Logo

नेपाली फुटबल क्षेत्रमा अनुशासनहीनता



काठमाडौं, १ मंसिर । नेपाली फुटबल क्षेत्र झन् झन् खस्कँदै जान थालेको छ । खेलाडीहरु एकपछि अर्को विवादमा मुछिने क्रम जारी छ । अनुशासनहीनता बढेर खेलस्तर खस्किएको छ ।

तीन वर्ष अघि नेपाली फुटबल खेलाडीहरु खेल मिलेमतोमा मुछिए । राष्ट्रिय फुटबल टोलीका तत्कालिन कप्तान सागर थापासहित पाँच भरोसा गरेका खेलाडीहरु छानविनमा परे । उनीहरुमाथि मुद्दा दायर भयो । मुद्दा त जिते तर खेलाडीमा अनुशासनहीनताका धेरै पाटा छरपष्ट भए ।

कतिपय राष्ट्रिय फुटबल खेलाडीहरुको सम्बन्ध गुण्डानाइकेहरुसँग भेटियो । गुण्डानाइकेहरुसँग भेटघाट बाक्लो बनाउने देखि जेलमा पर्दा भेट्न जाने सम्म गरे । खेलभन्दा उनीहरुको ध्यान गुण्डाहरुसँग सम्बन्ध बनाएर प्रभाव देखाउनमा जान थाल्यो । यसबारे जानकार भइकन नेपाली फुटबलको सर्वोच्च संस्था एन्फाले कारबाही त परै जाओस् आँखा चिम्लिदियो ।

अहिले फेरि एकपटक खेलाडी अनुशासनहीन भएको घटना बाहिर आएको छ । राष्ट्रिय फुटबल टोलीका भरपर्दा स्ट्राइकर विमल घर्तीमगरसहित अञ्जन बिष्ट, सन्तोष तामाङ र दिनेश राजवंशी ठमेलको रात्रीक्लबमा मध्यराति पुगेको अवस्थामा फेला परे । उनीहरु बन्द क्याम्पमा थिए । शुक्रबार दिउँसो कुबेतविरुद्ध खेल्ने नेपाली राष्ट्रिय टोलीका खेलाडीको नाम घोषणा गर्दा चारैजना खेलाडी परेका थिए । बन्द क्याम्पमा बसेर आइतबार भुटान उड्नुपर्ने खेलाडीहरु निन्द्रा मारेर रात्रीक्लबमा पुग्नु गम्भीर विषय हो ।

एन्फाले चारजना खेलाडीलाई टोलीबाट हटाइसकेको छ । अब उनीहरुमाथि कारबाही प्रक्रिया अगाडि बढाइएको छ । अनुशासनको कडा कारबाहीको सम्भावना छ ।

खेलमा भन्दा अन्यत्र बढी ध्यान दिने र अनुशासनहीन गतिविधि गर्ने तर कारबाही नहुने कारण पनि नेपालको खेलक्षेत्र खस्किएको हो । खेलाडी सुविधा पुगेर मात्र बन्ने होइन अनुशासन महत्वपूर्ण पाटो हो भन्ने विश्वका गरिब देशमा कम अवसरविना पदक जितेका उदाहरणहरुबाट थाहा हुन्छ । एकातर्फ खेलको अनुशासन कायम नगर्ने र अर्कोतर्फ खेल मिलेमतो गर्ने प्रवृत्तीले पदक होइन प्रतिष्ठा गुम्ने अवस्था आइरहन्छ । Photo Source: Prime TV and Mahesh Acharya



प्रतिक्रिया दिनुहोस्