Logo

सरकारबाट बाहिरिने तयारी गर्दै समाजवादी, पर्खदै राजपा



काठमाण्डौ । सत्ता साझेदारी दल समाजवादी पार्टीले सरकारबाट बाहिरिने तयारी गरेको छ । पार्टीभित्र सरकारमा जाँदा गरेको सर्त पुरा नगरेको कारण सरकारमा बस्नुको औचित्य नभएको भन्दै सरकारबाट बाहिरिएर सडक सर्घषमा जानुपर्ने धेरै नेताहरु त्यसको पक्षमा छन ।

अर्को तिर राष्ट्रिय जनता पार्टी राजपासँग पार्टी एकताको लागि पनि समाजवादीलाई सरकारबाट बाहिरिन दवाव परेको छ । समाजवादी पार्टीले यही कात्तिक २७–२८ मा बस्ने पार्टीको संघीय परिषद् बैठकले सरकारबाट बाहिरिने निर्णय गर्ने सम्भावना बढेको छ ।

सरकारबाट बाहिरिनुपर्छ भन्ने पक्षमा अध्यक्ष डा. बाबुराम भट्टराई, बरिष्ठ नेता अशोक राइ, महासचिव गंगा श्रेष्ठ, नवराज सुवेदी लगायतका नेताहरु छन् । सरकारमा बसेर आलोचित हुनुभन्दा राजपासँग एकता गरेर बलियो बैकल्पिक शक्ति बन्नुपर्नेमा नेताहरुले जोड दिदै गएका छन् ।

अध्यक्ष भट्टराई त सरकारका सबै अपजसको भारी बोक्न नहुने भन्दै सरकारलाई भन्दा राजपासँगको एकीकरणको विषयलाई प्राथमिकता दिनुपर्ने धारणा यसअघिको बैठकमा राख्दै आएका छन् । राजपासँग एकीकरणपछि एकता महाधिवेशन गर्ने र संविधान संशोधनलगायतका राजनीतिक मुद्दा लिएर सडकमा संघर्षमा जानुपर्ने भट्टराई पक्षधरको मत छ । राजपाले पनि पार्टी एकताको लागि समाजवादीलाई सरकारबाट बाहिरिनुपर्ने दवाव दिइरहेको छ । समाजवादीसँग एकता गर्नकै लागि भनेर राजपाले महाधिवेशनसमेत स्थगित गर्दै आएको छ ।

संविधान संशोधनमा चासो नदिएको भन्दै समाजवादी र राजपा दुवै दल सरकारप्रति असन्तुष्ट छन् । राजपाले त सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । संविधान संशोधन हुने आस गर्दै समाजवादी भने सरकारमै छ । तत्कालीन नयाँ शक्ति पार्टीसँग एकीकरणपछि बनेको समाजवादीले पनि एकता महाधिवेशनको प्रक्रिया अघि बढाएको छैन ।

उता प्रधानमन्त्री केपी शर्मा ओलीले पनि उनीहरुको माग तत्काल सम्बोधन गर्ने अवस्था देखिदैन । समाजवार्दी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव उपप्रधानसहित स्वास्थ्य तथा जनसंख्या मन्त्री छन् । त्यसैले सरकारबाट बाहिरिन यादव नै मानिरहेका छैनन् । समाजवादी सरकारमा कहिलेसम्म बस्ला ? राजपासँगको एकता के होला ? अनि संविधान संशोधनको मुद्धा कसरी अगाडि बढ्ला ? यि विषय नै अहिलेको मुख्य चासोमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्