Logo

रंगशालामा रातदिन काम, उद्घाटनसम्म होला त तयार ?(भिडियोसहित)



काठमाण्डौ । जे काम पनि हतारमा । त्यस्तै भएको छ, १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिताको तयारी । मुख्य खेलस्थल तथा सागको उद्घाटनस्थल दशरथ रंगशाला अझै तयार भएको छैन । बेलैका काम सुरु नगर्दा अहिले दिनरात कामगर्नुपर्ने अवस्था छ । तै पनि मंसिर १५ गते हुने उद्घाटनसम्म तयार हुने नहुनेमा आशंका कायमै छ ।

१३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको उद्घाटन दिन आउन अब तीन हप्ता मात्रै बाँकी छ । अझै पनि साग तोकिएको समयमा हुने हो कि होइन भन्ने आशंका कार्यै देखिन्छ । आशंका गर्नुपर्ने मुख्य कारण हो दशरथ रंगशालाको मर्मत नसकिनु ।

शनिवार राति ११ बजे दशरथ रंगशाला पुग्दा केही कामदारहरु काम गरिरहेका थिए । रंगशाला भने अलपत्र जस्तै देखिन्थ्यो । सामान्य प्यारापिततर्फ सिट जडानको काम भइरहेको छ । तर भिआइपी प्यारापिटतर्फको दृश्य त टिठलाग्दो थियो । सायद बेलैमा काम सुरु गरेको भए वा प्रभावकारी योजनाका साथ मर्मत कार्य अगाडि बढाइएको भए अहिले हतारमा रातदिन गरी काम गर्नुपर्ने थिएन ।

मंसिर १५ गते सागथको उद्घाटन यही रंगशालामा गर्ने कार्यक्रम छ । यहाँको अवस्था हेर्दा उद्घाटनका दिनसम्म तयार नहुने हो कि भन्ने आशंका उब्जिएको हो । तर युवा तथा खेलकूद मन्त्री जगतबहादुर विश्वकर्मा जस्तोसुकै चुनौति पार गरेर भए पनि साग सफल बनाउने बताउँछन् । मन्त्री विश्वकर्माले हतारमा काम गरेको भन्ने आरोपको खण्डन गर्दै साग सफल हुने दावी गर्दै आएका छन् ।

यता राष्ट्रिय खेलकूद परिषदका सदस्य सचिव रमेश सिलवाल पनि १३ औँ साग समयमै सम्पन्न गर्नका लागि कुनै समस्या नरहेको दावी गर्छन् ।

मन्त्री वा सदस्य सचिवले भनेजस्तै साग कुनै पनि हालतमा निर्धारित समयमै सुरु हुनुपर्छ र सफल पनि हुनुपर्छ । दशरथ रंगशाला प्रतियोगितामा सबैभन्दा बढि प्रयोग हुने खेल स्थल हो । त्यसैले यसको मर्मत समयमै सकिदैन कि भन्ने चिन्ता चाँही अझै हटेको छैन ।



प्रतिक्रिया दिनुहोस्