Logo

ओलीले कार्यवाहक प्रधानमन्त्री खोजेपछि नेकपाभित्र दौडधुप



काठमाडौं, २९ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओली मृगौला प्रत्यारोपणका लागि विदेश जाने सम्भावना बढेर गएको छ । प्रत्यारोपणका लागि गएमा उनी केही महिना विदेशमै हुनेछन् ।

प्रत्यारोपण नगरेपनि प्रधानमन्त्रीको नियमित डायलसिस गर्नुपर्ने भएको छ । उनी बालुवाटारस्थित निवासबाट कमै निस्कने अवस्था बन्छ । यस अवस्थामा एकजना भरपर्दोलाई कार्यवाहकको जिम्मेवारी दिनेगरी प्रधानमन्त्रीले तयारी थालेका छन् ।

मन्त्रिमण्डलमा सेट नै परिवर्तन गर्न ओलीले आन्तरिक परामर्श थालेका छन् । उनले नेकपाका अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपालसँग छुट्टाछुट्टै भेटेका छन् । उपयुक्त व्यक्तिलाई छानेर जिम्मेवारी दिने ओलीको तयारीपछि नेकपामा दौडधुप तिव्र भएको छ ।

ओलीले वामदेव गौतमलाई उपप्रधानमन्त्री बन्न प्रस्ताव राखेका छन् । तर, गौतमले संविधान संशोधन गरी राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्ने बाटो खोल्ने भएमा मात्र सरकारमा जाने शर्त राखेका छन् । नत्र पार्टीकै जिम्मेवारी दिन भनेका छन् ।

ओलीको रोजाईमा विष्णु पौडेल छन् । तर, ललिता निवास जग्गा प्रकरणमा मुछिएपछि पौडेल विवादमा परेका छन् । इश्वर पोखरेललाई निरन्तरता दिएर कार्यवाहक प्रधानमन्त्री दिनेबारे पनि छलफल चलेको छ । तर, आफूबाहेक मन्त्रिमण्डलको सेट नै परिवर्तन गर्न लागेका ओलीले पोखरेललाई निरन्तरता नदिने संकेत गरेका छन् ।

कार्यवाहक प्रधानमन्त्रीका लागि ओलीले सबैभन्दा विश्वास गरेकामा विष्णु पौडेल र प्रदीप ज्ञवाली नै हुन् । तर, दुवैलाई बनाउन ओलीलाई अप्ठ्यारो छ । ज्ञवाली अरु नेताभन्दा जुनियर हुन् ।

नेकपामा कार्यवाहक प्रधानमन्त्री सम्हाल्न सक्ने गरी उपप्रधानमन्त्री बनाउनेबारे मन्थन चलिसकेको छ । सम्भावित नामहरुमा वामदेव गौतम, विष्णु पौडेल र इश्वर पोखरेल नै हुन् । ओलीले पछिल्लो समय रामबहादुर थापा बादललाई पनि भरोसा गर्न थालेका छन् । तर, पूर्व एमालेले बादललाई स्वीकारिहाल्ने अवस्था देखिदैछ । ओलीले कार्यवाहक प्रधानमन्त्रीको खोजी गरिरहँदा नेकपाभित्र लबिङ चलिरहेको छ । File Photo



प्रतिक्रिया दिनुहोस्