Logo

पत्रकार लम्साललाई ज्यान मार्ने धम्की



काठमाडौं, २५ कात्तिक । योहो टेलिभिजनका समाचार प्रमुख तथा नेपाल प्रेस युनियनका सल्लाहकार शिव लम्साललाई समाचारको विषयलाई लिएर ज्यान मार्ने धम्की आएको छ । उनलाई ब्लुकर्स हस्पिटल त्रिपुरेश्वरका प्रवन्ध निर्देशक रजत श्रेष्ठले समाचार प्रशारण गरेको विषयलाई लिएर धम्की दिएका हुन् ।

ब्लुक्रस हस्पिटलमा उपचाररत एक बिरामीको उपचारका क्रममा मृत्यु भएपछि आन्दोलनमा उत्रिएका बिरामीका आफन्त तथा हस्पिटलको उपचार प्रक्रियालाई लिएर टेलिभिजनमा कार्यक्रम प्रस्तुत गरिएको विषयलाई लिएर लम्साललाई त्यस्तो धम्की आएको हो । समाचार प्रशारण गरेकै आधारमा पत्रकार लम्साललाई ज्यानमार्नेसम्मको धम्की आएपछि नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियनले विज्ञप्ति जारी गरेका छन् ।

लम्साललाई आएको धम्कीलाई लिएर युनियनका महासचिव अजयबाबु सिवाकोटीले निकालेको विज्ञप्तिमा भनिएको छ– ‘समाचारका विषयमा असहमति रहे विधि र प्रक्रिया हुँदाहुँदै अस्पतालको गहन जिम्मेवारीमा रहेका रजत श्रेष्ठ सञ्चारकर्मीलाई धम्क्याउन उद्धत हुनुले उनी अस्पतालको कमजोरीलाई समेत प्रदर्शन गरेको छ’ । त्यसैगरी नेपाल पत्रकार महासंघ महासचिव रमेश विष्टले निकालेको विज्ञप्तिमा भनिएको छ– ‘नेपाल पत्रकार महासंघका सभासद् तथा योहो टेलिभिजनका समाचार प्रमुख शिव लम्साललाई टेलिभिजनमा प्रसारित समाचारको विषयलाई लिएर ब्लुक्रस अस्पतालका रजत श्रेष्ठले भौतिक कारबाहीको धम्की दिएको घटनाप्रति पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।’

काठमाडौं त्रिपुरेश्वरस्थिति ब्लुक्रस अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि कात्तिक १६ गते योहो टेलिभिजनले रिपोर्ट प्रसारण प्रशारण गरेपछि सदस्य सचिव श्रेष्ठले लम्साललाई ५/७ दिनदेखि सामाजिक सञ्जाल फेसबुकमा गालीगलौजको मेसेज पठाउनुका साथै फोन गरेर मारिदिने धम्कीसमेत दिएको उनले बताए । प्रकाशित प्रसारित समाचारमा चित्त नबुझे या गुनासो रहे त्यसको उपचार वैधानिक विधिबाट हुँदाहुँदै पत्रकारलाई भौतिक कारबाहीको धम्की दिनु प्रेस स्वतन्त्रता विरोधी काम हो । महासंघ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित पार्ने यस्ता धम्कीको घोर निन्दा गर्दछ । र, धम्की दिने श्रेष्ठमाथि तत्काल कानुनी कारबाही गरी प्रेस स्वतन्त्रताको सम्मान गर्न एवं स्वतन्त्र र सुरक्षित पत्रकारिताको प्रत्याभूतिका लागि सरकारसँग जोडदार माग गर्दछ ।



प्रतिक्रिया दिनुहोस्