Logo

लिथियम बन्यो बोलिभियामा सत्ता पल्टाउने कारक



बोलिभिया संसारभर सबैभन्दा बढी लथियमको स्रोत भएको देश हो । विश्वको कुल संचित लिथियममध्ये ३० प्रतिशतभन्दा बढी बोलिभियामा छ । लिथियम खानीको धनी देश भएकाले यो भूपरिवेष्ठित मुलुकमा बलिया देशहरुको चासो छ ।

विद्युतीय कारको ब्याट्रिमा लिथियमको प्रयोग हुन्छ । त्यसबाहेक ल्यापटप र विद्युतीय सामाग्रीमा यसको प्रयोग हुनेगर्छ । फरेन पोलिसीका अनुसार सन् २०२५ मा लिथियमको प्रयोग दोब्बर हुँदैछ । यसकारण यसको संसारभर अभाव हुनसक्छ । आपूर्ति घट्दा मूल्य बढ्न जाने आँकलन गरिएको छ ।

बोलिभियाको लिथियममा बहुराष्ट्रिय कम्पनिहरुको चासो छ । यसमा निवर्तमान राष्ट्रपति इभो मोराल्स अवरोध बने । उनले भएका लिथियम उद्दोगहरुलाई पनि राष्ट्रियकरण गर्ने योजना सार्वजनिक गरे । पश्चिमा देशहरुमा निर्यात भइरहेको लिथियमको निर्यात बोलिभिया सरकारको हातमा सिधै ल्याउन खोजे । लिथियम खानीमा चासो दिइरहेका पश्चिमा देशहरुलाई चिढ्याउने कदम चाले । जसका कारण उनको सत्ता डगमगायो ।

पहिलो आदिवासी राष्ट्रपति मोराल्स वामपन्थी थिए । ७० प्रतिशत जनसंख्या आदिवासी भएकाले उनी सत्तामा पुगेका थिए । तर, बहुराष्ट्रिय कम्पनिहरुको स्वार्थबाहिर जानखोज्दा उनको सत्ता डगमगायो । बोलिभियाको लिथियममा चिनियाँ नियन्त्रण बढ्न थालेपछि अमेरिकाले चासो बढायो । जुन त्यहाँ राजनीतिक गडबडीको कारण बन्यो ।

मोराल्सको सरकारले पछिल्ला वर्षहरुमा तीन अर्ब डलरको लिथियम उत्खननका लागि चीन र जर्मनीको कम्पनिसँग सम्झौता गर्यो । तर, जर्मन कम्पनिसँगको सम्झौता तोडियो । मोराल्सले जसरी आफूमाथि कू भएको भनेका छन् त्यसका पछाडि बलिया देशको अप्रत्यक्ष भूमिका देखिएको छ । मोरल्सलाई मेक्सिकोले शरण दियो । उनलाई लिन मेक्सिकोको विमान नै बोलिभिया पुग्यो ।

विपक्षी जियानिन एनेजले आफैलाई अन्तरिम राष्ट्रपति घोषणा गरिन् । उनलाई त्यहाँको सैनिकले समर्थन गर्यो । अमेरिकाले पनि उनलाई समर्थन गर्यो । यी सबै घटनाका पछाडि लिथियम खानी कारण बन्यो ।-एजेन्सीको सहयोगमा Photo Source: Twitter and dw



प्रतिक्रिया दिनुहोस्