Logo

सीमाबारे सेनाको चासो, प्रधानमन्त्री जंगीअड्डामा



काठमाडौं, कात्तिक २५ । भारतले सार्वजनिक गरेको राजनीतिक नक्साबारे जंगीअड्डामा गहन छलफल भएको छ। नेपाली भूभागलाई भारतको नक्सामा पारेको विषयमा विभिन्न दल, नागरिक समाज, बौद्धिक वर्ग र सर्वसाधारणबीच छलफल बढेपछि नेपाली सेनाले चासो देखाएको हो।
प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली भूभागको रक्षामा सुरक्षाकर्मी चुक्न नहुने भन्दै अन्य तीन सुरक्षा निकायका प्रमुखसँग छलफल चलाएका हुन्। नेपाली भूभागमा रहेको भारतीय सुरक्षाकर्मीलाई फिर्ता पठाउने र अन्य सीमा पनि सुरक्षित गर्न कूटनीतिक एवं रणनीतिक तयारीमा पनि सेना अग्रसर भएको छ। लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रमा पाँच दशकदेखि भारतीय सुरक्षाकर्मीको उपस्थिति रहेकामा कसरी फिर्ता पठाउने भन्ने विषयमा जंगीअड्डामा सुरक्षा प्रमुखबीच बहस भएको सैन्य उच्च स्रोतले बताएको छ।
प्रधानसेनापति थापाले सुरक्षा निकायका प्रमुखसँग पछिल्लो सुरक्षा अवस्था र सहकार्यबारे छलफल राखेको भए पनि भारतीय सीमा अतिक्रमणबारे बहस भएको एक सुरक्षा अधिकारीले बताए।
प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल पनि जंगीअड्डा पुगेका थिए। सेनाका प्रवक्ता एवं सहायक रथी विज्ञानदेव पाण्डेले सुरक्षा निकायको छलफल भएको स्वीकार गरे पनि त्यसलाई नियमति भने।
सीमाबाट भारतीय फौज फिर्ता पठाउन लामो समयदेखि पहल भए पनि त्यसमा नेपालले सफलता पाउन सकेको छैन।
भारतले नयाँ नक्सा सार्वजनिक गर्ने क्रममा पनि उनीहरूको सुरक्षा निकाय रहेको भूभाग आफ्नै भूभागको रूपमा देखाएपछि काठमाडौंमा यसको चर्को विरोध भइरहेको छ। अन्य सुरक्षा चुनौती रहेको प्रतिवेदन अमेरिकाले सार्वजनिक गरेको विषयमा जंगीअड्डामा छलफल भएको हो। त्यस क्रममा प्रतिजासुसी संयन्त्रबारे पनि छलफल भएको थियो। प्रधानमन्त्रीको प्रत्यक्ष निगरानीमा रहने संयन्त्रबारे त्यहाँ बहस भएको थियो। प्रधानमन्त्रीलाई पछि गरिएको ब्रिफिङमा पनि त्यो विषय परेको एक अधिकारीले बताए।
परराष्ट्र मन्त्रालयले राजनीतिक तहमा कुरा गर्नुअगावै कूटनीतिक नोट दिने तयारी गरिरहेको समयमा सुरक्षा निकायले पनि आफ्नो रणनीतिक छलफल चलाएको हो। विभिन्न दलका शीर्ष नेता र पूर्वप्रधानमन्त्रीहरूले शनिबार मात्रै उच्च राजनीतिक तहमा छलफल गरेर आफ्नो भूभाग कायम गर्न सरकारलाई सुझाव दिएका थिए। कूटनीतिक पहल गर्ने भनिरहेको अवस्थामा प्रधानमन्त्री ओली जंगीअड्डा पुगेका हुन्। छलफलमा सैन्य नेतृत्वसहित सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू सहभागी थिए। प्रधानमन्त्रीले यसअघि पनि जंगीअड्डा पुगेर ब्रिफिङ लिने गरेका थिए। उनले शनिबार सर्वपक्षीय बैठक बालुवाटारमा गरेका थिए।
आजको अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकमा चन्द्रशेखर अधिकारीले लेखेका छन् ।



प्रतिक्रिया दिनुहोस्