Logo

हिन्दूराष्ट्र पूनःस्थापनाको लागि राप्रपा (संयुक्त) ले कार्तिक २८ गतेदेखि मंसिर ४ गतेसम्म धार्मिक जागरण यात्रा गर्ने



‘ओली सरकारले सम्पूर्ण मौका खेर फाल्यो’ : अध्यक्ष ज.ब.रा.
काठमाडौं, २५ कात्तिक । नेपाललाई हिन्दूराष्ट्र बनाउने उद्देश्यसहित राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले यही कार्तिक २८ गतेबाट मंसिर ४ गतेसम्म धार्मिक जागरण यात्रा गर्ने भएको छ ।

सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उक्त पार्टीले सो जानकारी गराएको हो । पार्टीका अध्यक्षद्धय डा. प्रकाशचन्द्र लोहनी र पशुपति शम्शेर ज.ब.रा.को संयुक्त नाममा जारी विज्ञप्तीमा भनिएको छ,‘सबै धर्मबीच समानता, पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्म सापेक्ष हिन्दू राष्ट्र नेपाल र नेपाली हुनुको आधारशीला हो । यसै मान्यता शिरोधार्य गरी राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले आगामी कार्तिक २८ गतेबाट मंसिर ४ गतेसम्म धार्मिक जागरण यात्रा सम्पन्न गर्नेछ ।’

पार्टीले दिएको जानकारीअनुसार माता सीताको जन्मभुी जनकपुरधामबाट माता सीताको समाधिस्थल चितवनको वाल्मिकी आश्रम हुँदै भगवान बुद्धको जन्मस्थल लुम्बिनी पुगेर जनकपुर–लुम्बिनी धार्मिक यात्रा सम्पन्न हुनेछ । विज्ञप्तीमा थप भनिएको छ,‘यो रथ यात्रालाई सार्थक र उपलब्धीमूलक बनाउन व्यापक जनसहभागिताको आवश्यकत्ता पर्दछ नै । यस सन्दर्भमा मुलूकलाई हिन्दूराष्ट्र कायम गर्ने यस अभियानमा सम्पूर्ण नेपाली जनताको साथ, सहयोग र समर्थनको लागि हामी अपिल गर्दछौं ।’

नेपालको मौलिक धर्म, परम्परा, सांस्कृतिक सम्पदा र संस्थाको संरक्षण एवं निरन्रता आजको आवश्यकत्ता भएको पनि राप्रपा (संयुक्त) को भनाई छ । विज्ञप्तीमा थप भनिएको छ,‘गौरवशाली इतिहासको पदचिन्हमा संविधान प्रदत्त अधिकारको प्रयोगलाई समयको माग र जनचाहनाअनुसार उपलब्धीमूलक तुल्याउने हाम्रो ध्येय हो । जनताको राय बिना लादिएको धर्म निरपेक्षता हाम्रो मूलुक, देश काल परिस्थिति अनुकुल छैन् । अतः नेपाललाई संविधानमै सर्वधर्म समभावसहितको सनातन हिन्दूराष्ट्र उल्लेख गर्ने लक्ष्य अवलम्बन गरेको यस पवित्र अभियानमा ९४ प्रतिशत ॐकार परिवार लगायतमा आम नेपालीलाई सहयोग, सद्भाव र सक्रिय सहभागिताका लागि पुनः राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) हार्दिक आह्वान गर्दछ ।’

कार्यक्रममा बोल्दै अध्यक्ष पशुपति शम्शेर ज.ब.रा.ले नेपाली जनताको चाहनाविपरित नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाईएकोमा आफूहरुको सुरुदेखि नै आपत्ति रहेको बताए । उनले भने,‘यो एजेण्डा जनतालाई सोधेर लादिएको होईन् । बिना छलफल र बिना जनअनुमोदन यो मुलुकलाई धर्मनिरपेक्ष राष्ट्र बनाईयो, यो अपराध हो ।’ उनले नेपाललाई संविधानतः हिन्दूराष्ट्र नबनाएसम्म आफूहरुको अभियान आन्दोलन, संघर्ष र अभियान जारी रहनेपनि विश्वास दिलाए ।

नेपाल विश्वमै एक्लो हिन्दूराष्ट्र भएको गौरवशाली ईतिहास सुनाउँदै आफूहरु नेपाललाई हिन्दूराष्ट्र बनाएरै छोड्ने अभियानमा लागेको सुनाए । उनले भने,‘नेपाल हिन्दूराष्ट्र भए विश्भरिका धार्मिक पर्यटकहरु नेपाल आउँछन् । यहाँको पर्यटनको ठूलो विकास हुन्छ । यसतर्फपनि सबैले ध्यान दिनुपर्छ । उनले नेपाल हिन्दूराष्ट्र भए भारत र चीन दुवैको सुरक्षा चासो पनि सन्तुलित हुने विश्वास दिलाए ।

फरक प्रसँगमा उनले वर्तमान सरकार गठन भएको २० महिना बितिसक्दापनि सरकारले आफ्नो सुनौलो मौका खेर फालेको आरोप लगाए । उनले भने,‘यो दुई तिहाई बहुमतको साम्यवादी सरकार गठन भएको एक वर्ष ८ महिना भैसक्यो, तर यो सरकारले सम्पूर्ण मौका खेर फाल्यो । यो अवधिमा सरकारको तर्फबाट खास केही काम भएको छैन् ।’

सरकारले आफू सर्वहाराहरुको प्रतिनिधित्व भनेपनि यथार्थमा त्यस्तो नभएको पनि उनको टिप्पणी छ । उनले सरकारबाट विकाससम्बन्धी ठोस केही पनि काम नभएको जिकिर गरे । उनले भने,‘सरकारले जनहितमा केही पनि काम गर्न सकेन् । सरकारले बास्तवमा अनहोनी मौका पुरै खेर फालेको छ ।’

अध्यक्ष ज.ब.रा.ले कालापानी, लिपुलेक नेपालकै भू–भाग भएको सुनाए । १९६२ मा भारत र चीनबीच युद्ध हुँदादेखि नै लिपुलेकमा भारतीय चेक पोष्ट बसेको र यसबारेमा यसअघिका कुनैपनि सरकारले कुरा उठान नसकेको उनको गुनासो छ । उनले भने,‘यो सरकारले कनी कनी कुरा उठाएको छ । तर, मलाई विश्वास छैन कि यो सरकारले पनि यो मामिलालाई पार लगाउला जस्तो लाग्दैन् ।’

प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा हालै बालुवाटारमा बसेको सर्वपक्षीय बैठकमा राष्ट्रिय सहमति बनेको सुनाउँदै सरकारले आफ्नो कुटनीतिक कौशल प्रदर्शन गरेर सीमा विवादको समाधानको काम पार लगाउनुपर्ने अध्यक्ष ज.ब.रा.को भनाई छ ।

कार्यक्रममा बोल्दै अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले आफ्नो पार्टीले सुरु गर्न लागेको धार्मिक यात्रा नेपालको पहिचान कायम गर्नको लागि हुने बताए । नेपाललाई हिन्दूराष्ट्र बनाउको लागि संविधानलाई संशोधन गरिनुपर्नेपनि आफूहरुको माग रहेको उनले सुनाए ।

लोहनीले आफूहरुले अघि सारेको माग पूरा नभएसम्म अभियान जारी रहने पनि विश्वास दिलाए। संविधान जारी गर्नुपुर्व सांसदहरुमार्फत गरिएको २ लाख प्रश्नावलीसहितको हस्ताक्षर अहिलेसम्म सरकारले किन सार्वजनिक नगरेको भन्दै उनले प्रश्न गरे । उनले भने,‘विदेशीहरुको स्वार्थबाट प्रेरित भएर नेपालको मौलिक पहिचान मेटाउने काम भयो । हाम्रो पार्टी सशक्त भएर हिन्दूराष्ट्र पूनःस्थापनाको लागि निरन्तर संघर्षमा रहन्छ ।’

लोहनीले लिपुलेक र कालापानी क्षेत्र नेपालकै भूभाग भएको सुनाउँदै सरकारले भारतसँग मित्रतापूर्वक कुटनीतिक पहल गर्दै समस्याको समाधान गर्नुपर्ने सुझाव पनि दिए । उनले १८२६ देखिका प्रमाणहरु पेश गर्दै भारतसँग नेपालले कुरा गर्नुपर्ने पनि धारणा राखे ।



प्रतिक्रिया दिनुहोस्