Logo

अमेरिकाले यसकारण देख्यो नेपालमा ‘इस्लामिक लडाकु’ को सक्रियता



काठमाडौं, २४ कात्तिक । सुनसरीमा ४ असोज २०७५ मा निजी विद्यालयका प्रधानाध्यापक खुर्सिद आलम मारिए । मोटरसाइकलमा आएका अज्ञात बन्दुकधारीले उनको टाउको, पेट र खुट्टामा गोली हानेपछि घटनास्थलमै मृत्यु भयो ।

आलम मारिएपछि भारतीय मिडियाले उनी इन्डियन मुजाहिद्दिन अर्थात् भारत केन्द्रित इस्लामिक लडाकुको रिङलिडर भएको खबर प्रकाशित गरे । खुर्सिद सन् १९९३ मा मुम्बईमा भएको बम हमलामा संलग्न भएको भन्दै भारतीय पक्षले सुपुर्दुगीका लागि पहल गरेको भारतीय समाचार संस्था एएनआइले २२ सेप्टेम्बर २०१८ मा समाचार प्रकाशित गरेको थियो । उनै खुर्सिदलाई भारतीय पक्षले सुपुर्दुगीको पहल गरेको तर, तत्कालिन गृहमन्त्री वामदेव गौतमको पालामा सुपुर्दुगी गर्न नमानिएको एएनआईले लेख्यो ।

मुजाहिद्दीन अर्थात् धार्मिक लडाईं लड्ने जिहादीका प्रमुख नेता अब्दुल शुभान कुरेसी तारिक २०७४ को पौष महिनामा कपिलवस्तुबाट पक्राउ परेका थिए । उनी मदरसामा शिक्षकको भेषमा सक्रिय थिए । मुजाहिद्दीनसँग जोडिएका अरिज खान २०७४ को माघ महिनामा काठमाडौंमा पक्राउ परेका थिए । मोहम्मद सलिमका नाममा अंगीकृत नागरिकता समेत लिएका उनले नेपाली महिलासँग विवाह गरेका थिए । उनीहरु कसरी नेपाल पसेर सक्रियता बढाए भन्नेबारे पनि इकोनोमिक्स टाइम्सले १६ मार्च २०१८ मा वृस्तृत रुपमा समाचार प्रकाशित गरेको छ ।

२०७३ सालमा भारतको रेलमा बम हमला विफल भएको घटनाले नेपालमा मुजाहिद्दीनको सञ्जाल विस्तार भएको खुलासा भएको थियो । बम रेलको बग्गीमा नभई ट्याकमा बिष्फोट भयो । बिष्फोटमा संलग्नहरुलाई पक्राउ गर्दै जाँदा सञ्जाल बारा जिल्लासम्म जोडिएको पत्ता लाग्यो । बाराका वृजकशोर गिरीलाई बम बिष्फोटका लागि दुबई देखि पैसा पठाइएको खुलासा भयो । समसुल होदाले चार लाख पठाएको खुल्यो । गिरीले भारतीय नागरिक दीपक राम, अरुण रामलगायतलाई बम बिष्फोटका लागि खटाएका थिए ।

विगतमा पनि भारतले आतंककारी घोषणा गरेकाहरु नेपालमा पक्राउ परेका थिए । तीमध्ये पोखरामा पक्राउ परेका यासिन भट्कल, दशक अघि त्रिभुवन विमानस्थलबाट पक्राउ परेका याकुब मेमम, नेपाल भारत सीमा क्षेत्रबाट पक्राउ परेका भनिएका अब्दुल करिम टुण्डा पर्छन् । टुण्डाको बम बनाउने क्रममा एउटा हात गुमेको थियो । यासिन भट्कल युनानी चिकित्सकको भेषमा पोखरामा बस्दै आएका थिए । उनी इन्डियन मुजाहिद्दीनको प्रभावशाली नेता थिए । टुण्डा लस्कर ए तैबासँग आवद्ध थिए । यी संगठनहरु भारत र पाकिस्तानमा केन्द्र बनाएर भारतविरुद्ध गतिविधि गर्दै आएकामा पर्दछन् ।

भारतविरुद्ध लक्षित आतंकवादी गतिविधि गर्ने संगठनको सक्रियता विगतमा नभएको होइन । २४ डिसेम्बर सन् १९९९ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इन्डियन एयरलाइन्सको विमान हर्कत उल मुजाहिद्दिन नामको आतंकवादी संगठनले अपहरण गरेको थियो । त्यसले नेपालमा पनि आतंकवादीहरुको चलखेलबारे चासो बढायो ।

आतंकवादी संगठनको नेपालसँग सञ्जाल विस्तार भएको अमेरिकी सरकारको हालै प्रकाशित प्रतिवेदनको आधार यी घटनाक्रम पनि हो भन्ने देखिन्छ । यसबाहेक अमेरिकी सरकारले अन्य सूचना संकलन गरेको पनि हुनसक्छ । सुरक्षा मामलाका जानकार सशस्त्र प्रहरीका पूर्व एआइजी डा. कृष्णकुमार तामाङ नेपालमा अन्तर्राष्ट्रिय आतंकवादी संगठनको सञ्जाल विस्तार भइरहेको हुनसक्ने बताउँछन् । यसबारे सरकार गम्भीर हुनुपर्नेमा उनको जोड छ । छिमेकविरुद्ध गतिविधि गर्न सक्ने आतंकवादी संगठनको सक्रियता तथ्यहरुबाट पनि बुझ्न सकिने भन्दै यसविरुद्ध आवश्यक कदम चाल्नुपर्ने बताउँछन् ।

आतंकवादमा खर्च गर्न नेपालमा रकम आउने गरेको खबरहरु पनि प्रकाशित भइरहेका छन् । इकोनोमिक्स टाइम्सले नेपालको च्यानल हुँदै भारतमा आतंकवादी गतिविधिका लागि रकम पुगेको खबर छापेको छ । युपीका प्रहरीको भनाई उदृत गर्दै इकोनोमिक्स टाइम्सले बैंक खातावालालाई पाँच प्रतिशत कमिशन दिएर नेपालको बैंकमा अन्य देशको बैंक खाताबाट रकम स्थानान्तरण गरिएको भनिएको छ । उत्तर प्रदेशबाट पक्राउ परेकामा लखिमपुरका उम्मद अली, सञ्जय अग्रवाल, समिर सलमानी र अइराज अली छन् । उनीहरुले प्राप्त रकम दिल्ली सम्म पुर्याउने गरेको उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्