Logo

आलमजीबारे अदालतको आदेश अन्तिम फैसला होइन, आत्तिनुपर्दैन- रामकृष्ण यादव, नेता, नेपाली कांग्रेस



काठमाडौं, ३० कात्तिक । नेपाली काँग्रेसका नेता रामकृष्ण यादव लामो समय तराईमा बसेरै राजनीतिमा सक्रिय भएका हुन् । पूर्वमन्त्री समेत रहेका यादवले मोहमद अफताब आलम थुनामा राखिएको घटनाबाट आत्तिनुपर्ने अवस्था नभएको बताएका छन् । उनीसँग एनआरएन रेडियोको नेपाली बहसका लागि ऋषि धमलाले गरेको कुराकानीः
रौतहटका सांसद अफताब आलमलाई जेल चलान गरिएको छ नि ?
उहाँ नेपाली कांग्रेसबाट सांसद हुनुहुन्थ्यो । उहाँ पहिला मन्त्री पनि भइसक्नुभएको हो । धेरै पहिलाको केसको आधारमा अहिले अदालतमा जुन कुराहरु उठाइएको छ । नेपाली कांग्रेस कानुन र कानुनी राज्य मान्ने पार्टी भएकाले सम्मानित अदालतबाट जे पैmसला भएको छ । त्यसमा मेरो कुनै आपत्ति छैन । उहाँलाई अहिले पुर्पक्षका लागि थुनामा राखिएको छ ।
कांग्रेस नेताहरु उहाँको विषयलाई लिएर कराएका थिए नि ?
उहाँ कामको लागि राम्रो मान्छे हो । जति राम्रो भएपनि केहिलेकाही गल्ती हुनपनि सक्छ । कहिले गल्ती नै नभई फसाउन पनि सक्छन् । अहिले उहाँमाथि जुन मुद्दा चलाएर अदालतले पुर्पक्षका लागि थुनामा राखेको छ । त्यसमा मेरो कुनै आपत्ति छैन ।
त्यसोभए अदालतको निर्णय कांग्रेसले मान्छ हो ?
यो उहाँको अन्तिम निर्णय होइन नि । अन्तिम निर्णय आउन त बाँकी नै छ । त्यसकारण सम्मानित अदालतबाट जे पैmसला हुन्छ हामी त्यसको स्वागत गर्दछौं ।
पीडितहरुले त बल्ल हामीले न्यायको अनुभूति गर्न पायौं भनेका छन् नि ?
पीडितहरुले त के के भने ? उनीहरुले अदालतमै गएर उजुरी दिएका छन्, भन्ने कुरा हामीले मिडियाबाटै थाहा पाएको हो । पीडितहरुले पनि पहिला एउटा कुरा भनेका थिए । अहिले अर्कै कुरा भनेका छन् । कसैले भनेका छन्, ‘मलाई दबाब आयो अनि यसो भनेको’ भन्ने लगायत अनुसन्धानको क्रममा विभिन्न मिश्रित कुराहरु आएका छन् । अफताबजीको तर्पmबाट पनि आफ्ना कुराहरु प्रस्तुत भएको छ । अदालतका न्यायाधीशहरुले सबै कुरा नियालिरहनुभएको होला । त्यसकारण अहिले पुर्पक्षको लागि थुनामा राख्नेबित्तिकै आत्तिनुपर्दैन । हामीलाई अदालतमाथि विश्वास छ, न्यायको पक्षमा निर्णय आउने छ ।
नेपाली कांग्रेसले पनि अदालतको निर्णयलाई स्वागत गर्छ ?
अहिले अदालतले जे निर्णय गरेको छ । त्यसको टिकाटिप्पणी गर्नुछैन ।
कांग्रेस सभापतिले पहिला आलमको पक्षमा बोल्नुभएको थियो नि ?
यसमा आलमको पक्षमा विपक्षमा भन्ने नै हुँदैन । उहाँ नेपाली कांग्रेस नेता र सांसद पनि हुनुहुन्थ्यो । एउटा पार्टीको सदस्यको हैसियतले कुरा त उठिहाल्न नि । त्यतिबेला छानविन भएको थिएन । अहिले अदालतमा छानविन बाँकी छ । अनुसन्धान हुँदैछ, त्यसको पुर्पक्षको थुनामा राखिएको छ । अदालतको निर्णयलाई नेपाली कांग्रेसले स्वभाविक ठानेको छ । हामी त स्वतन्त्र न्यायालयकै पक्षमा छौं । त्यसकारण अदालतबाट जे निर्णय हुन्छ त्यो हामीलाई स्वीकार्य हुन्छ । अहिले अन्तिम निर्णय भइसकेको छैन ।

तपाईंहरुको पार्टी पनि कमजोर भएको छ उपनिर्वाचनको लागि के गर्नुहुन्छ ?
नेपाली कांग्रेसभित्र थुप्रै समस्याहरु देखिएका छन् । नेपाली कांग्रेस आन्तरिक समस्या जस्तै नेविसंघ, विभाग, तरुण दल, महिला संघ, दलितलगायतले जेलिएको छ । आउने फागुनमा ४ वर्ष पुग्छ त्यसपछि अभिवेशनका कुराहरु पनि छन् । त्यसैगरी क्रियाशील सदस्यताको पनि कुराहरु छन् । यी सबै समस्या हुँदाहुँदै पनि मंसिर १४ गते हुनगाइरहेको उपनिर्वाचनको लागि सबै ठाउँमा केन्द्रीय प्रतिनिधि खटाएर एक ढिल्ला भएर लागेको छ ।
कांग्रेसभित्र निर्वाचनमा जाने एजेन्डै छैन नि ?
नेपाली कांग्रेसलाई अहिले एजेन्डैएजेन्डा छ नि । मुलुक अराजकता र अनियमिततामा गुज्रिइरहेको छ । देशभर असुरक्षा, अराजकता, मंगी, भ्रष्टाचार, असंवैधानिक क्रियाकलाप लगायत धेरै एजेन्डा अहिले नेपाली कांग्रेसलाई छ । संवैधानिक जटिलता देखिएको छ । जसको कारणले संघीयता नै धरापमा परिरहेको छ । मानिसले न्याय पाएका छैनन् । विभिन्न जनविरोधी विधेयकहरु ल्याइएको छ । नागरिकता समस्यादेखि हत्या, बलात्कारका घटनाहरु दिनप्रतिदिने थपिएको छ । कर्मचारी, व्यापारी, किसान, विद्यार्थी सबै क्षेत्रमा असन्तुष्टि छ । करलगायतका समस्याले स्थानीय, प्रदेश र संघीय सरकारबाट मानिसहरु आक्रन्त भइसकेका छन् । यी सबै समस्याले गर्दा अहिले जनता सरकारको विरुद्ध सडकमा आउने मुडमा पुगिसकेका छन् ।
अहिलेको अवस्थामा जनता सडकमा आएर के पाउँछन् ?
जथाभावी कर असुली, महंगी, असुृरक्षा, अराजकता, बेरोज जस्ता समस्याहरु छन् । प्रहरी प्रशासनलाई पनि दलगत राजनीतिमा फाइएको छ । मुलुकमा सुशासनको नाममा गुण्डाराज गरिएको छ । मेडिकल माफियाले सर्वसाधारणले पढ्नपाउने अधिकारबाट बञ्जित हुनुपर्ने अवस्था देखिएको छ । केन्द्रीय सरकारले गति लिन नसक्दा संघीय सरकारहरु मुकदर्शक भएर बसेका छन् । म त अहिले जनकपुरमा छु । जनकपुर–बिजलपुरा ट्रेन नेपाली कांग्रेसको पालामा चलेको थियो । बीचमा बन्द भएको अहिलेसम्म सञ्चालन भएको छैन । सडक समस्या त्यस्तै छ, शान्तिसुरक्षाको अभाव त्यस्तै छ । कृषिप्रधान देशमा असारको बेलामा किसानले मल पाएका छैनन् । अब अहिले गहुँ लगाउने बेला भएको छ । उपयुक्त बिउ मलको समस्या छ । यो सरकारले प्रतिपक्षलाई पुरा वाइपास गरेर अगाडि बढिरहेको छ । यो निर्वाचनमा पनि प्रहरी प्रशासन हातमा लिएर चुनावमा एकलौटी गर्ने हल्ला आएको छ । तर, जनताले त्यो मान्नेवाला छैनन् । जनताको जे मत आउँछ त्यो नै कांग्रेसलाई स्वीकार्य हुन्छ । बहुदलीय व्यवस्थामा जनताको अभिमत नै अन्तिम सत्य हो ।
नेपाली कांग्रेसको महाधिवेशन कहिलेसम्म हुन्छ ?
विधानतः आउने फागुनमा महाधिवेशन भएको ४ वर्ष पुग्दै छ । साधारणतय कार्यसमितिको विधानअनुसार ४ वर्ष कार्यावधि हुन्छ । असाधारण अवस्थामा १ वर्ष थप्न सकिन्छ । त्यसको लागि समय त बाँकी नै छ । जसरी ४ वर्ष समयसीमा महाधिवेशन गर्नुपर्ने हो । त्यो हामीले गर्न सकिरहेका छैनौं । ंत्यो दुखद् पक्ष हो । मंसिर १४ को उपनिर्वाचनपछि १४ महाधिवेशनको बारेमा पार्टीभित्र व्यापक छलफल र बहस भएर कार्यतालिका तयार हुन्छ । File Photo



प्रतिक्रिया दिनुहोस्