Logo

विष्णु पौडेल र सुरेन्द्र पाण्डे मन्त्री बन्दै



काठमाडौं, २५ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मंसिर १४ गते हुने उपनिर्वाचन अगावै मन्त्रीहरु हटाउने र नयाँ मन्त्रिमण्डल बनाउने तयारी गरेका छन् । प्रधानमन्त्रीनिकट उच्च स्रोतले दिएको जानकारीअनुसार मंसिर पहिलो हप्ताभित्रै प्रधानमन्त्रीले अहिलेका सबै मन्त्रीहरुलाई जिम्मेवारीबाट हटाउने अन्तिम तयारी गरिसकेका छन् । यसको लागि ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालसँग लगातार छलफल गरेर सहमति गरिसकेका छन् ।

अहिलेका मन्त्रीहरुको कार्यशैलीबाट सरकार आलोचित बन्दै आएको बारेमा नेकपाकै शीर्ष नेताहरुले आलोचना गर्दै आएका छन् । तर, अध्यक्षद्धय ओली र दाहाल भने तत्काल मन्त्रिमण्डल पूनर्गठन गर्ने निश्कर्षमा पुगेका थिएनन् । पछिल्लो समय ओली नयाँ ढंगबाट जाने निश्कर्षमा पुगेसँगै सो तयारी गरेका छन् ।

नयाँ मन्त्रिमण्डलमा को को सहभागी हुनेछन् ? त्यो त अहिले नै एकिनका साथ भन्न सकिने अवस्था छैन् । तर, बालुवाटार स्रोतले दिएको जानकारीअनुसार यसपटक ओलीले युवा नेता महेश बस्नेतदेखि पार्टीका महासचिव विष्णु पौडेललाईसमेतलाई महत्वपूर्ण मन्त्रालयको नेतृत्वको लागि जिम्मेवारी दिने तयारी गरेका छन् ।

बस्नेत र पौडेल ओलीका विश्वासिला नेता हुन् । उता, अर्का नेता माधव कुमार नेपालको तर्फबाट सुरेन्द्र पाण्डेलाई पनि मन्त्री बनाउने ओलीको तयारी छ । यसकोलागि अर्का अध्यक्ष दाहालले पनि सहमति जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्