Logo

खेलाडिले अनुशासन गुमाउँदा विश्वकप छनौटमा धक्का



काठमाण्डौ । हरेक खेल अनुशासन हुनुपर्छ । खेलाडि अनुशासनमा रहन सकेन भने नतिजा राम्रो आउँदैन । त्यसले सम्बन्धित खेलाडिलाई घाटा त पुग्छ नै, समग्र टिम र राष्ट्रले पनि घाटा सहनु पर्छ । नेपाली फुटबलमा त्यस्तै भएको छ । विश्वकप फुटबलको छनौट खेल्न टिममा राखिएका ४ जना महत्वपूर्ण खेलाडिले अनुशासन तोड्दा बर्खास्तीमा परेका छन् । जसले गर्दा कुवेतसँग खेल्न लागेको नेपाललाई धक्का लागेको छ ।

एउटा खेलाडि कतिसम्म अनुशासनमा बस्नुपर्छ भन्ने कुरा अरुले होइन, खेलाडिले नै बुझ्नुपर्छ । त्यसमा पनि फुटबल खेलाडि, जसले मैदानभित्र मात्रै होइन, मैदानबाहिर पनि अनुशासन कायम राख्न सक्नुपर्छ । तर नेपाली टिमका महत्वपूर्ण चार सदस्यले अनुशासन तोड्दा कारबाहीमा परेका छन् ।

स्टार फर्वार्ड विमल घर्तीमगर,मिड फिल्डर अन्जन विष्ट,अर्का मिड फिल्डर सन्तोष तामाङ र डिफेन्डर दीनेश राजवंशीलाई बर्खास्तीमा परेका हुन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले चार जना खेलाडीलाई राष्ट्रिय टीमबाट बर्खास्त गरेको हो । विश्वकप २०२२ को छनोटमा कुवेतविरुद्ध खेल्ने नेपाली टीमका खेलाडीलाई अनुशासनहीन काम गरेको भन्दै बर्खास्त गरेको एन्फाले जनाएको छ । उनीहरु मध्यरातमा ठमेलका विभिन्न क्लबमा भेटिएकाले कारबाही गरिएको हो ।

राष्ट्रिय टिमका चार खेलाडी शुक्रबार राति ठमेलस्थित एक लाउन्च वारमा गएको भेटिएपछि कारबाही गरिएको बताइएको हो । लाउन्च बारबाट फर्कने क्रममा मोटरसाईकल दुर्घटना हुदाँ खेलाडीलाई सामान्य चोट समेत लागेको छ । एन्फाले नेपाली फुटबल टिमका प्रशिक्षक योहान कालीनसँगको छलफलपछि उनीहरुलाई टिमबाट बर्खास्त गरेको हो । नेपाली खेलाडि आजै भुटान प्रस्थान गरेका छन् ।
२३ सदस्सीय खेलाडीसहितको नेपाली टिम शनिबार दिउँसो भुटानको थिम्पु प्रस्थान गरेका हुन् । नेपाली टिमलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले शनिबार नै विदाई गरेको छ ।

भुटान जाने अघिल्लो रात नै गैरजिम्मेवार बनेर क्लबमा पुगेको पाइएपछि एन्फा कारबाही गर्न बाध्य भएको हो । यसअघि समेत विमल सहित राष्ट्रिय टिमको खेलाडी बन्द प्रशिक्षणमा रहेको समय रातको समयमा डिस्कोमा गएर अनुशासनहिन कार्य गरेको भेटिएको थियो ।

नेपालले विश्वकप छनोटको पहिलो होम गेममा मंसिर ३ गते कुवेतविरुद्ध भुटानमा खेल्दैछ । काठमाडौंका दशरथ रंगशाला तयार नभएपछि नेपालले भुटानमा होम गेम खेल्न लागेको हो । महत्वपूर्ण खेलको संघारमा महत्वपूर्ण खेलाडि कारबाहीमा पर्दा नेपाली फुटबललाई ठूलो धक्का लागेको छ ।

नेपालको पहिलो होम खेलको रुपमा रहेको यस खेल यस अघि दशरथ रंगशाला हुने तय भएको थियो । तर, पुन: निर्माण भईरहेको नेपालको दशरथ रंगशाला अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नबनेपछि फिफा र एसियन फुटबल फेडेरेसन ९एएफसी० ले खेल न्युट्रल भेन्युमा गर्न एन्फालाई निर्देशन दिएको थियो । जस अन्तर्गत खेल भुटानमा हुन लागेको हो ।

छनोटको सबै अवे खेल खेलिसकेको नेपालले ४ खेलमा ३ अंक जोडेको छ । समूह बी मा नेपाल समूहको चौंथो स्थानमा छ ।

यस अघि कुवेतसँग अवे खेलमा नेपाल ७–० को भारी गोल अन्तरले पराजित भएको थियो । दोस्रो खेलमा अन्जन विष्टको दुई गोल मद्दतमा नेपालले चाईनिज ताईपेलाई २–० गोल अन्तरले पराजित गर्यो ।

यस्तै तेस्रो खेलमा एसियाली पावर हाउस अष्ट्रेलियासँग ५–० ले पराजित हुँदा अन्तिम अवे खेलमा नेपाल जोर्डनसँग ३–० गोल अन्तरले पराजित भएको थियो ।



प्रतिक्रिया दिनुहोस्