Logo

कास्की–२ मा यस्तो छ चुनावी भिडन्त : कसको पल्ला भारी ?



कास्की । कास्की निर्वाचन क्षेत्र नम्बर दुईमा रिक्त प्रतिनिधिसमा सदस्यका लागि आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि २१ उम्मेदवार कामय भएका छन् । १४ राजनीतिक दल र ११ स्वतन्त्र गरी २५ उम्मेदवारले मनोनयन दर्ता गराएकामा ३ पार्टीका उम्मेदवारको उम्मेदवारी बदर भएको छ भने एक उम्मेदवारले आइतबार उमेदवारी फिर्ता लिएका छन् ।

२०७४ को निर्वाचनमा कास्की क्षेत्र नम्बर २ मा १३ जनाको उम्मेद्वारी परेको थियो । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि भने २१ जनाको उम्मेदवारी कायम भएको हो । आयोगले शनिबार बदरको निर्णय गरी मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई पत्र पठाएको र सोही अनुसार कार्यालयले पनि सूचना टाँसेर उम्मेद्वारी बदर भएको जनाएको थियो ।

अब निर्वाचनमा नेकपाबाट विद्या भट्टराई अधिकारी, कांग्रेसका खेमराज पौडेल, साझा पार्टीबाट रजनी केसी, विवेकशीलबाट जमुना शर्मा, समाजवादीबाट धर्मराज गुरुङ, देशभक्त समाजबाट विरबहादुर विश्वकर्मा, नेपाली कांग्रेस ((बिपी) बाट चन्द्रबहादुर रानाभाट, राष्ट्रिय जनमुक्ती पार्टीबाट पूर्णबहादुर राना, नेकपा मालेबाट टेकनाथ भण्डारी, मंगोल नेशनल अर्गानाइजेशनबाट रियाज गुरुङ, राप्रपा संयुक्त गंगा मल्ल, राप्रपा रोमबहादुर भण्डारीको उमेदवारी कायम भएको छ ।

यसैगरी कमलजंग कुँवर, यज्ञप्रसाद पंगेनी, लक्ष्मीकुमारी भूजेल, सुनिल भुसाल, सुनिलबहादुर कोइराला, दीपक रेग्मी, उमनाथ गौतम, नवराज बास्तोला र रनबहादुर दमै स्वतन्त्र उमेदवार रहेका छन । कुनै पनि उमेदवारबिरुद्ध उजुरी परेको छैन । २०७४ को निर्वाचनमा यस क्षेत्रबाट १३ जनाको उम्मेद्वारी परेको थियो ।

तत्कालिन पर्यटनमन्त्री रविन्द्रप्रसाद अधिकारीको गत फागुन १५ मा हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका कारण कास्की–२ प्रतिनिधिसभा सदस्य खाली भएपछि उपनिर्वाचन हुन लागेको हो । २०७४ को निर्वाचनमा अधिकारीले कांग्रेसका देवराज चालिसेलाई ८ हजार ५ सय ४६ मत अन्तरले पराजित गरेका थिए ।

अधिकारीले २७ हजार २ सय ७ र चालिसेले १८ हजार ६ सय ६१ मत पाएका थिए । विभिन्न कारणले रिक्त प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका ५२ पदमा मंसिर १४ गते उपनिर्वाचन हुँदैछ । प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवारी मनोनयन कात्तिक २१ गते नै भइसके पनि स्थानीय तहको मनोनयन कात्तिक २७ का लागि तय गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्