Logo

अपराध नियन्त्रण गर्न नागरिक आफैँ जागरुक हुनुपर्छ : प्रहरी निरिक्षक गुरुङ



काठमाडौँ । महानगरीय प्रहरी वृत्त कमलपोखरीका प्रहरी निरिक्षक दिनेश गुरुङले समाजमा हुने अपराधजन्य गतिविधि नियन्त्रण गर्न नागरिक आफैँ जागरुक हुनुपर्ने बताएका छन् । बुधबार महानगरीय प्रहरी वृत्त कमलपोखरीको आयोजना तथा सामुदायिक सेवा केन्द्र कालोपुल र सेन्टजर्ज स्कूलको सहकार्यमा भएको कार्यक्रममा सो कुरा बताएका हुन् ।

उनले समाजमा घटेका घटनाहरु नागरिककै सहयतामा मात्र छिटो पत्ता लगाउन सकिने बताउँदै वक्तृत्वकला प्रतियोगीतामा उठेका सवाललाई सम्बोधन गर्दै प्रहरीको काम कर्तव्य र अधिकारका बारेमा प्रष्ट पारे । हरेक घटनाहरु समाजबाटै उत्पन्न हुने बताउँदै विद्यालयदेखि नै विद्यार्थीहरुलाई शान्ति सुरक्षा र सामाजिक अपराधबारे सचेतनामूलक शिक्षा प्रदान गर्नुपर्ने प्रहरी निरिक्षक गुरुङले बताए ।

त्यस्तै धन्यन्तरी समाजका अध्यक्ष कल्याणध्वज खड्काले सामाजिक अपराध न्यूनिकरणमा शैक्षिक संस्थाहरुको महत्वपूर्ण भूमिका रहेको बताउँदै प्रत्येक संस्थाहरुले समाजसंग जोडिएका विषयवस्तुलाई व्यवहारिक रुपमा समेटदै विद्यार्थीहरुको पठनपाठनमा जोड दिनुपर्ने बताए ।

सोही स्कूलका अध्यक्ष प्रलाद दाहालले विद्यार्थीहरुलाई बोल्ने क्षमताको विकाससंगै समाजप्रतिको धारणा र चासो बढाउन वक्तृत्वकला प्रतियोगीताको आयोजना गरेको बताए । प्रहरी दिवस २०७६ को अवसरको पूर्वसन्ध्यमा ‘अपराध नियन्त्रण र शान्ति सुरक्षा प्रवद्र्धणमा समुदाय र प्रहरीको सहकार्य’ विषयक वक्तृत्वकला प्रतियोगीता आयोजना गरी विद्यार्थीहरुलाई अपराध न्यूनिकरणमा परिवार र आफु स्वंयम् सतर्कता अपनाउन जोड दिएका थिए । प्रतियोगीहरु समाजमा घटेका वर्तमान अपराधहरुको विषयमा आफ्नो धारणा राखेका थिए ।

उक्त प्रतियोगीतामा कक्षा ९ की रेजिना श्रेष्ठ प्रथम, कक्षा ६ की करुणा कार्की दोस्रो, कक्षा ९ कै प्रशान्त दाहाल तेस्रो भएका थिए । १२ जना प्रतियोगीहरुमध्ये उत्कृष्ट ३ जनालाई प्रमाणपत्र वितरण गरिएको थियो । सामुदायिक सेवा केन्द्र कालोपुलका प्रहरी ददिराम ज्ञवालीले सञ्चालन गरेको कार्यक्रममा प्रिन्सिपल मेघराज बजागाई, सामुदायिक सेवा केन्द्रका सचिव शान्तध्वज खड्का, सुनगाभा वाटिका नेपालका अध्यक्ष विना बस्नेत, सामाजिक अभियन्ता लक्ष्माण शर्मा लगायत अतिथि रहेका थिए ।



प्रतिक्रिया दिनुहोस्