Logo

ल्हासा–काठमाडौं उडान बन्द



काठमाडौं, कात्तिक २५ । सरकारले नेपाल भ्रमण वर्ष सन् २०२०लाई लक्षित गर्दै नेपाल उडान भर्ने विदेशी हवाई सेवा प्रदायक कम्पनी र मुलुकको संख्या बढाउने कूटनीतिक पहल गरिरहेका बेला चीनको ल्हासा हुँदै आएको उडान रोकिएको छ।
गत महिना चिनियाँ राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमणमा नेपाल आउने सो मुलुकका पर्यटकको संख्या बढाउने द्विपक्षीय छलफल भएको चर्चा सेलाउन नपाउँदै चिनियाँ राष्ट्रिय ध्वजावाहक एयरलाइन्सले ल्हासा–काठमाडौं उडान रोकेको हो। चिनियाँ राष्ट्रिय ध्वजावाहक सो एयरलाइन्सले यही कात्तिक १० ९गत अक्टोबर २७ तारिख० गतेदेखि नेपालतर्फको सेवा स्थगित गरेको हो।
ल्हासाबाट हुने एक मात्र अन्तर्राष्ट्रिय उडान नेपालसँगको मात्रै छ। ल्हासा नेपाल–चीनबीचको सामाजिक, सांस्कृतिक र व्यापारिक सम्बन्ध जोडिएको पुरानो गन्तव्यसमेत हो। भ्रमण वर्षको पूर्वसन्ध्यामा एयर चाइनाले यो रुटमा उडान स्थगित गरेसँगै नेपाल हुँदै तिब्बत जाने तेस्रो मुलुकका पर्यटक र चीन हुँदै नेपाल आउने यात्रुलाई प्रत्यक्ष असर पर्छ।
काठमाडौं–ल्हासा नेपाल–चीनबीचको पहिलो हवाई रुट पनि हो। एयर चाइनाले चीनको छेन्दु–ल्हासा, ल्हासा–काठमाडौं रुटमा साताको सातै दिन उडान भर्दै आएको थियो। ल्हासा–काठमाडौंको हवाई दूरी डेढ घण्टा हाराहारीको हो। एयर चाइनाले अफ सिजनको कारण देखाउँदै नेपालसँगको सेवा स्थगित गर्न चाहेको अन्य ट्राभल सञ्चालक बताउँछन्।
सर्वोच्च शिखर सगरमाथा आसपासको हवाई रुट एयर चाइनाले मात्रै प्रयोग गर्दै आएको छ। चीनबाट एयर चाइना, सिचुवान, तिब्बत एयरलाइन्स, चाइना इस्र्टन र चाइना साउर्दनले नेपाल उडान भर्दै आएका छन्।
सरकारले भूकम्पपश्चात नेपाल आउने चिनियाँ पर्यटकको संख्या बढाउन सन् २०१६ जनवरी १ तारिखदेखि प्रवेशाज्ञा ९भिषा शुल्क० मिनाह गरेपछि नेपालमा उडान र चिनियाँ पर्यटकको संख्या बढेको छ।
त्यसपश्चात चिनियाँ हवाई सेवा प्रदायक कम्पनीको नेपाल उडान थपिएको हो। तर अपेक्षा गरेअनुसार खर्च गर्ने पर्यटकको संख्यामा सुधार आउन नसकेको सरकारी अधिकारी बताउँछन्। नेपाल र चिनियाँ व्यवसायीको साझेदारीमा सञ्चालित हिमालयन एयरलाइन्सले यही कात्तिक १०देखि काठमाडौं–बेइजिङ सिधा उडान शुरू गरेको छ। नेपाली राष्ट्रिय ध्वजावहाक नेपाल एयर लाइन्सले चीनका विभिन्न गन्तव्यमा उडान प्रस्ताव गरेकोमा ल्हासाले पनि माग गरेको छ।
आजको नेपाल समाचारपत्र राष्ट्रिय दैनिकमा टीका बन्धनको समाचार छ ।



प्रतिक्रिया दिनुहोस्