Logo

अख्तियार आयुक्तमा गृहसचिव राई र अर्थसचिव खनालबीच प्रतिष्पर्धा



अख्तियार दुरुपयोग अनुसन्धान आयोगको रिक्त दुई आयुक्त पदका लागि गृहसचिव प्रेमकुमार राई र अर्थसचिव राजन खनालबीच प्रतिष्पर्धा चलेको छ । केही महिनापछि अवकाश पाउन लागेका दुवै सचिवमध्ये एकजनालाई नेकपाले अख्तियारको आयुक्त बनाउने निश्चितप्रायः भएको छ ।

अख्तियारमा रिक्त दुई पदका लागि नेपाली काँग्रेसलाई एक पद दिनुपर्ने अवस्था बनेकाले राई र खनालमध्ये एकमात्र आयुक्त बन्ने अवस्था बनेको हो । राईले अख्तियारमा जाने इच्छा देखाएको बुझिएको छ । उनलाई आयुक्त बनाउन पक्षमा प्रधानमन्त्री केपी शर्मा ओली समेत रहेका छन् । नेकपाले काँग्रेस सभापति शेरबहादुर देउवालाई मनाउन सके खनाल पनि आयुक्त बन्ने सम्भावना रहेको छ ।

काँग्रेसले अख्तियारमा एक आयुक्त नछाड्ने अडान लिएको छ । संवैधानिक आयोगको नियुक्तिमा प्रमुख प्रतिपक्षी दलका नेता समेतको सहमति आवश्यक पर्ने हुँदा अख्तियारको एक पद छाड्नुपर्ने दबाब नेकपालाई परेको छ । काँग्रेसलाई एक आयुक्त सिफारिश गर्न दिनेबारे प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष प्रचण्ड समेत सहमत भइसकेको बुझिएको छ ।

अख्तियारको नियुक्तिसँगै सत्यनिरुपण र मेलमिलाप आयोगमा समेत नियुक्ति हुने भएको छ । विभिन्न आयोगहरुमा नियुक्ति अगाडि बढाउने सहमतिसँगै दौडधुप चलिसकेको छ ।



प्रतिक्रिया दिनुहोस्