Logo

मन्त्रीपरिषद हेरफेर : के हुँदैछ तयारी



काठमाण्डौ । सरकार गठन भएको २० महिना पछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् पुर्नगठनको तयारी गरेका छन् । । केहीदिन यता ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालसहित शीर्ष नेताहरुसँगको परामर्शलाई तिव्रता दिएका छन् । । सरकारले प्रभाकारी काम गर्न नसकेको भनेर निरन्तर आलोचना भइरहेपछि अब भने केही मन्त्री हेरफेर हुने सम्भावना बढेर गएको छ ।

नेकपाका पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली मन्त्रीपरिषद् गठन भएको १ बर्ष यता मन्त्रीहरुले गर्ने काम कारवाही प्रति असन्तुष्ट व्यक्त गर्दै आएका थिए । प्रधानमन्त्रीले परिणाम आउने गरी काम गर्न आफ्नो मन्त्रिपरिषद्का सदस्यहरूलाई पटक पटक निर्देशन दिए पनि अपेक्षाकृत परिणाम आउन सकेको थिएन ।

गत साउनमा प्रधानमन्त्रीले मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता नै गरेका थिए । तैपनि अपेक्षाकृत परिणाम आउन नसकेपछि प्रधानमन्त्री ओली मन्त्रिपरिषद्का सदस्यहरू हेरफेर गर्ने निष्र्कषमा पुगेको बताइएको छ ।

२० महिना हुँदासम्म पनि सरकारको काम प्रभावकारी हुन नसकेको भन्दै सरकारको आलोचना भइरहदां मन्त्रीहरु फेरेर मात्रै सरकारको काम प्रभावकारी हुन्छ भनेर सोच्नु गलत हुने विश्लेषकहरुको भनाई छ । प्रधानमन्त्रीले मन्त्रीहरु फेर्नु आफ्नो अधिकारको कुरा भएपनि नेता, कार्यकर्ता पोस्नु बाहेक केही नहुने राजनीतिक विश्लेषक पुरञ्जन आचार्य बताउँछन् ।

मन्त्रीको काम प्रभावकारी नदेखिएको भनिए पनि विश्लेषकहरुले भने व्यक्तिभन्दा पनि काम गर्ने पद्धति मुख्य समस्या रहेको बताएका छन् । मन्त्री र सचिवबीचको सहकार्य नै महत्वपूर्ण हुने विश्लेषक आचार्य बताउँछन् । मन्त्री परिषद् पुर्नगठन हुने भएपछि नेकपाभित्र मन्त्री हुने नेताहरुको नामबारे चर्चा सुरु भइसकेको छ ।

कम्तीमा पनि ६ जना मन्त्रीहरु फेरिदा प्रभावशाली नेताहरु जो यसअघि पनि मन्त्री भइसकेका नेताहरु छन भने केही नयां अनुहार पनि छन । यसपटकको पुनर्गठनमा सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, देवेन्द्र पौडेल र जनार्दन शर्मा, मन्त्री सम्भावना बढि देखिन्छ । छविलाल विश्वकर्मा, अग्निप्रसाद सापकोटा, पम्फा भुसाल, कृष्णगोपाल श्रेष्ठ, रामेश्वर यादव, प्रेमबहादुर आले, किसान श्रेष्ठ, यज्ञराज सुनुवार र पार्वत गुरुङ र बसन्त नेम्वाङ पनि मन्त्री बन्न लालयित छन् । चर्चामा आएका नामहरु मध्ये पाण्डे,शर्मा, सापकोटा र भुसाल यसअघि पनि मन्त्री भइसकेका व्यत्तिहरु हुन । धेरैको नाम चर्चामा रहे पनि सिमित व्यक्तिहरुलाई मात्रै मन्त्री बनाउनुपर्ने भएकाले नामको विषयमा पनि नेकपाभित्र वृहत छलफल भइरहेको छ ।

उपप्रधान तथा स्वास्थ्य जनसंख्या मन्त्री उपेन्द्र यादवलाई हटाउने मनस्थितीमा ओली पुगेको पनि कतिपयको टिप्पणी छ । तर उपेन्द्रलाई हटाउँदा समाजवादी पार्टी नेपालको समर्थन पनि फिर्ता हुने भएकाले यस विषयमा छलफल भइरहेको छ । उता यादव आफैँ पनि सरकारबाट बाहिरिने विषयमा छलफल गरिरहेको बताइन्छ ।



प्रतिक्रिया दिनुहोस्