Logo

उपप्रधानमन्त्री बनाउने ओलीको प्रस्तावमा वामदेवको संविधान संशोधनको त्यो शर्त



काठमाडौं, २८ कात्तिक । नेपाल कम्युनिष्ट पार्टीका प्रभावशाली नेता वामदेव गौतमलाई प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले गृहसहित उपप्रधानमन्त्रीको प्रस्ताव राखेका छन् । गौतमलाई बालुवाटारमा बोलाएर उनले सरकार संचालनमा विशेष भूमिकासहित यो प्रस्ताव राखेपनि गौतमले त्यसमा शर्त तेर्साएको बुझिएको छ ।

ओली उपचारका लागि विदेश जाने सम्भावना रहेकाले कार्यवाहक प्रधानमन्त्रीका रुपमा गौतमलाई ल्याउन खोजेको विश्वस्त स्रोतले रिपोर्टर्स नेपाललाई जानकारी दियो । तर, हक्की स्वभावका गौतमले आफू तीनपटक देशको उपप्रधानमन्त्री भइसकेको भन्दै संविधान संशोधनको शर्त तेर्साएका छन् । विश्वस्त स्रोतका अनुसार गौतमले राष्ट्रियसभा सदस्यले पनि प्रधानमन्त्री बन्ने बाटो खोल्ने गरी संविधान संशोधनको शर्त राखेका हुन् । संविधान बमोजिम प्रधानमन्त्री बन्न प्रतिनिधिसभा सदस्य हुनुपर्ने व्यवस्था छ ।

वामदेवलाई राष्ट्रिय सभा सदस्य बनाएर गृहसहित उपप्रधानमन्त्रीको जिम्मेवारी दिनेगरी प्रधानमन्त्री ओली अगाडि बढ्न खोजेका थिए । स्वास्थ्यवस्थाका कारण धेरै दौडधुप गर्न नमिल्ने भएकाले ओलीले वामदेवलाई सक्रिय बनाएर सरकार संचालन गर्ने रणनीति बनाएको बुझिएको छ । तर, गौतमले भविष्यमा आफू प्रधानमन्त्री बन्ने गरी बाटो खोल्ने शर्त तेर्साएपछि सहमति बन्न सकेको छैन ।

गौतमले प्रतिनिधिसभा सदस्य बनेर सरकारमा सहभागी हुने रणनीति नबनाएका होइनन् । कास्की-२ मा रवीन्द्र अधिकारी दिवंगत भएपछिको खाली सिटमा चुनाव लड्ने प्रयास पनि गरेका थिए । तर, उनले आफू निकटस्थबाट त्यहाँ चुनाव लडे अन्र्तघात हुने सूचना पाएर पछि हटे । गौतमले प्रतिनिधिसभा सदस्य बन्ने भन्दा राष्ट्रिय सभा सदस्य बन्ने र संविधान संशोधनमार्फत् राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री हुने व्यवस्था निर्माण गर्ने पहल गरिरहेका छन् ।

गौतमले सरकारमा सहभागी हुनका लागि संविधान संशोधनको शर्त राखेपनि ओलीबाट जवाफ नआइसकेको बुझिएको छ । संविधान संशोधनमा नजाने हो भने उपप्रधानमन्त्री बन्नेभन्दा कार्यवाहक अध्यक्ष बनेर पार्टीमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने गौतमले शर्त राखेको नेकपा निकट स्रोतले बतायो ।

नेकपाको राजनीतिमा निर्णायक भूमिका खेल्न सक्ने क्षमताका कारण ओली गौतमलाई टाढा राख्ने पक्षमा छैनन् । कुनैबेला प्रचण्डसँग नजिकिएका गौतमलाई आफूसँग नजिक्याउन ओलीले उपाध्यक्ष पदमा ल्याउने प्रक्रिया बढाएका थिए । यसबाहेक दुई नेताबीच सरकार संचालनमा समेत आन्तरिक सहमति बनेको थियो । गौतमको साथपछि ओली नेकपा र सरकारभित्र झन् बलिया भएका थिए ।

संविधान संशोधन गरेर राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने व्यवस्था गर्न खोजेमा नेकपाभित्रैबाट अवरोध हुने सम्भावना उत्तिकै छ । वामदेवका लागि सविधान संशोधन गरेर जान खोजेमा नेकपाका अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपालका लागि मान्य नहुने सम्भावना उत्तिकै बलियो छ । त्यसैले पनि ओली पार्टीका अन्य प्रभावशाली नेताहरुलाई चिढ्याएर अगाडि बढ्ने सम्भावना कम छ । तर, वामदेवप्रति बढी विश्वास गर्दै गएका ओलीले कठोर निर्णय नलेलान् भन्न सकिंदैन ।



प्रतिक्रिया दिनुहोस्