Logo

खसी माग्ने डिएसपी र पेस्तोल राख्ने नेताबीचको विवादले दुवैमाथि कारबाही



काठमाडौं, २९ कात्तिक । इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी हेमबहादुर शाहीमाथि आचरणसम्बन्धि कारबाही हुने भएको छ । दशैंको बेला तरुण दलका नेतासँग खसी मागेको विषयमा उनीमाथि आचरणको कारबाहीको सिफारिस भएको छ ।

तर, तरुण दलका नेतालाई हतियारसहित पक्राउ परेको घटनामा भने कमजोरी नदेखिएपछि डिएसपी शाहीको जागिर जोगिएको छ । फोनमा खसी माग्नु र पक्राउ गर्नुको कुनै सम्बन्ध नभएको छानबिन रिपोर्टमा आएको छ । एसएसपी नरबहादुर केसी संयोजकत्वको छानबिन समितिले डिएसपी शाहीमाथि आचरणसम्बन्धि कारबाही गर्नुपर्ने रिपोर्ट बनाएको छ । तर, मुद्दा दर्ता भएपछि मात्र रिपोर्ट बुझाउने तयारी छ ।

कोहलपुरबाट तरुण दलका जिल्ला सभापति सन्दीपजंग शाहसहित तीन जनालाई कात्तिक १४ गते पक्राउ पेस्तोलसहित पक्राउ गरेको जनाइएको थियो । खसी नदिएको आरोपमा पेस्तोल आफैंले राखेर पक्राउ गरेको आरोप तरुण दलले लगाउँदै आएको थियो ।

शाहसहित पक्राउ परेका माधव नेपाली ,प्रितम थापा र यमबहादुर बुढामगरलाई पाँच वर्ष कैद सजायको माग दाबी गरी शुक्रबार मुद्दा दायर भएको छ । रिसोर्टको सिसिटिभी फुृटेज हेर्दा र अन्यसँग सोधपुछ गर्दा हतियार शाहकै भएको दाबी गरिएको छ ।

प्रहरीले नमस्ते भिलेज रिसोर्टमा पार्किङ गरिएको बा१८च ४२११को कार चेकजाँच गर्ने क्रममा चालक बस्ने सिटको मुनि लुकाइराखेको मेड इन युएसए लेखेको अटोमेटिक पेस्तोलसहित शाहसहितलाई पक्राउ गरेको जनाइएको थियो।

दशैंको बेला तरुण दलका कोषाध्यक्ष केशर खड्कासँग डिएसपी शाहीले खसी मागेको फोन रेकर्ड सार्वजनिक भएको थियो । जसमा खड्काले आफुले खसी पठाइदिने समेत बताएको सुनिन्छ ।

पछि उनीहरुबीच विवाद भएको थियो । त्यसपछि तिघ्रा छेडिदिन्छु भन्दै डिएसपी शाहीले धम्काएको अडियो समेत सार्वजनिक भएको थियो । तर, अडियो र पक्राउबीच सम्बन्ध नभएको प्रहरी दाबी छ ।

फोन रेकर्ड सार्वजनिक गर्ने नेता खड्काविरुद्ध पनि ज्यान मार्न उद्योगमा मुद्दा दर्ता भइसकेको छ । शाह र खड्का दुवै गुन्डागर्दीमा संलग्न रहेको प्रहरीले जनाएको छ । (दृष्टि बाट सम्पादन गरिएको )



प्रतिक्रिया दिनुहोस्