Logo

तीन लाख सवारी साधनमा भिजिट नेपालको स्टिकर : मन्त्री भट्टराई



काठमाडौं २८ कार्तिक । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश कुमार भट्टराईले भिजिट नेपाल–२०२० लाई प्रचार–प्रसारलाई प्रभावकारी बनाउन देशभरिका तीन लाख सवारी साधनमा भिजिट ट्वान्टी–ट्वान्टीको लोगो टाँस्ने योजना रहेको बताएका छन् ।

बिहीबार प्रज्ञा भवन कमलादीमा तीन प्रकारका लोगो सार्वजनिक गर्दै भिजिट नेपाल–२०२० बीस लाख पर्यटक भित्र्याउने लक्ष्यअनुरुप प्रचारप्रसारलाई तिव्र गतिमा लैजाने भन्दै आजबाट लोगो वितरण गरेका हुन् ।

मन्त्री भट्टराईले भिजिट नेपाल–२०२० का लागि देशैभरीका विमानस्थलहरु मर्मत सम्हार सम्पन्न गर्ने बताउँदै त्यसैको माध्यमबाट अधिक मात्रामा पर्यटक भित्र्याएर देशलाई आर्थिक समृद्धितिर लैजानेका लागि मन्त्रालय तिव्र गतिमा लागि परेको बताए । उनले सबै क्षेत्रका ट्याक्सी व्यवसायीहरुसँग समन्वय गरेर एक हजार ट्याक्सी चालकहरुलाई तालिमको व्यवस्था गर्ने जानकारी दिए ।

यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्मचार्यले पर्यटन वर्षमा पहिलो पटक यातयात व्यवसायीहरुलाई पनि समावेश गरी मुलुकको समृद्धिमा हातेमालो गर्ने मौका दिएकोमा मन्त्रीलाई धन्यवाद दिए ।

कार्यक्रममा ट्राफिक प्रहरी महाशाखाका प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले ट्राफिक प्रहरीहरुको गतिविधिलाई सभ्यताका साथ अगाडि बढाउँदै सवारी साधनमा देखिएका नकारात्मक प्रवृद्धि र फोहोरी सिट च्यातिएका सवारीहरुको फोटो खिचेर ल्याउन निर्देशन दिएको जानकारी दिए ।

यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले ७७ वटै जिल्लामा गुड्ने सवारी साधनमा भिजिट नेपालको स्टिकर टाँसियो भने विश्वमा सन्देश जानुका साथै नेपाल भ्रमणमा आउने पर्यटकहरुको संख्या बढ्नेमा विश्वास व्यक्त गरे ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्