Logo

मृगौला प्रत्यारोपणको १२ वर्षपछि पनि ठमठम हिड्छन् प्रधानमन्त्री ओली



काठमाडौं, १ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको मृगौला प्रत्यारोपण भएको १२ वर्ष बितिसकेको छ । यसबीच उनले व्यक्गित जीवन देखि राजनीतिक जीवनको कठिन आरोह अवरोह पार गरे । तैपनि, स्वास्थ्यमा ख्याल गर्दै सक्रिय जीवन बिताइरहे ।

ओलीले यसै वर्ष साउन र भदौमा सिंगापुर गएर उपचार गरे । पछिल्लो समय ग्रान्डी अस्पतालमा डायलसिस गर्न थालेका छन् । शनिबार तेस्रोपटक हेमोडायलसिस गरे । बिदाको दिन पारेर डायलसिस गरेका उनी अस्पतालसम्म गाडीमा पुगेर ठमठम हिंडेर उपचार कक्षसम्म पुगे । डायलसिस गरी फर्कंदा सञ्चारकर्मीलाई देखेर मुस्कुराउँदै गुड आफ्टरनुन भन्दै गाडी चढेर बालुवाटार फर्किए ।

हेमोडायलसिसपछि प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्यासिंह शाह र ग्रान्डी अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेल प्रेस विज्ञप्तिमार्फत् प्रधानमन्त्रीको स्वास्थ्य अवस्था पहिले जस्तै राम्रो रहेको उल्लेख गरे । पाण्डेले यसअघि नै रेडियो अन्तवार्तामार्फत् प्रधानमन्त्रीको स्वास्थ्य राम्रो रहेको र निकै सक्रियतापूर्वक काम गर्न सक्ने बताएका थिए ।

ओली स्वास्थ्योपचारका लागि अमेरिका जाने विषयबारे पनि छलफल भएको छ । यसबारे परामर्श समेत गरिएको बुझिएको छ । पुनः मृगौला प्रत्यारोपणको प्रसंग पनि नचलेको होइन ।

ओली मृगौला प्रत्यारोपणको १२ वर्षपछि पनि सक्रियतापूर्वक काम गर्न सक्नुमा खानपान र दैनिक जीवनमा अनुशासन मुख्य कारण रहेको छ । यसको खुलासा डा. पाण्डेले गरेका छन् । सफासुग्घर भएर बस्नुपर्ने र भोजनमा निकै ध्यान दिने ओलीको स्वभाव रहेको छ । यसका अलावा उनमा गजबको आत्मबल छ जसले उनलाई सक्रिय र ऊर्जावान बनाइरहेको छ । Photo: Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्