Logo

सीमा विवाद समाधान गर्न भारत सकारात्मकः सीमा नमिचेको दावी



काठमाडौं २५ कार्तिक । नेपाल–भारतका बीच उत्पन्न सीमा विवाद समाधान गर्न भारत सकारात्मक बन्ने संकेत देखिएको छ । नेपाल सरकारले कूटनीतिक र राजनीतिक पहल थाल्ने बताइरहेको बेला भारतले वार्तामार्फत सीमा विवाद समाधान गर्न सकिने बताएको पराराष्ट्र मन्त्रालय स्रोतले बताएको छ ।

तर, औपचारिक रूपमा भारतले वार्तामार्फत सीमा विवाद समाधान गर्ने विषयलाई सार्वजनिक भने गरेको छैन । भारतले आफ्नो नक्सा पुरानै रहेको र सीमा नमिचिएको बताउँदै आएको छ ।

भारतले कालापानी सीमा विवाद समाधानको विषयमा विदेश सचिवस्तरी संयन्त्रको बैठकमा छलफल गर्ने सक्ने संकेत दिएको परराष्ट्र स्रोतले जनाएको छ । सो बैठक बंगलादेशका राष्ट्रपति अब्दुल हमिदको नेपाल भ्रमणपछि मात्र हुने अवस्था छ ।

नेपालमा कालापानी सीमाको विषयलाई लिएर प्रदर्शन भइरहेको छ । सरकारले समेत कालापानी नेपालको भएको भन्दै विज्ञप्ति नै जारी गरेको छ ।

नेपालका लिपुलेक, महाकाली र लिम्पियाधुरा फिर्ता ल्याउन कूटनीतिक पहल थाल्ने विषयमा सरकारले उच्चस्तरीय राजनीतिक छलफल थाल्ने बताएको थियो

आइतबार मात्रै विद्यार्थीसँगको भेटमा परराष्ट्रमन्त्री ज्ञवालीले सो सीमाको समस्या कूटनीतिक र राजनीतिक रूपमा हल गर्ने बताएका थिए । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतले एकपक्षीय ढंगबाट नयाँ नक्सा सार्वजनिक भएको बताएका थिए ।

भारतले जम्मुकश्मीर र लद्दाखलाई दुई प्रदेशमा बाँडेपछि जारी गरेको भारतीय नयाँ नक्सामा कालापानी भारतीय भूमि रहेको उल्लेख भएपछि नेपालमा प्रदर्शन सुरु भएको हो ।

परराष्ट्रमन्त्रीले सरकार राष्ट्रियताको पक्षमा अडिग रहेको र विगतको जस्तो अवस्था हुन नदिने बताए ।

उनले ऐतिहासिक तथ्यका आधारमा सीमा विवाद सदाका लागि अन्त्य गर्न राजनीतिक र कूटनीतिक रूपमा पहल गर्ने बताएका थिए ।राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्