Logo

…हामीले सरकार छाड्नुपर्छ- नवराज सुवेदी, नेता, समाजवादी पार्टी



काठमाडौं, ३० कात्तिक । समाजवादी पार्टीका नेता नवराज सुवेदी लामो समय कम्युनिष्ट पार्टीमा सक्रिय रहे । बाबुराम भट्टराईसँग नजिक हुँदै समाजवादी पार्टीमा रहेका उनले सरकारबाट पार्टी हट्नसक्ने बताएका छन् । उनीसँग एनआरएन रेडियोको नेपाली बहसका लागि ऋषि धमलाले गरेको कुराकानीः
तपाईंको पार्टी केन्द्रीय समिति बैठकले के निर्णय ग¥यो ?
हाम्रो पार्टीमा छलफल भएको कुरा तपाईंलाई पनि जानकारी छ । अस्ति संघीय परिषद्को छलफल ग¥यौं । संघीय परिषद्मा एउटा राजनीतिक प्रतिवेदन पेश भएको त्यसको सुझावसहित पारित ग¥यौं । हिजो केन्द्रीय कमिटि बैठकमा यस अघि हाम्रो नियमावली बनेको थिएन, त्यो सबैलाई पेश गरेका छौं । त्यसमा आगामी पार्टीको संगठनात्मक संरचना कसरी बनाउने भन्ने विषय थियो । त्यो पनि हामीले त्यसमा समावेस गरेका छौं । केन्द्रीय समितिको बैठकमा छलफल आज पनि जारी छ ।
डा. बाबुराम भट्टराईले सरकार छाड्नुपर्छ भन्दा पनि तपाईंहरु किन नछाड्ने निर्णयमा पुग्नुभयो ?
पार्टीएकीकरण गर्ने बेलामा पनि हामीले यो कुरामा छलफल गरेका थियौं । सरकारमा हामी केही निश्चि सर्तसहित सहभागी भएका हौं । त्यसलाई पुरा गर्नका लागि सरकारलाई घचघच्याउनुपर्छ भन्ने हाम्रो मान्यता हो । हाम्रो संविधानप्रति केही सन्तुष्टिहरु जारी भएकै अवस्थादेखि रहेका थिए । संविधानमा अपूर्ण विषयलाई संशोधनसहित पूर्णता दिनुपर्छ भन्ने आवाज हामीले उठाउँदै आएका हौं । त्यसैसन्दर्भमा दुई बुँदे सहमति पनि भएको थियो । त्यो सहमतिको आधारमा सरकारमा सहभागी भएकाले संविधान संसोधन नहुने जस्तो देखिएपछि यो विषयमा जोडदार राख्नुपर्छ । त्यति गर्दा पनि सरकारले यसलाई पुरा नगर्ने हो भने हामीले सरकार छोड्नुपर्छ भनेका हौं ।
तपाईंंहरु सरकारमा टाँस्सिएर बसिरहनुभएको छ, अनि औचित्य छैन कसरी भन्नुहुन्छ ?
त्यो त हामीले सरमार जाने बेलैमा भनेको कुरा हो । बीचमा निकालेको होइन । त्यो बेलामा उहाँलाई हामीले यो राखेका थियौं । हामीले सुरुदेखि हाम्रा माग पुरा नभए हामी सरकारमा बस्दैनौं भनेका छौं ।
तपाईंले यसो भनिरहँदा बाबुराम भट्टराई त पार्टीभित्र अल्पमतमा पर्नुभयो नि ?
त्यसो पनि भन्न मिल्दैन । डा. बाबुराम भट्टराईजीले नै ल्याउनुभएको प्रस्तावमा “अब हामी वार्ता जान्छौं, त्यहाँ पूर्वसहित अनुसारको विषय उठाउन लगाउँछौं, त्यति गर्दा पनि अहिले संविधान संसोधन आवश्यक छैन भन्ने कुरा आउँछ भने हामी सरकारबाट बाहिरिन्छौं” भन्नुभएको छ । यो त राजनीतिक प्रतिवेदन मै छ नि ।
तपार्इंंहरु सरकारको लागि किन मरिहत्ते गर्नुहुन्छ ?
जनताकै अधिकारलाई बुलन्द गर्नका लागि स्थापित पार्टी भएकाले समुन्नत समाजवादमा विश्वास गर्दछौं । सुशासनमा विस्वास गर्दछौं । त्यसकारण हाम्रा एजेन्डाहरु छन् । ती कार्यान्वयन हुँदैनन् भने सरकारमा टाँसिइरहने मन छैन ।
संविधान संसोधन भएन भने के गर्नुहुन्छ ?
संविधान संशोधन भएन भने समाजवादी पार्टी सरकारबाट बाहिरिन्छ ।
कति महिना भित्रमा ?
अब धेरै समय लाग्दैन । हामीले बैठक सकेपछि एक हप्ताभित्रै प्रधानमन्त्री र क्याबिटेका साथीहरुसँग कुराकानी गर्दछौं । त्यहाँ उनीहरुको जवाफ के आउँछ त्यसपछि छिट्टै निष्कर्षतिर जान्छ । बढीमा एक/दुई महिनाभित्रै टुंगिन्छ ।
राजपाले समाजवादी पार्टीले सरकार नछाडे एकता हुँदैन भनेको छ नि ?
पार्टी एकीकरणमा छलफल भइरहेको छ । त्यसमा हामी दुई पार्टी एकजुट भएर नै अगाडि बढ्दा राम्रो भन्ने निष्कर्षको नजिक पुगिसकेका छौंं । यद्यपि कतिपय प्राविधिक कुरा टुंगिन बाँकी नै छ । उहाँहरुले भनेको कुरा पनि संविधान संशोधनसँगै जोडिएको छ । किन भने संविधान बन्ने बेलैमा देशको एउटा ठूलो भूभागमै असन्तुष्टि व्यक्त भएको थियो । आन्दोलन पनि चलिरहेको अवस्था थियो । आदिवासी समुदायले पनि कैयौं विषयहरु उठाउनुभएको छ । पुनर्संरचनासँग जोडिएका विषयहरु किन लागु भएनन् भन्ने छ । राजपाको पनि संविधान संसोधनको विषयमा सरकारले ध्यान दिएन भन्ने धारणा छ ।
संघीयता त तपाईंहरुको हात्तिको देखाउने दाँत मात्रै भयो नि ?
प्रदेश नं. २ को सरकारले कतिपय राम्रा काम पनि गरेको छ । त्यो उपलब्धीको हामीले राजनीतिक प्रतिवेदनमा पनि उल्लेख गरेका छौं । त्यहाँ धेरै काम भएका छन्, हुँदै नभएको होइन । तर, केही कामहरु भने संघीय सरकारले समयमै अधिकार प्रत्योयोजन नगरेकाले पछाडि परेका छन् । समयमै भौतिक पूर्वाधार, कानुनी संरचनाहरु र कर्मचारी समायोजन नगरिदिएकाले भनेजति काम हुन सकेको छैन । अरु पार्टी र प्रदेशको हिसावमा दुई नं. प्रदेशले धेरै काम गरेको छ । उसले १८ जति आवश्यक कानुनको निर्माण गरेर पास गरिसकेको छ ।
प्रदेश नं. २ किन प्रदेश प्रहरी गठन हुनसकेन ?
यो विषय त अरु प्रदेशको हकमा पनि छ नि । २ नम्बर प्रदेशका मुख्यमन्त्रीजीले पनि त्यो कुरा राख्नुभएको छ । उहाँले छिट्टै नामकरण र राजधानी टुंगो लाग्छ, धेरै समय लाग्दैन भन्नुभएको छ । एउटा सर्तमा सरकारमा गएका हौं, त्यो कुरा पुरा हुँदैन भने सरकारमा बसिरहनुपर्ने आवश्यकता छैन ।
तपाईंको पार्टीमा उपेन्द्र यादवले जे भन्यो त्यही हुन्छ हो ?
पार्टीमा सबैको आ–आफ्नै जिम्मेवारी छ । जस्तै बाबुरामजीको आफ्नै, उपेन्द्रजी आफ्नै छन् । हामी सबै टिममा काम गरेका छौं । त्यसरी टिममा काम गर्दा हामीले एकआपसमा छलफल गरेरै गरेका हुन्छौं । केन्द्रीय परिषद्मा ब्यापक छलफल गरेर कपितय कुराहरु पास गरेका छौं । पार्टी त सामूहिकतामा चलेको यहाँ कसैको जितहारको कुरै हुँदैन ।
बाबुरामको एजेन्डा पार्टीमा कार्यान्वयन नहुने भयो होइन ?
त्यस्तो होइन । हामी ब्यापक छलफलपछि एउटै टुंगोमा पुगेका छौं । संविधान संसोधनको विषयमा सरकारसँग छलफल गर्ने वास्ता नगरेको खण्डमा हामी सरकारबाट बैरगमित हुने वातावरण बन्छ ।
तपाईंको बैठक आज दिनभरमा सकिन्छ ?
आज साँझसम्म हाम्रो पार्टीको केन्द्रीय समिति बैठक सकिन्छ ।



प्रतिक्रिया दिनुहोस्