Logo

‘हवाई माफिया’ को इशारामा कौडीको भाउमा विमान बेच्दै मदन खरेल



काठमाडौं, २९ कात्तिक । नेपाल वायु सेवा निगमको वाइडबडी विमानलाई सेतो हात्ती बनाएर संस्था नै धराशायी बनाएका कार्यकारी अध्यक्ष मदन खरेलले योजनावद्ध तरिकाले करोडौं कुम्ल्याउने रणनीति बनाएको खुलेको छ । निगमसँग रहेको पुरानो विमान बेच्ने नाममा करोडौं कुम्ल्याउने रणनीति बनाइएको खुलेको हो ।

झण्डै एक अर्ब मूल्य पर्ने विमानलाई आधा अर्बमा बेच्ने र कमिशन प्राप्त गर्ने योजनामा खरेल स्वयं सहभागी भए । यसमा केही हवाई क्षेत्रका हस्तीहरु समेत संलग्न भएका छन् । विमान खरिद कम्पनि खोजेर बेच्न ठिक्क पारेर कानुनको छिद्र प्रयोग गरिएको छ ।

शुरुमा नाटकीय तरिकाले बोलपत्र आव्हान गरियो । विगत एक वर्ष देखि ग्राउन्डेड बोइङ ७५७-२०० विमान विक्रीका लागि बोलकबोलका लागि सूचना प्रकाशित गरिएको थियो । ८५ करोड मूल्य राखेर सूचना प्रकाशित गर्नुमा कसैले प्रक्रिया नबढाउन् भन्ने उद्देश्य निहित थियो । जसका कारण उक्त मूल्य तिर्न कुनै कम्पनि आएनन् । यो सबै प्रायोजित थियो ।

दुई पटक सूचना प्रकाशित गर्दा पनि नआएको देखाएर अब सहमतिबाट विक्री गर्ने नीति बनाइएको छ । यसका लागि ४८ करोड मूल्य तोकेर विक्रीको पहल थालिएको छ । यो सबै केही हवाई माफियाको योजना बमोजिम भएको हो जसमा मदन खरेलले व्यवस्थापन मात्र गरेका हुन् ।

निगमको नियम अनुसार विमान विक्री वा लिलाम गर्दा ४५ दिनको सूचना दिई तीनपटक सम्म राष्ट्रिय स्तरको पत्रपत्रिकामा सूचना प्रकाशित गर्नुपर्ने भनिएको छ । कार्यविधिमा उल्लेख भए अनुसार १५ दिनको अन्तरमा सूचना प्रकाशित गर्दा पनि विक्री गर्न नसके आपसी वार्ताको माध्यमले सिधै विक्री गर्न सकिने निगमको कार्यविधिमा उल्लेख छ । यही नियम पूरा गरेर सहमतिबाट विमान विक्री गर्ने तयारी भएको हो । विमान खरिद गर्ने कम्पनि समेत कही हवाई क्षेत्रका व्यवसायीहरुले तयार पारिसकेका छन् । अब खरेल प्रक्रिया मिलाएर कमिशनसहित विमान बेच्न अगाडि बढेका छन् ।

विगतमा एउटा विमान यसरी नै बेचिएको थियो । इन्जिनको मूल्यभन्दा कम मूल्यमा विमान बेचेर निगमका पदाधिकारीले कमिशन लिएको चर्चा चल्यो । अहिले पनि प्रक्रिया मिलाएर करोडौंको कमिशन मिलाउने तयारी लगभग पूरा भइसकेकोछ । विमान विक्री वाध्यात्मक अवस्था देखाएर कौडीको भाउमा बेच्ने योजना बनाइएको खुलिसकेको छ । अबको चार महिनाभित्र विमान बेच्नैपर्ने वाध्यता छ । एक वर्ष देखि ग्राउन्डेड भएको र त्योभन्दा धेरै वर्ष अघि देखि बेच्ने प्रयास भएको विमानमा नियमसंगत तरिकाले सूचना प्रकाशित गर्न समेत ढिलाई गरिएको छ । सूचना प्रकाशित गर्दा विमान खरिदका लागि कोही तयार नभएको निगमले दाबी गरेपनि केही कम्पनिहरुले चासो देखाएपनि हवाई माफियासँग साँठगाँठ गरेका निगमका पदाधिकारीले निरुत्साहित पारेको बुझिएको छ ।

कार्यकारी अध्यक्ष मदन खरेलले निगमलाई विदेशी कम्पनिसँग साझेदारीको नीति समेत अगाडि सारेका छन् । निगमलाई घाटामा पुर्याउने, घाटामा देखाउने र विदेशी कम्पनिको हातमा पुर्याउने योजना वर्षौंको हो । यसलाई सफल बनाउन हवाई माफियाले खरेललाई निगममा स्थापित गरेको खुल्दै गएको छ ।



प्रतिक्रिया दिनुहोस्