन्दको अनुभूति हुने ठाउँको रुपमा टोड्केलाई प्रकाश पारे । उनले भने – “यहाँबाट हिमाल र पहाडको अति रोमाञ्चक दृश्य देखिँदो रहेछ ।”

म्याग्दी जिल्लामा जन्मेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकूद प्रतियोगिताहरुमा पदक जित्न सफल ५० वर्ष पार गरेका पाँच खेलाडीलाई रिसोर्टले केही दिनअघि सम्मान गरेर उदाहरणीय काम गरेको छ ।

सम्मानित हुनेहरुमा एथ्लेटिक्सतर्फ मीनबहादुर पाइजा, पौडी तथा डाइभिङतर्फ अन्तर्राष्ट्रिय उपाधि विजेतासमेत रहनुभएका अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष क्या डमबहादुर पुन, भलिबलतर्फ मिलन श्रेष्ठ र कौशीला खत्री र बक्सिङतर्फ मानबहादुर बुढाथोकीले भने ।

आसन्न १३ औं सागमा नेपालका तर्फबाट सहभागी हुने ह्याण्डबलका खेलाडीहरुलाई समुद्री सतहदेखि २ हजार ४३० मिटर उचाइमा रहेको टोड्केमा हाइअल्टिच्यूड तालीम दिइएको हो ।

खेलाडीहरुको तनाव व्यवस्थापन र मानसिक तयारीका लागि टोड्के उपयुक्त स्थान भएको ह्याण्डबल सङ्घका अध्यक्ष गुरुङले बताए । आउँदो मङ्सिर १५ देखि २४ गतेसम्म पोखरामा १३ औं साग अन्तर्गत ह्याण्डबल महिला र पुरुषसहित नौ खेलहरु हुने भएका छन् ।

रिसोर्टका निर्देशक भीमप्रसाद शेरचनका अनुसार पर्यटन वर्ष सन् २०२० मा टोड्केमा पनि २० हजारभन्दा बढी पर्यटकलाई भित्र्याउने वातावरण बनाउन लागिएको छ । त्यसका लागि टोड्के क्षेत्र विकास समितिसँग सहकार्य गरेर रिसोर्टले पनि विभिन्न किसिमका प्याकेजहरु सार्वजनिक गर्ने तयारी गरेको छ । रासस



प्रतिक्रिया दिनुहोस्