Logo

स्वास्थ्य बिमा कार्यक्रम किन हुँदैछ असफल ?



काठमाण्डौ । नेपालको स्वास्थ्य सेवा सबै जनताको पहुँचमा छैन । उपचार महङ्गो पनि छ । यही समस्यालाई समाधान गर्न सरकारले स्वास्थ्यबीमा कार्यक्रम ल्याएको थियो । तर यो कार्यक्रम प्रभावकारी बनाउने भने सरकार असफल भएको छ । न स्थास्थ्य बीमामा नागरिकको आकर्षण देखियो, न सरकारी स्वास्थ्य संस्थामा आवश्यक उपरकरण, न पर्याप्त जनशक्ति ।

कैलालीबाट सुरु गरिएको स्वास्थ्य बीमा कार्यक्रम अहिलेसम्म ४९ जिल्लामा सुरु भइसकेको छ । तर स्वास्थ्य बीमा कार्यक्रममा नागरिकको सहभागीता भने उत्साहजनक देखिएको छैन । चालु वर्षसम्म ७७ वटै जिल्लामा बीमा कार्यक्रम लागु गर्ने सरकारको योजना छ । तर स्वास्थ्य बीमा बोर्डकै तथ्याङकलाई हेर्ने हो भने उद्देश्यअनुसार बीमाको कार्यक्रम सफल हुन सकेको पाइँदैन ।

वि.सं. २०७२ चैत २५ गतेदेखि नेपाल सरकारले स्वास्थ्य बीमाको कार्यक्रम लागु गरेको थियो । तर ३ बर्ष अगाडि लागु गरेको स्वास्थ्य विमा कार्यक्रममा नगारिकको सहभागिता भने उत्साहजनक देखिदैन्न । सुरुवातमा ३ जिल्ला कैलाली, बाग्लुङ र इलाम बाट सुरु गरिएको कार्यक्रम यसै आर्थिक बर्ष सम्म आइपुग्दा ४९ जिल्लामा विस्तार गरिएको छ । तर बीमा कार्यक्रममा सहभागि नागरिकको सङख्या भने निकै न्यून छ ।

सबै स्थानियतहमा स्वास्थ्य संस्था निर्माण गर्ने भने पनि निर्माण नहुनु, दरबन्दि अनुसार चिकित्सक नहुनु, विभिन्न उपकरण नहुनु जस्ता समस्याले गर्दा लक्ष्य पूरा नभएको स्वास्थ्य बीमा बोर्डका उपसचिव कृष्ण आचार्य बताउँछन् ।

जिल्लागत रुपमा पाल्पामा स्वास्थ्य बीमा गराउनेको संख्या बढि देखिएको छ भने प्रदेशगत रुपमा २ नम्बरमा सबैभन्दा कम नागरिकले बीमा गराएका छन् । बोर्डका अनुसार ५ जनासम्मको परिवारले स्वास्थ्य बीमा गर्दा वर्षमा ३५ सय रुपैयाँ तिर्नुपर्छ । ५ जनाभन्दा बढी सदस्य भएको परिवारले प्रतिव्यक्ति ७ सय रुपैयाँ थप तिर्नुपर्ने हुन्छ । बीमा गरेका ५ सदस्य परिवारले एक वर्षमा बढीमा एक लाख र त्यो भन्दा धेरै अथवा १० सदस्य भएका परिवारले दुई लाख बराबरको स्वास्थ्य सेवा पाउँने आचार्यले जानकारी दिए ।

कार्यक्रम राम्रै भए पनि सरकारले जनतमाझ यसको लोकप्रियता बढाउन सकेको छैन । अहिलेसम्म बीमा कार्यक्रममा २२ लाख ३२ हजार ६ सय ६४ जना नागरिकले सहभागीता जनाएका छन् । जसअन्तर्गत पुरुष १० लाख ६१ हजार ६५९ र महिला ११ लाख ७० हजार ७६५ जना रहेका छन् । त्यस्तै ८ लाख १५ हजार ११६ घरपरिवारले सहभागी जनाएको छ । जसमध्ये ७ लाख ८५ हजार ६ सय २९ जना लाभाम्वीत भएको बोर्डको तथ्याङक छ ।



प्रतिक्रिया दिनुहोस्