Logo

विद्यासुन्दर शाक्य र १०१ प्रतिबद्वता !



काठमाण्डौ । देशकै सबैभन्दा धेरै जनसंख्या भएको महानगरपालिका हो काठमाण्डौ । अस्तव्यस्त सहरको रुपमा परिचित काठमाण्डौलाई सफा र सुन्दर बनाउने योजना र भाषण धेरै सुनियो । तर काठमाण्डौको मुहार जस्ताको तस्तै छ । मेयरमा चुनाव जित्नुअघि उम्मेदवारको रुपमा निकै ठूला भाषण गरेका विद्यासुन्दर शाक्य पनि असफल जस्तै भएका छन् ।

मौसमी अनुकूलता र संभावना भएको काठमाडौंका थुप्रै नकारात्मक पाटा पनि छन् । यहाँ धुवाँधुलो, प्रदुषण अनि हिलो पनि । उपत्यकामा अभावै अभाव पनि छ । तिनै समस्या र अभाव हटाएर सहरलाई स्मार्ट बनाउँछु भन्ने विद्यासुन्दर शाक्य चुनाव जितेर काठमाण्डौ महानगरको मेयर बनेको पनि २ वर्ष नाघेको छ । तर चुनावअघि व्यक्त प्रतिवद्धता पूरा भएका छैनन् । अस्तव्यस्त सहरलाई व्यवस्थित, अझ भनौँ स्मार्ट सिटी नै बनाउँछु भनेर चुनाव लडेका शाक्यले प्रशंसा गर्न लायक काम एउटै गर्न सकेको देखिदैन ।

स्मार्ट सिटीको त कुरै छाडौँ, सडकमा साना खल्डादेखि धुवाँ धुलोसमेत पुरिएको छैन । शाक्यले सय दिनमा गर्ने भन्दै सार्वजनिक गरेका १ सय १ प्रतिबद्धता कागजमै सिमिति छ । शाक्यका १ सय १ प्रतिबद्धतामध्ये ८६ वटा योजनालाई नीति तथा कार्यक्रममा समेटेको थियो । काम भने शुन्य । तर काठमाण्डौ महानगरका प्रवक्ता ईश्वरमान डंगोल भने पर्याप्त काम भएको दावी गर्छन् । डंगोलले जे दावी गरे पनि काठमाण्डौ महानगरभित्र केके सुधार भयो भनेर नागरिके अनुभूति गर्न पाएका छैनन् ।

महानगरमा मोनोरेल संचालन गर्ने विषयले निकै चर्चा पायो । धुवाँ धुलो हटाएर माक्स नै लगाउन नपर्ने वातावरण सृजना गर्ने भनिएको थियो । सोलार बत्ती जडान गरेर सार्वजनिक ठाउँमा २४ सै घण्टा उज्याले दिने भनिएको थियो । दैनिक लाखौँले भोग्दै आएको सवारी साधनको समस्या समाधानका लागि ठूला र सुविधानजनक बस संचालन गर्ने भनिएको थियो । भ्रष्टाचार अन्त्यदेखि निःशुल्क इन्टरनेट सेवा प्रदान गर्ने आश्वासन दिइएको थियो । खेर गइरहेको फोहोरबाट विजुली निकाल्नेसमेत योजना थियो । तर यि सबै योजना असफल भएका छन् । तर महानगरका प्रवक्ता डंगोल भने तीब्र गतिमा काम भइरहेको दावी गर्छन् ।

संघीय राजधानी काठमाण्डौ देशकै सबैभन्दा बढि जनघनत्व भएको सहर हो । यहाँ देशभरका नागरिक स्थायी वा अस्थायी रुपमा बसोबास गर्दै आएका छन् । यकिन तथ्याङ्क नभए पनि उपत्यकामा करिब ५० लाख मानिस बसोबास भएको अनुमान गरिन्छ । देशकै मुख्य प्रशासनीक भवन सिंहदरबार, संसद भवनलगायत मुख्य कार्यालय महानगरभित्रै छन् । त्यसैले यहाँ दैनिक लाखौँ नागरिकको दौडधुप हुन्छ । तर यही सहर अस्तव्यस्त छ ।



प्रतिक्रिया दिनुहोस्