Logo

ओलीको अर्को अस्त्रः माधवलाई नजिक बनाएर प्रचण्डलाई चेक एण्ड ब्यालेन्स



काठमाडौं, २८ कात्तिक । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा बसी बसी देश मात्र होइन पार्टी पनि चार्तुयताका साथ चलाइरहेका छन् । उनी कहिले आफ्ना आन्तरिक प्रतिष्पर्धीसँग जुध्छन् त कहिले मनाएर नजिक ल्याउँछन् ।

कुनैबेला उनी प्रचण्डका कटु आलोचक थिए । प्रचण्डलाई उखान र टुक्का प्रयोग गरी व्यङ्ग्य गर्थे । प्रधानसेनापति प्रकरणमा उनले भनेका थिए, प्रचण्डरुपी बेलुन फुलेको थियो, कटवालरुपी छेस्कोले घोच्दा प्याट्ट फुट्यो । भन्न बाँकी नराख्ने ओलीले प्रचण्डलाई नजिक मात्र ल्याएनन पार्टी एकीकरण गराए । अहिलेपनि प्रचण्डलाई बेला बेलामा दबाब दिन्छन् र असन्तुष्टि भए फेरि नजिक ल्याउँछन् । ओली कहिलेकाहीं यति रुखा हुन्छन् कि बालुवाटारमा भेट्न आएका प्रचण्डलाई समेत घन्टौं कुराइदिन्छन् ।

ओलीले केही महिना अघि वरिष्ठ नेता माधवकुमार नेपाललाई साइजमा ल्याउन कदम चाले । वरियतामा नेपाललाई झलनाथ खनालभन्दा तल राखिदिए । नेपाल जति असन्तुष्ट हुन्छन् उति नै पेल्ने काम गरे । प्रदेश प्रमुखको नियुक्तिमा पनि उनको मान्छे एकजना पारेनन् । यो हदसम्म पेल्दा नेपाल निकै असन्तुष्ट भए । उनले नोट अफ डिसेन्टहरु लेखे । तैपनि, ओलीले कुनै मतलब गरेनन् । माधव नेपालको नजिक भएर काम गरेका ओलीले उनलाई राम्रै बुझेका थिए ।

ओलीले बुधबार अर्को अस्त्र फाले । बोलचाल बन्दको अवस्थाका माधवकुमार नेपाललाई बालुवाटारमा बोलाएर सँगै खाना खाए । पार्टीको आन्तरिक राजनीतिबारे छलफल गरे । प्रचण्डसँग नजिकिइसकेका नेपाललाई आफ्नो नजिक ल्याउन कदम चाले । पार्टीका वरिष्ठ नेतासँगको चीसोपन हटाएका छन् ।
सरकारमा मन्त्रीहरु परिवर्तनबारे ओलीले निर्णय लिने चर्चा भइरहँदा नेपाललाई बालुवाटारमा डाकेर घन्टौं गफिए । उनी फेरि नेपाललाई नजिक ल्याएर प्रचण्डलाई साइजमा ल्याउने अस्त्र प्रयोग गर्दैछन् । कुनैबेला टाढिएका वामदेव गौतमलाई नजिक ल्याए । उनकै सहयोगले पार्टी अध्यक्षमा निर्वाचित भए । पछि वामदेव टाढिए । अहिले वामदेव ओलीको नजिक पुगेका छन् । ओलीको चतुर रणनीतिका कारण उनी शक्तिशाली बनिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्