Logo

नेपाल–बंगलादेश व्यापारको २३ वर्ष, अवसरबाट चुकेको नेपाल



काठमाण्डौ । काठमाण्डौ । नेपालको व्यापार घाटा अत्याधिक भएकै कारण आर्थिक विकासमा बाधा हुँदै आएको छ । छिमेकी देशहरुबाट लिनुपर्ने फाइदा पनि नेपालले लिन सकेको छैन । भारत र चिनसँगको व्यापार घाटाको सधैँ चर्चा हुने गरेको छ । अर्को छिमेकी देश बंगलादेशसँग पनि नेपालको व्यापारिक स्थिती राम्रो छैन । जति सम्भावना छ त्यति फाइदा लिन नसके पनि पछिल्ला वर्षहरुमा नेपालबाट बंगलादेशमा हुने निर्यात बढेको छ । तर निर्यातसँगै आयात पनि बढिरहेको छ ।

तीन दशकपछि बंगलादेशी राष्ट्रपतिको नेपाल भ्रमण सम्पन्न भएको छ । जुनसुकै देशबाट वा नेपालबाट जुनसुकै देशमा उच्चस्तरीय भ्रमण हुनु भनेको सम्बन्ध सुधारमा इट्टा थपिनु हो । साथै विकास निर्माणमा सहयोग र सहकार्यको वातावरण बन्नु हो ।

बंगलादेश नेपालको छिमेकीमध्येको एक राष्ट्र भएकाले त्यहाँका राष्ट्रपति नेपाल आउनुले धेरै अर्थ राख्नुपर्ने हो । तर राष्ट्रपति कार्यकारी अधिकार प्राप्त नभएकाले सद्भावना भ्रमण मात्रै भयो । तसर्थ दुई देशबीचको आर्थिक विकास, सहकार्य र व्यापार घाटा कम गराउने विषयमा औपचारिक छलफल नहुनु स्वभाविक नै हो ।

तर बंगलादेशसँगको व्यापार घाटा कम गराउनका लागि सरकारले अरु कुनै पनि पहल गरेको पाइदैन । नेपाल र बंगलादेशको दूरी ४४ किलोमिटर मात्रै हो । दुई देशबीच द्विपक्षीय व्यापार सुरुवात भएको २३ वर्ष भयो । तर, नेपालले व्यापार सन्तुलन भने गुमाउँदै गएको छ ।

दुई मुलुकबीच २०३२ मै व्यापार, भुक्तानी तथा पारवहन सम्झौता भए पनि आर्थिक वर्ष ०५४–५५ बाट मात्रै व्यापार सुरु भएको थियो । ६० को दशकमा बंगलादेशसित नेपालको व्यापार सन्तुलनमा थियो । तर, पछिल्ला केही वर्षदेखि नेपालको निर्यात खस्किँदै गएको छ । नेपाल र बंगलादेश छिमेकी देश मात्रै होइनन्, दुवै राष्ट्र सार्कमा रहेकाले पनि व्यापारको सम्भावना बढि छ । तर त्यो सम्भावनालाई नेपालले प्रयोग गर्न नसकेको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका वरिष्ठ अधिकृत कृष्ण बजगाईं बताउँछन् ।

बंगलादेशसँग नेपालको निर्यात व्यापार आर्थिक वर्ष ०७३÷७४ मा १ अर्ब २६ करोड २७ लाख रुपैयाँको वस्तु पठाएको नेपालले ३ अर्ब ५० करोड ७३ लाख रुपैयाँको वस्तु आयात गरेको भन्सारको विवरणबाट देखिन्छ । आव ०७४÷७५ मा १ अर्ब ८ करोड ३० लाखको निर्यात गरेको नेपालले ४ अर्ब ७९ करोड १० लाखको वस्तु बंगलादेशबाट आयात गरेको थियो ।

यस्तै गत आर्थिक वर्ष ७५÷७६ मा १ अर्ब २९ करोडको निर्यात गरेर नेपालले ४ अर्ब २४ करोडको आयात गरेको थियो । चालु आर्थिक वर्षको तीन महिनामा बंगलादेशसँग नेपालको व्यापार घाटा १ अर्ब ३१ करोड पुगिसकेको छ । तीन महिनामा १ अर्ब ७० करोड ९४ लाखको आयात गर्दा नेपालबाट ३९ करोड बराबरको वस्तु मात्रै निकासी भएको देखिन्छ ।

आफ्नो मुलुकबाट १२ प्रकारका औषधिहरू नेपाल निर्यात गरिरहेको बंगलादेशले नेपालबाट औषधि आयातको बाटो खोल्न अझै आनाकानी गरिरहेको छ । नेपालले काँकडभिट्टा नाकामै बंगलदेशलाई अनअराईभल भिसा जारी गर्ने गरे पनि नेपालीले बंगालादेश–भारत सीमाबाट उक्त सुविधा पाउन सकेका छैनन् ।



प्रतिक्रिया दिनुहोस्