Logo

बाँँके र बर्दियामा माछाको पकेट क्षेत्र मासिँदै



नेपालगञ्ज, कात्तिक २९ गते । परम्परागत रूपमा माछापालन गरिँदै आएका बाँके र बर्दियाका ठूला प्राकृतिक ताललाई पर्यटकीयस्थल बनाउँदा माछाको पकेट क्षेत्र मासिँदै गएको छ । माछापालन गरिँदै आएका ताललाई पर्यटकीयस्थल बनाउँदा माछापालन घट्दै गएकाले चालू आर्थिक वर्षबाट बाँके र बर्दियामा २५ प्रतिशत माछा उत्पादन घट्ने जिल्ला पशु ज्ञान कार्यालय नेपालगञ्जले जनाएको छ ।
जिल्ला पशु ज्ञान कार्यालय नेपालगञ्जका वरिष्ठ मत्स्य विकास अधिकृत बसिर अहमद खाँका अनुसार सरकार र कृषकको परिश्रमपछि माछाको उत्पादन बढ्न थालेका बेला स्थानीय तहले पकेट क्षेत्रकै जलाशयमा माछा उत्पादन बन्द गरी पर्यटकीयस्थल बनाउन सुरु गरेका छन् । सोही कारणले माछा उत्पादनमा समेत प्रभाव परेको र यस वर्षबाट २५ प्रतिशत जति माछा उत्पादन घट्ने उनले बताए।
जिल्ला पशु ज्ञान कार्यालयका अनुसार बाँके र बर्दियालाई माछा उत्पादनको उर्वर ठाउँ मानिन्छ । यहाँ उत्पादन भएको माछा स्थानीय बजारमा मात्र नभई जिल्ला बाहिरसमेत खपत हुँदै आएको छ ।
मिसन फिस कार्यक्रममार्फत साबिकको कृषि विकास कार्यालयले माछाको उत्पादन बढाउन विभिन्न कार्यक्रम गरेको थियो ।
बाँकेमा २५ हेक्टर रहेको प्राकृतिक जलाशयमा माछापालन हुँदै आएको थियो । १६ हेक्टरको पुरैनी ताल र ६ हेक्टरको वाटर पार्कमा माछा उत्पादन हुँदै आएकोमा यी दुवै तालमा नेपालगञ्ज उपमहानगरपालिकाले पर्यटकीयस्थल बनाउँदै छ । प्रदेश सरकारको सहयोगमा पुरैनी ताललाई पर्यटकीय स्थल बनाउने काम सुरु भइसकेको नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ ।
जिल्ला पशु ज्ञान कार्यालय नेपालगञ्जका मत्स्य विकास अधिकृत खाँका अनुसार बाँकेमा कुल ३४० हेक्टरमा वार्षिक एक हजार एक सय ९६ मेट्रिक टन माछा उत्पादन हुन्छ । प्राकृतिक जलाशयमा नयाँ काम सुरु भएपछि चालू आर्थिक वर्षमा स्थानीय तहले माछापालनको ठेक्का दिएका छैनन् । ठेकेदारमार्फत ती प्राकृतिक जलाशयमा माछापालन हुँदै आएको थियो ।
बर्दियाको अवस्थासमेत बाँकेको जस्तै रहेको उहाँले बताउनुभयो । पश्चिमकै सबैभन्दा धेरै माछापालन हुने बढैया ताल प्राकृतिक जलाशयमा यस वर्षदेखि माछा उत्पादन बन्द गरिएको छ । बढैया ताल गाउँपालिकाले त्यहाँ पर्यटकीयस्थल निर्माणको काम सुरु गरेको छ । ८४ हेक्टरको बढैया ताल र ४० हेक्टरको सत्खोलवा तालमा यसपटक माछा उत्पादन नहुने वरिष्ठ मत्स्य विकास अधिकृत खाँले जानकारी दिए। बर्दियामा गत वर्ष १५ सय मेट्रिक टन माछा उत्पादन भएको थियो । बढैया ताल गाउँपालिकाका सूचना अधिकारी कमल खड्काले पर्यटकीयस्थलका रूपमा बढैया ताललाई विस्तार गर्न लागिएको जानकारी दिए । उनका अनुसार, अब ‘शो’ का रूपमा मात्र गाउँपालिकाले तालमा माछाको भुरा राख्ने छ । पर्यटकीयस्थलका रूपमा यो ठाउँलाई परिचित गराउन जनप्रतिनिधि लाग्नुभएको छ, खड्काले भने।
पर्यटकीयस्थल बनाउँदा पनि माछापालन बन्द नगर्नु पर्ने वरिष्ठ मत्स्य विकास अधिकृत खाँको भनाइ छ, दुवै काम साथसाथै लैजानु राम्रो हुन्छ । उनले भने, प्राकृतिक तालमा माछा उत्पादन बन्द नै गर्ने हो भने आत्मनिर्भर बन्ने हाम्रो योजना तुहिन्छ । गोरखापत्र बाट



प्रतिक्रिया दिनुहोस्