Logo

प्रहरीको सेवा हद बढाएर ३२ बनाउन लबिङ, ऐन संशोधन भइहालेपनि तत्काल लागू नहुने



काठमाडौं, २८ कात्तिक । नेपाल प्रहरी र सशस्त्र प्रहरीमा ३० वर्षे सेवाहद छ । यसलाई हटाएर ३२ बनाउने या आइजीपीको सेवाहद हटाएर कम्तिमा तीन वर्ष पदमा रहने गरी प्रहरी ऐनमा संशोधन गर्न लबिङ भइरहेको छ ।

यसअघि आइजीपी भएका या हुन चाहनेले यसको प्रयास गरेपनि सफल भएनन् । तर, कर्मचारीको उमेरहद ६० वर्ष बनाएपछि प्रहरीका केही अधिकृत उत्साही भएका छन् । जतिसुकै लबिङ गरेपनि संसदमा प्रहरीको ऐन पारित गर्दा सम्म समय लामै लाग्छ । त्यसमाथि कुन वर्ष देखि लागू हुने हो त्यसको निक्र्यौल पनि हुन्छ ।

कर्मचारीको उमेरहद २०७८ देखि हट्ने गरी राज्य व्यवस्थाले कानुन निर्माण प्रक्रिया थाल्ने निर्णय गरेको हो । प्रहरीमा सेवा हद हटाएमा तत्काल लागू हुन कठिन छ ।

अहिलेको नियमावलीमा परिवर्तन गरी तत्काल ऐन संशोधन गरी सेवाहद हटाएर ३२ कायम गरेमा आइजीपी सर्वेन्द्र खनाल थप समय पदमा रहनेछन् । ३२ वर्षे सेवाहद राखेर तीन वर्ष आइजीपीको कार्यकाल राखेमा उनकै ब्याचीमध्येका एकजना एआइजीले थप एक वर्ष आइजीपी पदमा रहने अवसर पाउनेछन् । यसले पछिल्ला ब्याचीहरुको वृत्तिविकासमा असर पर्छ ।

यस्तो अवस्थामा सात महिनाका लागि आइजीपी बन्ने सम्भावना बोकेका ठाकुर ज्ञवालीले कुर्नुपर्ने हुन्छ । ज्ञवालीपछिका प्रतिष्पर्धी शैलेश थापा क्षेत्री, हरिबहादुर पाल, निरजकुमार शाही र प्रद्युम्न कार्कीमध्येका प्रतिष्पर्धीहरुमो बढुवाको समय टाढिन सक्छ ।

सशस्त्र प्रहरीमा सेवाहद ३२ बनाएपनि हालका एआइजीहरु आइजीपीसँगै घर जानेछन् । तर, त्यसपछिका ब्याचीहरुलाई लाभ हुनसक्छ । यसले आइजीपी बन्नेको रोलक्रम यताउता हुनसक्छ ।

विगतमा पनि आइजीपीका प्रतिष्पर्धीहरुले सेवा हद बढाउन लबिङ गरेका थिए तर सफल भएनन् । प्रहरीमा आफ्नालाई पदमा ल्याउन दशक अघि यस्ता गतिविधि नभएका होइनन् । तर, त्यसले प्रहरीभित्र भाडभैलो र द्धन्द्ध निम्तिएको थियो । कतिपय आइजीपी आफू पदमा नपुगुञ्जेल ३० वर्षे कायमै राख्न सक्रिय भए र पदमा पुगेपछि ३० वर्षे सेवाहद हटाउन सक्रिय भएर दोहोरो चरित्र देखाएको इतिहास पनि छ । File Photo



प्रतिक्रिया दिनुहोस्