Logo

नयाँ ढंगले बढ्ने गरी मन्त्रिमण्डल पुर्नगठनको अभ्यास भइरहेको छ- देवेन्द्र पौडेल, नेता, नेकपा



काठमाडौं, ३० कात्तिक । नेपाल कम्युनिष्ट पार्टीका नेता देवेन्द्र पौडेल अध्यक्ष प्रचण्डका नजिक मानिन्छन् । जनयुद्ध हुँदै मूलधारको राजनीतिमा समेत सक्रिय रहेका पौडेलले एनआरएन रेडियोको नेपाली बहसका लागि ऋषि धमलासँगको अन्तवार्तामा विशेष खुलासा गरेका छन् ।
मन्त्रिपरिषद्को पुनर्गठन कहिले हुन्छ ?
यो प्रधानमन्त्रीको चाहना र इच्छामा भरपर्ने कुरा हो । यसबारे केही होमवर्क सुरु भएको छ । सरकार, पार्टी र अन्तर्राष्ट्रिय सम्बन्धका बारेमा चुस्त गति दिनेगरी पार्टीभित्र छलफल, बहस सुरु भएको छ । देशलाई समय र परिस्थिति अनुसार नयाँ ढंगले गति दिनेगरी अगाडि बढ्ने पहल गरेको कुरा साँँचो हो ।
प्रधानमन्त्रीले समय र परिस्थिति अनुसार मन्त्रीमण्ड पुर्नगठन गर्नुहुन्छ ?
उहाँको चाहनाको कुरा हो । केही नयाँ उचाईका साथ काम गर्न खोज्नु राम्रो हो ।
चाहना त हो तर आवश्यकता हो कि होइन ?
केही नयाँ ढंगले अगाडि बढ्न खोजेको पाइन्छ । कतिपय राष्ट्रिय सभाका साथीहरुको समयावधि पनि सकिएको छ । यो सन्दर्भमा पार्टीभित्र दुई अध्यक्षबीच छलफल भएको हामीले थाहा पाएका छौं । यससँगै सचिवलय र मन्त्रिमण्डलका केही साथीहरु हेरफेर गर्न खोजेको बुझिन्छ ।
सचिवालय पुर्नगठनमा केही पुरानैलाई यथावत राख्नुभएको छ नि किन ?
प्रधानमन्त्रीलें पहिला प्रदेश प्रमुखहरुमा हेरफेर गर्नुभयो । त्यो मन्त्रिमण्डको सिफारिसमा राष्ट्रपतिबाट सिफारिस पनि भइसकेको छ । सचिवालयमा केही पुर्नगठनको इच्छा गर्नुभयो, त्यो केहीमा भएको छ, केही अगाडि बढ्दै छ । त्यसैगरी क्याविनेटमा पनि अलिकति पुनर्गठन गर्ने इच्छा देखाएको बुझिन्छ । किन कसरी भन्दा पनि देशलाई अलि नयाँ ढंगले गतिदिनका लागि इच्छा जाहेर गर्नुभएको छ । सरकारमा मात्रै होइन, नियुक्तिहरुमा पनि हेरफेर गर्ने काममा पनि गति दिन खोजेको पाइन्छ ।
त्यसोभए प्रधानमन्त्री अहिलेका मन्त्रीहरुलाई हटाउन चाहनुहुन्छ हो ?
कसैलाई हटाउने, कसैलाई राख्नेभन्दा पनि अलि नयाँ ढंगले कसरी जान सकिन्छ ? भनेर केहीलाई पुनर्गठन गर्ने हो कि भन्ने मात्रै छ अहिले । तुरुन्तै गरिहाल्ने भनेर निर्णयमै पुगिसकेको अवस्था होइन । सचिवालयका साथीहरुसँग के गरौं भनेर प्रस्ताव ल्याउनुभएको छ ।
पुनर्गठनमा त मन्त्री बन्नेमा तपाईंको नाम पनि पर्ला नि ?
त्यो प्रधानमन्त्रीले निर्णय गर्ने कुरा हो । मैले कसैसँग भनेको पनि छैन । पार्टीले जहाँ जे आवश्यकता ठान्छ म त्यही जिम्मेवारी पुरा गर्न तयार छु । पार्टीले आवश्यक ठानेर जिम्मेवारी दिएँ स्वीकार्छु । अहिले पार्टीले स्कुल विभागको जिम्मेवारी दिएको छ । त्यसपछि ८÷९ वटा जिल्लामा पार्टीको प्रशिक्षण पनि गरियो । फेरि राज्यको तहमा जिम्मेवारी निर्वाह गर्नुपर्यो भनेर पार्टीले जिम्मेवारी दिए तयार छु । तर, मलाई मन्त्री बनाउनुपर्यो भनेर लबिङ गर्न हिंडेको छैन ।
उपनिर्वाचन अगाडि मन्त्रिमण्डल पुनर्गठन हुँदैन हो ?
नहुन पनि सक्छ । अहिलेसम्म पुनर्गठन भइहाल्ने भनेर ठ्याक्कै फाइनल भइसकेको पनि छैन । त्यसको लागि प्रधानमन्त्रीले अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल र महासचिवसँग ‘वान टु वान’ कुराकानी गरिसकेपछि टुंगिने हो ।
पुर्नगठनको विषयमा महासचिवसँग कुरा भइसकेको होला नि होइन ?
उहाँहरुसँग छलफल, बहस गरेर केही नयाँ साथीहरु मन्त्रिमण्डलमा ल्याउँ कि ? भनेर इच्छा राख्नुभएको हो । कहिले ल्याउने भनेर एकिन भएको छैन ।
अब सरकारमा शक्तिशाली ईश्वर पोखरेल, पार्टीमा प्रचण्ड हो ?
करिब करिब प्रधानमन्त्रीको उपचारसँग जोडिने शृंखलामा सरकारले पनि गति लियोस् र पार्टीले पनि गति लियोस् भनेर पार्टीको सचिवालयमा अनौपचारिक कुराकानी भएको छ । औपचारिक रुपमा छलफल हुन बाँकी छ ।
केपी शर्मा ओलीले ईश्वर पोखरेललाई सरकारको जिम्मेवारी दिने सम्भावना छ ?
उहाँ उपप्रधानमन्त्री पनि भएरको र पार्टीको सिनियर नेता भएको हिसावले यदि प्रधानमन्त्रीले अर्को व्यक्तिलाई प्रधानमन्त्रीको भूमिका ल्याउने हो भने स्वतः ईश्वरजी नै हुनुहुन्छ । त्योसँगै पार्टीमा अर्का अध्यक्ष प्रचण्ड पनि हुनुहुन्छ, पार्टी एकीकरणदेखि अन्य काम पनि अगाडि बढाउन सहज हुने भएकाले उहाँलाई पनि हुन सक्छ । सरकारदेखि पार्टीसम्मको काम कसरी सहज ढंगले अगाडि बढाउन सकिन्छ भनेर पार्टीका सिनियर लिडरसँग छलफल चलेको छ ।
आज पनि प्रधानमन्त्रीको डायलासिस हुँदैछ, कसरी लिनुभएको छ ?
प्रधानमन्त्रीको स्वास्थ्यलाई लिएर चिकित्सकहरुको रिपोर्टभन्दा बाहिर गएर चर्चा चलेको पनि सुनिन्छ । जसरी बाहिर अस्वस्थ भनेर हल्ला गरिएको छ, त्यस्तो अवस्था होइन । उहाँ बैठकहरु बोलाउने, आइपरेका छिट्टै गर्ने अनि हिडिहाल्ने गर्नुहुन्छ । उहाँले मन्त्रालयको काम सक्रियतापूर्वक गरिरहनुभएको छ । त्यसैले अहिले उहाँ स्वास्थ्य प्रतिकूल भयो भन्ने कुरा सही होइन । तर, नियमित डायलासिस र चिकित्सकहरुको निगरानीमा भने रहिनुपर्ने अवस्था हो । त्यो कुरा चिकित्सकहरुले भनेको हुनाले पार्टीपंक्तिले पनि स्वास्थ्यको ख्याल गर्न सुझाव दिएका छौं ।
अहिलेको सरकारले जनचाहना अनुसार काम गरेको छ ?
स्कुल विभागको कामको सिलसिलामा जिल्लातिर हिड्दा विकासका कामले गति लिएको मैले पाएँ । केही ठूला राष्ट्रिय गौरवका योजनाहरुले पनि गतिलिँदैछ । यद्यपि रोजागर सिर्जना गर्ने काम र सुशासनका क्षेत्रमा जनगुनासो देखिएको छ । तर, हाम्रो देशको औकात अनुसार विकास र उन्नतिमा अगाडि बढेको छ । कामै भएको छैन भनेर हामीले बनाएका नेता, पार्टीहरुको नकारात्मक टिप्पणी गर्नुहुँदैन । ढिला भएको छ, हामीले संविधान १० अगाडि नै बनाउन सक्नुपथ्र्यो । सरकारले आफ्नो क्षमताले भ्याएसम्म काम गर्ने प्रयास गरेको मैले बुझेको छु ।
केपी शर्मा ओलीले देशको नेतृत्व गरेको २१ महिना पुग्यो, यसको उपलब्धी के ?
उहाँले गर्नुभएको कामहरु ठिकै छन् । खासगरी राष्ट्रिय गौरवका योजना सुरुमार्गको काम अगाडि बढ्दैछ । पोखरा एयरपोर्ट पनि सम्पन्न हुँदैछ । त्यसैगरी सडक विस्तारमा पनि तीब्र गतिमा काम भएको पाइन्छ । मुलुकमा आर्थिक वृद्धिदर बढेको छ । व्यापारघाटा पनि कम हुँदैछ ।
भारत र चीन दुवैतिर सीमाविवाद देखिएको छ, यसको समाधान कसरी गर्ने ?
यो लिपियाधुरा र कालापानीको समस्या अहिलेको होइन । यो ६० वर्षभन्दा पुरानो हो, अहिले नयाँ बनाएको होइन । यही पुरानो आधारमा बनाएको भनेर भारतीय पक्षले भनेको हामीले बुझेका छौं । भारतीय पक्षले विभिन्न बहानामा नेपाली भूमि पटक–पटक अतिक्रमण गरेर सधैं नेपाललाई आफ्नो दबाब पार्न खोजेको बुझिएको छ । यो समस्या हल गर्न उत्तजित ढंगले हुँदैन । कुटनीतिक पहलबाट मात्रै गर्न सकिन्छ । यसको लागि सरकारको तर्पmबाट ऐतिहासिक दस्तावेजको आधारमा कुरा गर्ने प्रक्रिया अगाडि बढेको छ ।
नेपाल–भारत दुवै देशका प्रधानमन्त्री आदनप्रदान भइरहँदा धेरै कुरा हल हुन सकेनन् नि ?
धेरै विवादहरु हल भइसकेका छन् । खासगरी मधेसमा धेरै समस्याहरु थिए । ती हल भइसकेका छन् । हाम्रा प्रधानमन्त्रीहरुले पटक–पटिक यो समस्या सधाको लागि टुंग्याउनुपर्छ भनेर प्रयास गरेका पृष्ठभूमिहरु पनि छन् । यसमा नेपाली जनताको भावनाको कदर हुने गरी भारतीय पक्षले उदारतारका साथ हल गर्न अग्रसरता अपनाउँदा राम्रो हुन्छ । त्यसको लागि कुटनीतिक पहल गर्नुपर्छ त्यो अगाडि बढ्दै छ ।
चीनतिरबाट सीमा मिचिएको धेरै उदाहरण आएका छन् तपाईंहरु त्यतातिर किन बोल्नुहुन्न ?
चीनको बारेमा पनि बोल्छौं हामी । तर, चीनतिरबाट विवाद भएका कुराहरु कतिपय ठाउँमा हल भएपछि, पुराना र साना विषयमा अलि निउ खोज्ने गरी नआएको हामीले पाएका छौं । केही सहमति, असहमति होलान् । कम प्रभाव परेको पाइन्छ । भूमि पनि उस्तै बस्ती पनि नजोडिएका हिसाले चीनतिरबाट समस्या कम आएको पाइएको होला । तर, सीमानाको विषयमा दुवै देशसँग हाम्रो सम्बन्ध उस्तै हो । स्वतन्त्र र सार्वभौम राष्ट्र हो हाम्रो । यसमा इतिहासले अंकित गरेको साधसिमाना कसैले पनि तलमाथि गर्न पाइँदैन । चिनियाँ पक्षले पनि त्यस्तो गर्छ भने त्यसको कुटनीतिक तरबाट हल गर्न तयार छौं । File Photo



प्रतिक्रिया दिनुहोस्