Logo

उपेन्द्र यादवले तत्काल सरकार नछोड्ने



काठमाडौं, १ मंसिर । सत्तारुढ दल समाजवादी पार्टीको काठमाडौंमा संघीय परिषद बैठकलगत्तै केन्द्रीय कार्यसमिति बैठक बसेको छ । बैठकको मुख्य एजेण्डा सरकारबाट पार्टी बाहिरिनुपर्नेमा केन्द्रित रहेको थियो । तर, केन्द्रिय कार्यसमिति बैठकले तत्काल सरकार नछाड्ने निष्कर्ष निकालेको एक नेताले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए ।

बिहीबार बसेको संघीय परिषद् बैठकमा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टी सरकारबाट बाहिरिनुपर्ने प्रस्ताव राखेका थिए । उनको प्रस्तावमा अधिकांश नेताहरुको सहमति थियो । तर, हिजो शुक्रबार र आज (शनिबार) बसेको केन्द्रीय समिति बैठकले सरकारबाट तत्काल बाहिरिन नहुने निश्कर्ष निकालेको छ ।

यद्धपी बैठकमा सहभागी अधिकांश केन्द्रिय सदस्यहरुले संविधान संशोधनप्रति सरकारको नेतृत्वकर्ता नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सकारात्मक नभएकाले तत्काल सरकार छाड्नुपर्ने धारणा राखेका थिए । बहुमत सदस्यहरु संघीय परिषद अध्यक्ष भट्टराईकै लाईनमा थिए । उनीहरुले सरकारबाट बाहिरिएर संविधान संशोधनका लागि सडक आन्दोलनमा जानुपर्ने मत राखेका थिए ।

तर, केन्द्रिय अध्यक्ष तथा वर्तमान उपप्रधानमन्त्री उपेन्द्र यादव भने कुनैपनि हालतमा सरकारबाट बाहिरिने पक्षमा देखिएनन् । उनले सरकारमै बसेर संविधान संशोधनलगायत अन्य महत्वपूर्ण मागहरु पूरा गराउन लागिपर्नुपर्ने अडान लिएका थिए ।

बाबुरामनिकट नेता गंगा श्रेष्ठले पत्रकार ऋषि धमलासँगको कुराकानीमा पार्टी सरकारमा बसिरहे ठूलो क्षति पुग्ने निश्कर्ष अध्यक्ष भट्टराईले निकालेको र सोहीअनुसार अघि बढ्ने अडान लिएका जानकारी दिएका थिए । पार्टीलाई सरकारबाट बाहिर ल्याउनको लागि आफूले जस्तोसुकै कठोर कदम पनि चाल्ने बाबुरामको तयारी थियो । तर, बाबुराम केन्द्रिय अध्यक्ष उपेन्द्रसँग हारेका छन् ।



प्रतिक्रिया दिनुहोस्