Logo

प्रहरीलाई ‘केटी मिलाउन’ खोज्दा



काठमाडौं,कार्तिक २९ । अवैध यौन धन्दा चलाइएको आरोपमा विराटनगरमा एक होटलका कर्मचारी पक्राउ परेका छन् । यौनधन्दा चलाउने होटल सञ्चालकलाई प्रमाणसहित पक्राउ गर्न मोरङ प्रहरीले फिल्मी शैली अपनाएको छ ।

विराटनगर महानगरपालिका १५ रानीस्थित हिमालय गेस्टहाउसमा यौन धन्दा चल्ने गरेको सुचनाको आधारमा प्रहरीले प्रमाणसहित पक्राउ गर्न आफ्नै प्रहरी कर्मचारीलाई सोमबार साँझ ग्राहक बनाएर पठायो ।

सादा पोसाकमा ग्राहक बनेर होटल पुगेका प्रहरी कर्मचारीले होटलका कर्मचारी मोहम्मद रियाजलाई ‘केटी पाइन्छ, पाइँदैन’ भनेर सोधे । रियाजले चाहिएमा फोन गरेर जत्ति पनि बोलाउन सक्ने बताए ।

रियाजको कुरा सुनेपछि सादा पोसाकमा गएका प्रहरी कर्मचारीले केटी बोलाउन भन्दै होटलमा कोठासमेत बुक गरे । रियाजले भारतको फारबिसगन्ज घर भएकी २५ वर्षीया एक युवतीलाई फोन गरेर बोलाए ।

बोलाएको केही घण्टामै यौन धन्दाका लागि युवती होटल आएपछि प्रहरीले कल गर्लका रूपमा काम गर्ने उनलाई र होटलका कर्मचारी मोहम्मद रियाजलाई प्रमाणसहित पक्राउ गरेको छ ।

पक्राउ परेका रियाज पनि भारतीय नागरिक हुन् । उक्त होटलका सञ्चालकसमेत भारतीय नागरिक हुन् । रियाज र युवती पक्राउ परेपछि होटलका मालिक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।कान्तीपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्