Logo

यस्तो हो नेपालको खास नक्सा



काठमाडौं २६ कार्तिक । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले सरकारलाई लिम्पियाधुरासम्म समेटेर नक्सा बनाउन सोमबार निर्देशन दिएको छ। कस्तो हुन्छ त त्यो नक्सा ?

नापी विभागले तीन वर्षअघि त्यो नक्सा बनाइसकेको छ (हेर्नुहोस् नक्सा)। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायको नेतृत्वमा बनाइएको समितिले पूर्ण नक्सासहितको प्रतिवेदन सरकारलाई बुझाएको थियो। त्यो सार्वजनिक नगरी थन्क्याइएको छ।

नेपालको पश्चिम सीमा लिम्पियाधुरा ३३५ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको छ। कालापानी र लिपुलेकको क्षेत्रफल ६२ वर्ग किलोमिटर छ। लिम्पियाधुरामा तीनवटा गाउँ छन्। कुटी, नावी र गुन्जी, जुन ठाउँ अहिले नेपालको नक्सामा गायब छन्।

काली नदीको मुहान् लिम्पियाधुरा हो। त्यहाँ नेपाल र भारतको सिमाना छुट्याउने महाकाली नदीको सबैभन्दा ठूलो जलाधार छ। काली नदीको मार्गमा पार्वती कुण्ड पर्छ। पार्वती कुण्डको माथिदेखि छोटा कैलाश छ। पार्वती कुण्डमा काली पानी मिसिन्छ। त्यहीं काली मन्दिर पनि छ। काली नदीलाई स्थानीयमा कुटी याङ्दी भनिन्छ। त्यहाँ सौका समुदायको बसोबास छ।

यस्तो हो नेपालको खास नक्सासुगौली सन्धिअघि नेपालको सिमाना पूर्वमा टिस्टा र पश्चिम काँगडासम्म थियो। सन्धिपछि नेपालको दुईतिहाइ भूमि गुमेको छ। सुगौली सन्धिमा कालीपारि नेपालले दाबी गर्ने छैन भन्ने उल्लेख छ। सुगौली सन्धिको बुँदा ५ मा ‘नेपालका श्री ५ महाराजाधिराज मौसुफ स्वयंका लागि, मौसुफका उत्तराधिकारी वा वारिसका लागि काली नदीको पश्चिममा पर्ने देशसित सम्बन्ध र सम्पूर्ण दाबी परित्याग गरिबक्सन्छ र ती देश वा तिनका बासिन्दासित कहिल्यै कुनै चासो मौसुफबाट राखिबक्सने छैन,’ उल्लेख छ।

तर भारत लामो समयदेखि कालीवारि आएको छ। उसले लिम्पियाधुराबाट करिब ३० किलोमिटरपूर्व भारतीय सीमा सुरक्षा फौज राखेको छ। कालापानीभन्दा ३० किलोमिटर पश्चिमसम्म लिम्पियाधुरा छ। लिम्पियाधुरा मात्र होइन, कालापानी र लिपुलेक पनि भारतीय कब्जामा छ। कालापानीदेखि लिम्पियाधुरासम्मका तीन गाउँ कुटी, नाबी र गुञ्जीको जनगणना, मालपोत अभिलेख तथा अन्य ऐतिहासिक प्रामाण र दस्तावेजले नेपाल भएको पुष्टि गर्छ।

नेपाल सरकारले २००९ मा पूर्वाञ्चल र २०११ मा पश्चिमाञ्चलमा जनगणना गरेको थियो। त्यतिबेला हालको दार्चुला (तत्कालीन बैतडी) जिल्लाअन्तर्गत थियो। तत्कालीन ब्यास गर्खा (दरा) मा ६ गाउँ थिए। २०११ को जनगणनाले ब्यास गर्खाका ६ गाउँको घरधुरी संख्या चार सय ३४ तथा कुल जनसंख्या एक सय आठ सय १६ देखाएको छ। अन्नपूर्णपोष्टबाट



प्रतिक्रिया दिनुहोस्