Logo

प्रधानमन्त्रीको निर्देशन भएन कार्यान्वयन



काठमाडौँ, १ मंसिर। झापाको प्रमुख बजार बिर्तामोडबाट भद्रपुर जाने सडक निर्माण सक्न दुई महिना बाँकी छ। बिर्तामोड–भद्रपुर चार किलोमिटर सडक चार लेनको बनाउन सुरु गरेको १४ महिना बित्यो। झापा आएका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले समयमा सो सडक निर्माणको काम समयमा सक्न सम्बद्ध पक्षहरूलाई निर्देशन दिएका थिए। तर निर्माणको काम अहिलेसम्म २५ प्रतिशत पनि सकिएको छैन।

सडक निमयमा नभएकाले भदौ ५ गते सडक बनाउने क्रममा खनेर अलपत्र छोडिएको नालामा डुबेर बिर्तामोड–१० की ६७ वर्षीय सुमित्रा राईको मृत्यु भयो। बिर्तामोड–भद्रपुर सडक निर्माणमा सरोकारवालालाई दबाब दिन स्थानीयले सडकमै धानसमेत रोपे। निर्माणाधीन सो सडकको सवालमा बिर्तामोड उद्योग वाणिज्य संघको संयोेजनमा सडकमा आन्दोलन पनि भयो। तर अहिलेसम्म सडक निर्माणले गति लिन सकेको छैन। असोज महिनाभित्र सक्नुपर्ने सडक निर्माणको म्याद थपेर पुस मसान्तसम्म पु-याइएको छ।

बिर्तामोड–भद्रपुर सडकको कार्ययोजना स्थानीय उपभोक्तालाई उपलब्ध गराउन पनि सडक डिभिजन कार्यालय र ठेकेदारले आनाकानी गर्ने गरेका छन्।
सडक निर्माणमा दबाब दिनेमध्येका एक सन्तोष अग्रवालले भनें, ‘सडकको यो दुरावस्था छ, हरेक दिन धुलो खाएर बस्नुपरेको छ, न व्यापार हुन्छ न त सडक नै बन्छ।’ उनका अनुसार सडक निर्माणको गति सुस्त हुँदा बटुवादेखि व्यवसायीसम्म सबैजना आजित छन्।

सडक निर्माणका लागि अहिलेसम्म सडकको दुवैतर्फ पूरा नालीसमेत बनाइएको छैन। ‘दुई महिना पनि समय बाँकी छैन तर सडकको काम २५ प्रतिशत पनि सकिएको छैन,’ सडक निर्माणबारे निरन्तर खबरदारी गरिरहेका सञ्चारकर्मी गणेश पोखरेलले भन्छन्, ‘सडककै दुर्गतिले मान्छेको मृत्युसमेत भयो, सडकको सास्ती थेगिनसक्नुको छ।’

सडकको छेउमा व्यापार गर्ने र घर भएकाहरू यो समस्याबाट आजित छन्। बिर्तामोड उद्योग वाणिज्य संघका उपाध्यक्ष राजु न्यौपानेले सडककै कारण बिर्तामोडको व्यवसाय संकटमा परेको बताए। ‘बाटोमा हिँडिसाध्य छैन, ग्राहक त झनै आउन सक्ने अवस्था नै छैन,’ उनले भने, ‘सरकारले समेत समन्वय गर्नुपर्ने हो तर अहिलेसम्म प्रगति हुन सकेको छैन।’
सडक निर्माणका नाममा ललितपुरको आशिष–प्रेरा जेभीले विद्युत्को पोल हटायो। केही होचा ठाउँमा कल्र्भट बनायो, त्यसबाहेक अरू काम भएकै छैन। ‘अबको दुई महिनाभित्र काम सम्पन्न हुने सम्भावना नै छैन,’ स्थानीय भीम खरेलले भने, ‘सडक निर्माणका लागि जथाभावी खनिएका खाल्डाले यात्रामा समस्या पारिरहेको छ। निर्माणको जिम्मा लिएको कम्पनीले काम अघि बढाएकै छैन।’

बिर्तामोडदेखि भद्रपुरसम्म जाने चार किलोमिटर सडकको चार लेन बनाउन २७ करोड रुपैयाँ विनियोजन गरिएको सडक डिभिजन कार्यालय दमकले जनाएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बजेट विनियोजन गरेपछि निर्माण कम्पनीले अघिल्लो वर्षको असोजमा काम थालेको थियो। डिभिजन प्रमुख श्यामकुमार यादवले निर्माणको कामलाई तीव्र पार्न निर्देशन दिए पनि काम अघि नबढेको बताए। तीन वर्षअघि नै सडक निर्माणको ठेक्का लागेको थियो। तर निर्माण कम्पनीले काम नगरेका कारण ठेक्का रद्द गरी नयाँ ठेक्का लगाउनुपरेको हो।

प्रमुख यादवका अनुसार करिब तीन किलोमिटर सडक १६ मिटर चौडाइ, एक मिटर नाली र फुटपाथसहित २३ मिटर चौडाइको बनाउनुपर्नेछ। बाँकी सडक सात मिटर चौडाको दुई लेनको मापदण्डमा बन्नेछ। पाँच सेन्टिमिटरसम्म आस्फाल कंक्रिट प्रयोग गरेर सडक निर्माण गर्न जिम्मा लिएको ठेकेदारले २०७६ असोज ६ गतेसम्म निर्माण सम्पन्न गर्नुपर्ने थियो। तर निर्माण कम्पनीले विद्युत्को पोल सार्न समस्या भएकाले निर्माणको काम अघि बढन नसकेको भनेर पुस मसान्तसम्म म्याद थपिएको छ।

सडकमा बुझाएको कार्ययोजना स्थानीय उपभोक्तालाई उपलब्ध गराउन पनि सडक डिभिजन कार्यालय र ठेकेदारले आनाकानी गर्ने गरेका छन्। ‘कार्य योजना बेलाबेलामा संशोधन हुने गरेको छ,’ डिभिजन सडक कार्यालय दमकका प्रमुख श्यामकुमार यादवले भने, ‘काम हुँदैछ, ठेक्कामा तोकिएका कुनै काम समयमा हुन्छ भने कुनै काम ढिलो हुन्छ, त्यसैले कार्ययोजना परिवर्तन भइरहन्छ।’

ठेकेदारले भने बिर्तामोडको मेची आँखा अस्पतालअगाडि चार लेनको बनाउन ठेक्का थप भएकाले समय पनि थप हुने बताएका छन्। ठेकेदारलाई उद्धृत गर्दै बिर्तामोड–४ का वडाध्यक्ष कुलप्रसाद संग्रौलाले भने, ‘सबै बाटो चार लेनको बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन काम समयमा नगर्ने बहाना बनेको छ।’ ठेकेदार समय थपिन्छ भनेर ढुक्क छन्। २७ करोड रुपैयाँको योजनामा काम गर्ने मान्छेको संख्या एक दर्जन पनि छैनन्।
नागरिक राष्ट्रिय दैनिकबाट



प्रतिक्रिया दिनुहोस्