Logo

किन ओलीले माधवलाई डाकेर एक्लै भेटे



काठमाडौं, २७ कात्तिक । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसँगको चीसोपन हटाएका छन् । दुई नेताबीच लामो समययताको चीसोपन हटाउन ओली स्वयंले भूमिका खेले ।

ओलीले आफैले सम्पर्क गरी माधवकुमार नेपाललाई बालुवाटारमा बोलाए । बुधबार ब्रेकफास्टसहित दुवै नेताबीच घन्टौं कुराकानी भयो । नेकपा स्रोतका अनुसार नेपालले ओलीको स्वास्थ्यवस्थाबारे गहिरो जानकारी लिएको बुझिएको छ । नेपालले धेरै धपेडी नगर्न सुझाव समेत दिए ।

ओलीले पार्टीको आन्तरिक राजनीति र सरकार संचालनका बारे छलफल गरेको बुझिएको छ । सरकारमा मन्त्रीहरु परिवर्तनबारे समेत दुई नेताबीच छलफल भएको थियो । ओलीले विगतमा नेपाललाई पेलेरै जाने नीति लिएका थिए । जुन प्रदेश प्रमुखहरुको नियुक्तिमा पनि देखियो । यसबारे नेपालले खासै चासो नदेखाएपनि समन्वय गरेर बढ्न सुझाव दिए ।

नेपाल र ओलीबीचको सम्बन्धमा उतारचढाव आउने क्रम चलिनै रहेको थियो । तर, ५ भदौमा सिंगापुर जानु अघि बालुवाटारमा भएको बैठकमा ओली नेपालविरुद्ध कडा रुपमा प्रस्तुत भए । उनले उपचारका लागि जानुअघि नेपालले दिएको गुडविस पनि अस्वीकार गरेको थिए । दुवै नेताबीच भनाभन मात्र भएन ओलीले नेपालमाथि स्वास्थ्यवस्थाबारे गलत प्रचार गराएको र नकारात्मक सोच राखेको आरोप लगाएका थिए ।

ओली ग्रान्डी अस्पतालमा डायलसिस गर्न पुग्दा पार्टीका प्रभावशाली नेताहरु पुग्दा नेपाल पुगेनन् । उनी सोही दिन साँझ आफै विरामी परेर अस्पताल भर्ना भएका थिए ।

विगतमा नेपाल र ओली निकै नजिक थिए । एमाले विभाजन हुँदा नेपाललाई ओलीले साथ दिएका थिए । दुई नेताबीच तत्कालिन एमालेको महाधिवेशनमा अध्यक्षका लागि प्रतिष्पर्धा चलेको थियो । त्यसले सम्बन्ध टकरावमा बदलियो । दुवै नेताले एक अर्कालाई प्रतिष्पर्धीका रुपमा बुझ्न थाले ।

ओली र नेपालबीच विवाद बढेपछि दुवै पक्षका केही नेताहरु लागेर सम्बन्ध सुधार गराउन सक्रिय भएका थिए । उनीहरुले केही सफलता हासिल गरिसकेका छन् । यसले नेकपाभित्रको आन्तरिक राजनीतिमा ठूलो प्रभाव पार्ने विश्लेषण भइरहेको छ । File Photo



प्रतिक्रिया दिनुहोस्