Logo

अन्ततः सरकारमै बस्ने समाजवादीको रणनीति



काठमाण्डौ । माग सम्बोधन नभएको भन्दै सरकारबाट बाहिरिने धम्की दिदै आएको सत्ता साझेदार समाजवादी पार्टी नेपालभित्र विवाद देखिएको छ । पार्टीका अध्यक्ष एव. सरकारमा उपप्रधान तथा स्वास्थ्य–जनसंख्या मन्त्री रहेका उपेन्द्र यादवले सरकारमै बसेर संघर्ष गर्ने बताएपछि दुई किसिमको धारणा आएको हो ।

काठमाडौंमा विहिबार बसेको पार्टीको संघीय परिषद्को बैठकमा अध्यक्ष उपेन्द्र यादवले सरकारमै बसेर संर्घष गर्नुपर्ने बताएपछि पार्टीभित्र तिव्र मतभेद समेत बढेको हो । अर्का अध्यक्ष डा. बाबुराम भट्टराई भने सरकार छोड्नुपर्ने पक्षमा रहँदै आएका थिए । तर परिषद बैठकमा पेश गरेको प्रतिवदेनमा भट्टराईले सरकार छोड्ने विषय समावेश गरेनन् ।

संघीय परिषद् बैठकमा पनि ९० प्रतिशत केन्द्रिय सदस्यहरुले पार्टी सरकारबाट बाहिरिनुपर्ने दवाव नेतृत्वलाई दिएका थिए । तर सरकारका उपप्रधानमन्त्रीसमेत रहेका समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले ऐतिहासिक मधेस आन्दोलन र जनविद्रोहबाट प्राप्त उपलब्धि जोगाउन सरकारमा पार्टीको उपस्थिति आवश्यक रहेकोले तत्काल सरकारबाट बाहिरिन नहुने आशय व्यक्त गरेका थिए ।

त्यसपछि सरकारबाट बाहिरिनुपर्छ भन्ने पक्षमा रहेका नेताहरु अध्यक्ष यादवसँग रुष्ट भएका छन् । यद्यपी अध्यक्ष यादवले एकपटक सत्तारुढ दल नेकपा र प्रधानमन्त्रीसँग आफ्ना मागबारे अन्तिम कुराकानी गर्ने र त्यसपछि पनि माग पुरा नभए सरकारबाट बाहिरिने आश्वासन दिएको केन्द्रिय सदस्य प्रेम थापाले बताएका छन् ।

पार्टीको केन्द्रिय समितिको बैठकमा समेत यो विषयले स्थान पाएको छ । जसले समाजवादीभित्र नेताहरुविच तिव्र मत विभाजन देखिएको छ । यसअघि सरकारबाट बाहिरिनुपर्ने भन्दै सरकारको समेत तिव्र विरोध गर्दै आइरहेका अर्का अध्यक्ष भट्टराइले पेश गरेको राजनितिक प्रतिवेदनमा समेत सरकारबाट बाहिरिने कुरा नसमेटिए पछि नेताहरु थप रुष्ट भएका छन् ।

यो विषयले पार्टीभित्र नेताहरुविच मतविभाजन त ल्याएको छ नै यसले राष्ट्रिय जनता पार्टीसंगको एकतासमेत अन्योलमा परेको छ । राजपाले पार्टी एकीकरणको लागि सामाजवादीलाई सरकारबाट बाहिरिनुपर्ने सर्त राख्दै आइरहेको छ । तर आफुहरु सरकारमा भएपनि पार्टी एकतामा कुनै वाधा नभएको समाजवादीका नेता थापा बताउँछन् ।

समाजावादी र राजपाबीच पार्टी एकताबारे ६ महिना अघिदेखि विभिन्न चरणमा अनौपचारिक वार्ता हुदैं आइरहेको छ । पार्टी एकताको बाधक पक्ष नै एउटा सत्ता पक्ष र अर्को प्रतिपक्ष हुनु रहेको छ । यसअघि समाजवादीले यही कात्तिक महिनाको अन्तिमसम्म पार्टीको संघीय परिषद् र केन्द्रिय समितिको बैठकसम्म कुर्न राजपालाई आग्रह गरेको थियो । तर समाजवादीले संघीय परिषद् बैठकबाट समेत तत्काल सरकारबाट नबाहिरिने संकेत देखाएपछि राजपासंघको एकता प्रक्रिया हाललाई थाति नै रहने भएको छ ।



प्रतिक्रिया दिनुहोस्